१५ औँ कपिलवस्तु महोत्सव: प्रवेशद्धारमा नयाँ प्रयोग, कपडा बैँक उद्घाटनमा राजेश हमाल आउने

कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा, २ लाख दर्शक र १० करोड कारोबारको अपेक्षा

कपिलवस्तु, १६ मंसिर | १५ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८१ को तयारी अब अन्तिम चरणमा पुगेको छ। महोत्सवको तयारी ८० प्रतिशत पूरा भएको र यस वर्षका लागि विशेष योजनाहरू लागू गरिएका छन्, महोत्सवका अध्यक्ष गणेश बहादुर क्षेत्रीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

कपिलवस्तु उद्योग वाणिज्य संघले “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मुल नारासहित यो महोत्सव मंसिर १९ देखि २ गतेसम्म बुद्ध रंगशालामा आयोजना गर्ने तयारी गरेको हो। महोत्सवमा २ लाख दर्शकको सहभागिता र १० करोड रुपैयाँभन्दा बढी कारोबार हुने आयोजकको अपेक्षा रहेको छ।

यस वर्षको महोत्सव विगतका महोत्सवहरूभन्दा फरक हुने बताइएको छ। आयोजकले विभिन्न सांस्कृतिक र खेलकुद कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएका छन्। यसैगरी, कृषि आधुनिकीकरणको प्रदर्शनी, कपिलवस्तु डान्स आइडल, साइकिलिङ प्रतियोगिता, व्याडमिन्टन, लोक गायन, वक्तृत्वकला, लोक नृत्य र स्थानीय कला तथा संस्कृतिको प्रवर्द्धनमा विशेष ध्यान दिइनेछ।

कपिलवस्तु महोत्सवमा स्थानीय धार्मिक स्थलहरूको प्रवर्द्धनको लागि निशुल्क स्टलहरूको व्यवस्था गरिएको छ। ५० वटा स्टलहरू निर्माण सम्पन्न भइसकेका छन् भने विशिष्टिकृत स्टलहरूको निर्माण प्रक्रिया जारी छ। कृषि प्रवर्द्धनको लागि कृषि आधुनिकीकरणको प्रदर्शनी पनि हुनेछ र यसमा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ।

महोत्सवको उद्घाटन नागरिक उड्ययन र पर्यटन मन्त्री बद्री पाण्डेले गर्ने छन्। यसैगरी, महोत्सवको दौरान प्रसिद्ध अभिनेता राजेश हमालले कपडा बैंकको उद्घाटन गर्ने कार्यक्रम पनि राखिएको छ।

महोत्सवको गेटको डिज़ाइन यस वर्ष विशेष हुनेछ, जसले पशुपतिनाथ मन्दिरको झल्को दिनेछ। गेट निर्माण समितिका संयोजक इन्द्र पोख्रेलले यसबारे जानकारी दिएका छन्।

पत्रकार सम्मेलनमा आयोजक मूल समारोह समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, मेलाका निर्देशक हुमनाथ पौडेल, संघका पूर्व सल्लाहकार दुनिका भुषाल र अन्य प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो।

कपिलवस्तु महोत्सवकाे तयारीको अन्तिम चरणमा पुगेर अब सबै नजर महोत्सवको सफलतामा जाँदछ, र आयोजकहरूले यस वर्षको महोत्सवलाई ऐतिहासिक र उल्लेखनीय बनाउनको लागि उत्तिकै प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

खबर सबै