कपिलवस्तुका जिल्ला न्यायधिश गिरीबिरुद्ध संसद भवनअगाडि प्रदर्शन, पाँच जना नियन्त्रणमा

काठ्माण्डौँ । कपिलवस्तुका जिल्ला न्यायधिश भुवन गिरी बिरुद्ध काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गर्ने पाँच जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो न्याय माग्दै प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। महिला हिंसा र बलात्कारका पीडितले प्रदर्शन गरेका थिए। कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप छ। उनलाई कारबाही गर्नुपर्ने मागसहित उनीहरूले प्रदर्शन गरेका थिए।

न्यायाधीश गिरीले आफूलाई बलात्कार गरेको भन्दै उनकी श्रीमतीले गत मंसिर ३ मा जाहेरी दिएकी थिइन्। प्रहरीले अहिलेसम्म उक्त जाहेरी दर्ता गरेको छैन।

केही दिनअघि कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेलाई हामीले जाहेरी दर्ता किन नभएको भनेर सोधेका थियौं। जाहेरी दर्ता नगरे पनि अनुसन्धान गर्दै गरेको उनले बताएका थिए। एसपी प्रेमबहादुर बस्नेतले समेत अनुसन्धान भइरहेको बताएका थिए।

कपिलवस्तु प्रहरीले जाहेरी दर्ता किन नगरेको भन्ने स्पष्ट जवाफ नदिएपछि हामीले प्रहरी हेडक्वाटरका प्रवक्ता टेकप्रसाद राईलाई सोधेका थियौं। सुरूमा उनले पीडित जाहेरी लिएर आउनेबित्तिकै दर्ता गर्नुपर्ने प्रहरीको कर्तव्य रहेको बताए । न्यायाधीश गिरीबारे भने निर्दोषिताको सिद्धान्तअनुसार अहिले अनुसन्धान भइरहेको जानकारी दिएका थिए।

पीडितले वैवाहिक बलात्कारको उजुरी लिएर आउँदा त्यसलाई दर्ता नगरी प्रहरीले न्यायाधीश गिरीको निर्दोषिताबारे डेढ महिनादेखि अनुसन्धान गरिरहेको छ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले पनि जाहेरीबारे शंका लागे प्रहरीले छानबिन गर्न पाउने तर यति लामो समय लगाउन भने नपाइने बताउँछन्। कानुन, नियम र नीति जे भए पनि न्यायाधीशको शक्तिकै कारण प्रहरीले जाहेरी दर्ता नगरेको पीडितको भनाइ छ।

पीडितले मंसिर ३ गते प्रहरीमा वैवाहिक बलात्कारसम्बन्धी कसुरमा हदैसम्मको कारबाही गरी पाऊँ भन्दै जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया

खबर सबै