भाडा तिर्न नसक्दा समता स्कूल कपिलवस्तुमा लाग्यो ताला

राजेन्द्र खनाल, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित जितपुरमा संचालनमा रहेको समता स्कूलमा तालाबन्दी हुदा विद्यार्थीहरु विचल्लिमा परेका छन् ।

२०७३ सालमा स्थापना भएर सञ्चालनमा आएको उक्त विद्यालयमा घरभाडा बापतको रकम भुक्तानी नभएको भन्दै घरधनीले विद्यायमा ताला लगाएका छन् ।

माघ २९ गते एक सूचना जारी गर्दै घरधनीले विद्यलायमा ताला लगाएका हुन । विद्यालयका प्रिन्सिपल सरीता खत्रीका अनुसार विद्यालयमा तालाबन्दि भएपछि पठनपाठन बन्द गर्नुपरेको छ । समता स्कूलमा हाल १ सय ६५ विद्यार्थीले अध्ययन गर्दै आएका थिए । घरधनीले ताला लगाएपछि विद्यालयले फागुन २ गते एक सूचना गटमा टाँसेर विद्यालय बन्द रहेको उल्लेख गरेको छ ।

फागुन २ गते विद्यालयमा हुने भनिएको विज्ञान विषयको परीक्षा समेत संचालन नगरि विद्यालय बन्द भएको प्रधानाध्यापक खत्रीले बताउनुभयो । उहाँका अनुसार विद्यालय रहेको घरको भाडाका विषयमा विद्यालयका केन्द्रका संचालकहरुबाटै सम्झौता भएको र सोही अनुसार घरभाडा भुक्तानी गरिदैँ आएको थियो । हाल भने २०७६ साल देखि यता तीन वर्षको घरभाडा बापतको रकम भुक्तानी गर्न बाकीँ रहेको थियो । मासिक २२ हजारका दरले भाडा दिइदै आएको उक्त विद्यालयको भवनमा अहिले १६५ विद्यार्थी र १३ जना शिक्षक तथा कर्मचारी कार्यरत थिए । विद्यालय बन्द भएपछि भने विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ भने अब कहाँ पढाउने भन्ने समेत अन्यौलमा परेको एक स्थानीयले बताए ।

समताले उक्त घरभाडा बापतको करिब ११ लाख बढी रकम तिर्न बाँकी रहेको बताइएको छ । उत्तम सञ्जेलको टिमले संचालन गरिरहेको समता विद्यालय नेपालका धेरै जिल्लामा विस्तारीत छ । कपिलवस्तुको चार नम्बरमा संचालनमा रहेको उक्त विद्यालयमा घर धनीले घर भाडाको लागि गरिएको सम्झौता सकिएको र नविकरण पनि नगरेको भन्दै सम्झौता पछिको तीन वर्षको भाडा आफूले नपाएको भन्दै विद्यलायमा सूचना टाँस गरी ताल लगाएका हुन ।

उता गुठी मार्फत देशभर संचालनमा रहेको समताका हाल ८० वटा विद्यालय संचालनमा छन् । संचालक मध्येक एक सुदर्शन पौडेलले न्यूनतम शुल्कमा शिक्षा भन्ने नितिका साथ विद्यालय संचालन गरिएको भए पनि हाल देशमा भइरहेको आर्थिक मन्दीका कारण केही अफ्ठ्यारो स्थिति पैदा भएको बताउनुभएको छ । आफूहरुले घरबेटीलाई चेक मार्फत केही रकम दिन खोजेको तर उहाँले एक मुष्ट रकम मागेका कारण पुरै रकम एकैपटक भुक्तानी दिन अलि गाह्रो भएको बताउनुभयो ।

“आर्थिक कठिनाई परिरहेको अवस्था छ, सहयोगको भावनाका साथ विद्यलाय संचालन गर्न खोजिएको थियो तर त्यतिले मात्र संचालन गर्न नसकिने स्थिति आयो”, उहाँले भन्नुभयो ।आफूहरु घरभाडा तिर्न सहमत रहेको तर परिस्थिति केही जटिल बनेका कारण समय लागेको पौडेलको भनाई छ । विद्यालय जस्तो पवित्र स्थानमा घरबेटीले मानवीयता प्रकट गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

अहिले विद्यालयमा लागेको तालाका कारण विद्यार्थी तथा शिक्षक कर्मचारीको विचल्ली भएका छन् ।

प्रतिक्रिया

खबर सबै