एमाले एक्लैले बहुमत ल्याएपनि राप्रपा र जसपासहितको सरकार बन्छ : अध्यक्ष ओली

काठमाडौं

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याएपनि सहयात्री दलहरुको साथ नछोड्ने बताएका छन् । शुक्रबार गृहजिल्ला झापाको क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट माग्ने क्रममा अध्यष ओलीले यस्तो बताएका हुन् ।

यसका साथै अध्यक्ष दाहालले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि एमालेले राप्रपा र जसपालाई मिलाएर सरकार बनाउने दाबीसमेत गरेका छन् । अध्यक्ष ओलीले भनेका छन्, ‘यसपालि राप्रपा एमालेको साथमा दह्रोसँग लागेको छ । त्यसैले राष्ट्रिय पार्टीका रुपमा राप्रपा आउँछ, राजेन्द्र लिङ्देन एक्लो हुँदैन । एमालेको साथमा राप्रपा लागिसक्यो, लागेपछि राष्ट्रिय पार्टी भइयो ।’

त्यस्तै अध्यक्ष ओलीले एमालेसँग तालमेल गरेको अर्को पार्टी जसपा पनि राष्ट्रिय पार्टीको रुपमा कायम रहने भविष्यवाणी गर्दै भनेका छन्, ‘कांग्रेस राष्ट्रिय पार्टी रहने भो अलि दिन । यसपालिको हकमा माओवादी पनि राष्ट्रिय पार्टी रहन्छ । राप्रपाभन्दा अलिकति बढी सीट माओवादीले ल्याउने सम्भावना छ । तर, माधव नेपालहरुले खोलेको छ एउटा पार्टी, त्यसको कन्तविजोक हुने भयो । त्यो राष्ट्रिय पार्टी सार्टी केही हुँदैन ।’

यसैबीच अध्यक्ष ओलीले लोसपाले पनि एमालेको साथ छाडेर राष्ट्रिय पार्टी बन्ने मौका गुमाएको बताएका छन् । उनले भने, ‘लोसपा राष्ट्रिय पार्टी थियो, तर अब हुँदैन । एमालेको राष्ट्रियता उसले बोक्न सक्ने भएन । त्यसैले भाग्यो । अब राष्ट्रिय पार्टी हुनेवाला छैन ।’

त्यस्तै अध्यक्ष ओलीले एमालेको बहुमत कसैले रोक्न नसक्ने बताउँदै भनेका छन्, ‘आउँदो निर्वाचनबाट नेकपा एमालेको बहुमत आयो आयो । तर, बहुमत आयो भनेर एक्लै सरकार बनाउने होइन, अरु सहयोगी र सहयात्रीलाई पनि साथमा लिएर सरकार बनाउँछ । राप्रपा र जसपासहितको सरकार बन्छ ।’

प्रतिक्रिया

खबर सबै