प्रतिनिधिसभाको बैठको सुरुमै नेमकिपाका संसद प्रेम सुवालले भ्रष्टाचारका सबै विषय छानबिन हुनुपर्ने बताए । संसदको आकस्मिक समयमा बोल्दै उनले भने, ‘तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयानुसार शरणार्थी कार्यदल गठन गरियो । १ अर्ब ठगी गरेका को-को हुन् ? भ्रष्टाचारको सबै छानबिन हुनुपर्छ ।’
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचार प्रकरणमा छानबिन आयोग गठन गर्नुपर्ने बताए । २०६३ यताका दिनहरू भ्रष्टाचारको नमुना बनेको उल्लेख गर्दै उनले आयोग गठन गर्न माग गरे ।
उता एमाले सांसदहरूले भने शरणार्थीका नाममा भएको भ्रष्टाचारको मुद्दामा आफूहरू फिल्म हेर्न टिकट काटेर बसेको बताएका छन् । भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अहिले ट्रेलर मात्र देखाइएको र सिंगै फिल्म आउन बाँकी रहेको बताएका थिए ।
आइतबार एमाले सांसदहरूले संसदमा यही प्रसंग कोट्याउँदै प्रधानमन्त्रीमाथि व्यंग्य गरेका हुन् । एमाले प्रमुख सचेतक पदम गिरीले संसदमा भने, ‘प्रधानमन्त्रीले कास्टिङ हो । फिल्म देखाउन बाँकी छ भन्नुभएको छ । हामी टिकट काटेर बसेका छौँ । फिल्म देखाउनु होला ।’ उनले बाँसबारी चप्पल कारखाना, वाइडबडी, लडाकुकाण्ड, सीसीटीभी फुटेजको यो अधिवेशनमा छलफल गर्नुपर्ने बताए ।
एमाले सांसद सूर्य थापाले भने संसदमा कमानसिंह लामा ठगी प्रकरणको फिल्म हेर्न चाहेको बताए । संसदको आकस्मिक समयमा उनले भने, ‘कमानसिंह लामा ठगी प्रकरणको फिल्म हेर्न चाहन्छु ।’ स्वर्गीय कमानसिंह लामालाई वर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठगेको चर्चा भएको थियो । सोही विषयलाई एमाले सांसद थापाले संसदमा उठाएका हुन् । उनले शरणार्थी प्रकरणमा निर्दोषलाई नफसाउन र दोषीलाई कारबाही गर्न माग गरे ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले शरणार्थी प्रकरणका सबै दोषीलाई कारबाही गर्न माग गरे । ‘नागरिकलाई बाध्य पारियो नागरिकता त्यागेर शरणार्थी बनाउन । दोषीलाई कारबाही गरियोस्,’ उनले भने ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षीले संसद कब्जा गर्न खोजेको टिप्पणी गरेका छन् । आकस्मिक समयमा उनले भने, ‘प्रतिपक्षका साथीहरूले छापामार शैलीमा कुरा राख्नुभयो । प्रधानमन्त्रीले बोलेका कुराको खिसिटिउरी नगर्नुहोस् । भ्रष्टाचारीलाई कारबाही गर्न इमानदार हो भने टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याउनुहोस् । सदन कब्जा गर्ने शैलीले राजनीति ढंग देखिएन ।’
कांग्रेस सांसद आरजु राणा देउवाले भ्रष्टाचारको विषयमा आफ्नो नाम जोडिएकोमा असन्तुष्टि जनाएकी छिन् । संसदको आकस्मिक समयमा उनले भनिन्, ‘मेरो नाम उठेको छ । प्रश्न उठेको छ । नारीले आफ्नै हैसियमा राजनीति गरेको सह्य नहुने रहेछ । पुरुषले भनेको मात्र ठाउँमा बस्नुपर्ने, बोल्नुपर्ने ? पब्लिक लाइफमा आयो भने पुरुषलाई असह्य हुने परिस्थिति बनेको छ । मैले बिराएको छैन, डराउँदिन ।’ आफ्नो श्रीमान पाँचपटक प्रधानमन्त्री बनेकाले सबै सम्पत्ति सरकारसँग सुरक्षित रहेको उनले बताइन् ।
प्रतिक्रिया