नेपाल समाजवादी पार्टी सँग सम्बन्ध विच्छेदको कारण सहित खनालद्धारा विज्ञप्ति सार्वजनिक

कपिलवस्तु । हालै मात्र आफ्नो सामाजिक सञ्जालमार्फत नेपाल समाजवादी पार्टी नेपालसँगको सम्बन्ध विच्छेदको घोषणा गरेका नेता नारायण खनालले सो पार्टीबाट अलग हुनुको कारण एक विज्ञप्ति मार्फत बाहिर ल्याएका छन् ।
नेकपा मसाल हुँदै विभिन्न राजनैतिक यत्रामा सहयात्रमा रहेका नेता नारायण खनालले डा. बाबुराम भट्टराइसँगको राजनितिक यात्रा विच्छेद गरेको एक साता अघि मात्रै घोषणा गरेका थिए । सामाजिक सञ्जालबाट मात्रै यो घोषणा गरेका उनले सोमबार भने आधिकारीक रुपमा एक प्रेस विज्ञप्ति जारी गरी पार्टी छोड्नुको कारणबारे समेत उल्लेख गरेका छन् ।

यस्तो छ नेता खनालको राजिनामा विज्ञप्ति :

                                                           प्रेस– विज्ञप्ति
देशमा आठ दशक लामो लोकतान्त्रिक क्रान्तिका राजनितिक उपलब्धिहरु संविधानसभाबाट संस्थागत हुने प्रक्रिया सुरु भए देखि नै नेपाली कांग्रेस जस्तो सामान्य संसदीय लोकतन्त्रवादी पार्टीं र नेकपा जस्तो सर्वाहारावादी, अधिनायकत्ववादी पार्टीका विकल्पमा एउटा नितान्त नयाँ मौलिक नयाँ ढंगको लोकतन्त्रलाई सजिव, जिवन्त र गहिरो गरी नेपाली समाजको भुईँतहसम्म प्रर्वद्धन गर्न सक्ने एउटा प्रगतिशिल साँचो अर्थको लोकतान्त्रिक पार्टी गठन गर्ने उद्देश्य र अभिप्राय सहित त्यो कुराको राष्ट्रिय तथा अन्तराष्ट्रिय रणभूमिमा उच्च प्रकारको मूल्यबोध गर्दै हामीले पाँच स को सिद्धान्तको प्रतिपादन गरी नयाँ शक्ति पार्टी नेपाल, समाजवादी पार्टी नेपाल, जसपा नेपाल हुँदै नेपाल समाजवादी पार्टी निर्माणका लागि सम्पूर्ण अनुभव, समय, स्रोत र उर्जा मनै देखि लगाउँदै यस अवधिमा विभिन्न प्रयोग र अभ्यास र प्रयत्न गर्याै । त्यसका लागि हामीलाई सुखानुभुति सहितको गर्व छ । तर हामीले यस अवधिमा गरेका सबै प्रकारका प्रयासका बावजुद हामीले नेपाली जनताको विश्वास आर्जन गर्न सकेनौ र त्यो प्रकारको नतिजा पनि प्राप्त गर्न नसकेको कुरा जगजाहेर छ । यसको मूल कारण नेतृत्वको चिन्तन प्रणाली, सोच र नियत तथा अत्यन्तै अस्थिर, ढुलमुल र दोहोरो प्रकारको चरित्र जिम्मेवार रहेको कुरा स्पष्ट गर्न र यस्तो सोच सहितको नेतृत्वबाट नयाँ परिस्थितिमा नयाँ ढंगको एउटा प्रगतिशिल लोकतान्त्रिक पार्टीको गठन, निर्माण र यसको विस्तारको सम्भावना नदेखिएको निश्कर्ष सहित म विवेक सम्मत नेपाल समाजवादी पार्टीको केन्द्रिय सदस्य पदबाट राजिनामा दिएको कुरा सार्वजनिक गर्ने उद्देयले यो प्रेस विज्ञप्ति जारी गरेको छु ।

१. देशमा संविधानसभाबाट नयाँ संविधान जारी हुनुभन्दा पहिला देखि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय जीवनमा ख्याति प्राप्त विषयगत विज्ञ वा बुद्धीजिविहरु, नेपाली सिने जगतका स्थापित कलाकारहरु, नेपाल सरकारका उच्च ओहोदामा रहेका रिटायर कर्मचारीहरु, तत्कालिन माओवादी केन्द्रका बरिष्ठ नेता तथा भुपु प्रधानमन्त्री र उनको वरिपरि रहेका सहयोगी र साथ दिदैँ आएका पुर्व माओवादी नेता तथा कार्यक्रताहरु, विभिन्न राजनितिक दलबाट बिद्रोह गरी सामान्य नागरिक जीवनयापन गरिरहेका स्वतन्त्र मानिसहरु, परिवर्तनको पक्षमा दृढतापूर्वक उभिएका र उत्साहजनक उपस्थिति जनाइरहेका नयाँ जमानाका नयाँ युवा पुस्ताहरु, शुसासन र आर्थिक समृद्धीको युगको ऐतिहासिक कार्यभार पुरा गर्ने उद्देश्य सहित उपयुक्त नेतृत्वको खोजिमा रहेका स्वतन्त्र नागरिकहरु, तत्कालिन नयाँ शक्ति पार्टी नेपालले प्रतिपादन गरेको पाँच स को सिद्धान्तको माध्यमबाट आफ्नो डेस्टिनेसन र उद्देश्यमा पुग्नका लागि आफ्नो तर्फबाट इमान्दारिता पूर्वक भागिरथ प्रयत्न गरियो र पुर्णतया असफल भइयो भन्न पनि अब विल्कुलै हिच्किचाउनु हुुदैन ।

२. तत्कालिन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी नेपाल बिचको एकता पछि बनेको समाजवादी पार्टी नेपाल वा पुर्व राजपा र समाजवादी पार्टी नेपाल बिचमा भएको एकता पश्चात बनेको जसपा नेपाल गठन र घोषणा मूलतः नेपालमा एउटा वैकल्पिक नितान्त नयाँ राजनैतिक शक्ति÷पार्टीको गठन गर्ने उद्देश्य र अभिप्राय सहित सजातीय प्रवृतीहरुको बिचको एकता थियो । त्यस प्रकारको एकताले सदियौँ पुरानो हिमाल, पहाड र मधेस बिचको अन्तरविरोध÷ समस्यालाई हल गर्न र देशमा वास्तविक प्रकारको राष्ट्रिय एकता कायम गर्नका लागि महत्वपूर्ण आधारभूमि तयार पारेको थियो भने विश्व पूजीँवादको नेपाली प्रतिनिधि पार्टी नेपाली कांग्रेस र विश्व साम्यवादी धाराको नेपाली प्रतिनिधि पार्टी नेकपाको विकल्पमा एउटा मौलिक नयाँ प्रगतिशिल लोकतान्त्रिक पार्टीको गठन, घोषणा र विस्तारका लागि एउटा भरपर्दाे आधार तयार पारेको थियो । त्यस प्रकारको एकताको कोर्सले पूर्णता नपाउँदै पहिले पुर्व राजपा र पछि संघीय समाजवादी फोरम समग्रमा जसपा सँग सम्बन्ध विच्छेद गरिनु÷हुनु हाम्रो पार्टीको मूल नेतृत्वको चिन्तन प्रणाली, सोच र नियत जिम्मेवार थियो भन्न पनि अब हिच्किचाउनु हुँदैन ।

३. जसपा नेपालको मूल नेतृत्वबाट निर्णायक रुपमा सम्बन्ध विच्छेद भइसकेपछि÷गरिसकेपछि नयाँ परिस्थितिमा नयाँ ढंगको पार्टी, त्यो पार्टीको पुर्नगठन, भनिएको भएता पनि नयाँ विचारको अन्तरवस्तु सहितको नयाँ दलको गठन, घोषणा र निर्वाचन आयोगमा दर्ता र कानुनी मान्यता प्राप्त गर्ने कुरा प्रमूख थियो । नयाँ परिस्थितिमा नयाँ ढंगको पार्टी गठन र घोषणा गर्दा तत्कालिन जसपाको लिगेसी वा त्यो पार्टी भित्र रहेका सीमा समस्या तथा कमजोरीहरु संस्थागत गर्ने भन्ने प्रश्नै आदैनथ्यो । तर नेतृत्वको चिन्तन प्रणालीमा रहेको दृष्टी दोषकै कारण विगतकै इतिहासको भद्दा संस्करणको पुनरावृत्ति भयो र यसले परिवर्तनको पक्षमा रहेका आम जनता र वैकल्पिक राजनितिक शक्तिको निर्माणको पक्षमा रहेका अभियान्ताहरुको बिचमा कुनै उत्साह, रुची, चासो, सरोकार र उमंग पैदा गर्न सकेन बरु वामपन्थी कोणबाट नयाँ पार्टीको निर्माणको पक्षमा रहेका देशबासीहरु माथि ठूलो बज्रपात मात्रै गरेन चिन्ता र दुखको मात्रा बढाइदियो । यस परिघटनालाई हामी इमान्दार र स्वाभिमानी अभियान्ताहरुले टुलुटुलु हेरेर बस्न र सुन्न सकिएन र आ –आफ्नै शैलीमा स्वतन्त्र ढंगले बिद्रोह गरी यो समग्र प्रत्रियाबाट बाहिरिने प्रक्रिया सुरु भयो । म पनि यसै गरेँ ।

४. देशमा नयाँ वैकल्पिक राजनीतिको परिकल्पना, त्यसका लागी भएका प्रयास, त्यसको निर्माण र घोषणा र राष्ट्रिय तथा अन्तराष्ट्रिय रणभूमिमा त्यसको व्यापक आवश्कता र मूल्यबोधसहित भएको भएता पनि यसको मूल नेतृत्वमा रहेको चरम सत्ता आकांक्षा, सामन्यता आत्मकेन्द्रित व्यक्तिवाद, पार्टी भित्र रहेको चरम आर्थिक अराजकता, जनताप्रतिको असाध्यै अविश्वास, पार्टीमा जब्बर रुपमा रहेको पद लोलुप्ता र क्यारिरिष्ट सोचाइहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय जीवनका विभिन्न विधामा विषयगत विज्ञता हासिल गरेका मासिहरुका अलावा देशमा केही नयाँ गरौँ भन्ने जलजलायमान युवा पुस्ता प्रतिको आग्रह –पुर्वाग्रह र व्यापक संकिर्णता, नेतृत्वको वरिपरि रहेको राजनितिक इन्डष्ट्रिजको पार्टीमा एकमना एकताको अपेक्षा, संघीय समाजवादी फोरम र पुर्व राजपासँग बनेको जसपा नेपालको गठन र घोषणा पछि शक्ति आर्जन गर्ने र सत्तामा जाने मनोविज्ञान र मनोदशाबाट प्रेरित मूल नेतृत्व, प्रत्येक चुनावमा एकआध सिट जित्न र सत्तामा जानका लागि कहिले कांग्रेस, कहिले एमाले, कहिले फोरम, कहिले माओवादीकरण हुँदै जाँदा पार्टीले आफ्नो स्वत्व, पहिचान र दर्शन सिद्धान्त विचार राजनिति र संगठनात्मक मूल्य मान्यताबाट विमूख र च्युत हुँदै आफ्नो औचित्यता, प्रशंग र सान्दर्भिकता समेत गुमाउदै जादा यसको तिव्र गतिमा विजातीय प्रवृतिहरुसँगको सहकार्यले त्यही दिशामा संक्रमितको सिकार हुन पुग्यो । यसका अलावा भुमिगतकालिन माओवादी नेता कार्यक्रताहरुले इतिहासमा एउटा योगदान गरेबापत प्राप्त गर्न नसकेको राजकीय सुविधा वा सम्मान, पार्टीको मूल नेतृत्वको अत्याधिक प्रशंसा वा बिरोध गरेर भए पनि साउँव्याज सहित असुल उपर गरिछाड्ने मनोविज्ञान र मनोदशाबाट प्रेरित अभियानताहरु पनि वैकल्पिक राजनितिक पार्टीको गठन, निर्माण र विस्तारमा बाधक तत्वको रुपमा देखा परे ।

निश्कर्ष : यस आठ वर्षको दौरानमा देश र जनताको सर्वापरि हितमा जनतामा व्यापक विश्वास गरेर गरिएको सिर्फः एउटा मात्रै काम थियो, त्यो हो, मध्य पहाडि पुष्पलाल लोकमार्गको १८७९ किलोमिटरको एक महिने जन अभियान । त्यो बाहेकका सबै योजना र गतिविधिहरु सिर्फ पार्टी मूल नेतृत्व, त्यसको वरपर रहेको सर्वाधिकारी राज्य र विशेष अधिकार प्राप्त परिवारका सदस्यहरुको स्वार्थ, व्यक्तिगत महत्वकांक्षाका निम्ति सम्पूर्ण अनुभव, समय, स्रोत र उर्जा खर्च भएको कुरा खुल्ला हृदयका साथ भन्न मलाई कुनै हिच्किचावट छैन । तर यहाँ एउटा के कुरा स्पष्ट भन्न चाहन्छु भने, देश र जनताको सर्वाेपरि हितलाई ध्यानमा राखेर उच्च प्रकारको चेतनाद्धारा लेस भएर नै हिजो जनयुद्ध कालमा निशर्त जनयुद्धको मैदानमा हाम फालेको कुरा जगजाहेर छ । तर जब केही सिमित मानिसहरुको व्यक्तिगत सत्ता स्वार्थका निम्ति बलिदान दिने कुरा आउँछ, त्यो बेला त्यो बलिदान नभएर सिर्फ बलिप्रथा हुने भएकाले त्यसका निम्ति तयार हुन सकिएन ।

मेरो स्पष्ट दृष्टिकोण के छ भने नेपाली जनताको परिवर्तन प्रतिको उत्कट चाहना, नेपाली मतदाताहरुमा नेपालका राजनितिक दलहरुप्रति फेरीएको अभुतपुर्व रुझान, विज्ञान र टेक्नोलोजी, सुचना र संचारको क्षेत्रमा भएको अभुतपुर्व र असाधारण ढंगको आविष्कार र विस्तार, राष्टिय तथा अन्तराष्टिय रणभुमिबाट दृष्टिगत गर्दा देशमा नयाँ वैकल्पिक राजनितिक शक्तिको औचित्यता, प्रशंङ्ग र आवश्कता पहिले भन्दा इतिहासकै अभूतर्र्पु र असाधारण ढंगले बढेर गएको पृष्ठभुमिमा नयाँ परिस्थितिमा नयाँ ढंगले नयाँ वैकल्पिक राजनितिका पक्षधरहरुलाई समेत संगठित गरी देशमा शुसासन, विकास र आफ्नै जीवनमा आर्थिक रुपले समृद्ध बनाउँदै जनताको मानसिक शान्ती र आत्मिक खुसी प्रर्वद्धन गर्ने अभियानमा म मन बचन र कर्मले अगाडी बढ्ने प्रतिबद्धता सार्वजनिक गर्ने उद्देश्यले यो प्रेस विज्ञप्ति जारी गरेको छु ।

मलाई पूरा विश्वास छ, यो देशमा रहेका नयाँ युवायुवतीहरु, विभिन्न राजनितिक दलभित्र रहेका इमान्दार र स्वाभिमानी कार्यक्रता तथा नेताहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय जीवनका विषयगत र ख्यातिप्राप्त विद्धानहरु, परिवर्तनको पक्षमा रहेका आम नेपाली जनसमुदायहरु हाम्रो सकारात्मक सोँच र उद्देश्य सहित थालिएको यस अभियानमा सामेल हुनुहुने छ । हामीले आम नेपाली जनताको शिर नझुक्ने गरी आफ्नै जीवनकालमा शुसासन र सार्थक जीवनको नियम र एउटा बैज्ञानिक पद्धती बसाल्ने कुरामा म विश्वस्त पार्न चाहन्छु । र के कुरा पनि भन्न जरुरी छ भने हामीले यस अवधिमा सम्पूर्ण अनुभव, समय, स्रोत र उर्जा खर्च गरेर केही बनाउन नसके पनि केही बहुमूल्य शिक्षा प्राप्त गरेका छौँ । त्यसको जगमा एउटा नितान्त नयाँ बैकल्पिक राजनितिक शक्ति निर्माण गरिछाड्ने राष्ट्रिय सङ्कल्प र फलामै इरादा रहेको कुरा यसै प्रेस विज्ञप्ति मार्फत स्पष्ट गर्न चाहन्छु ।
अभिवादन सहित नमस्कार ।

नारायण खनाल
केन्द्रिय सदस्य
नेपाल समाजवादी पार्टी / लेखक
मिति : २०७९/०५/०६
ईमेल :[email protected]

प्रतिक्रिया

खबर सबै