

बजारमा ‘एक्जामिनेसन ग्लव्स’को चरम अभाव,





ई–साझाकुरा, असोज ५
कोरोना भाइरस संक्रमितको संख्या थपिँदै जाँदा उपचारका क्रममा स्वास्थ्यकर्मीहरूले लगाउनैपर्ने पञ्जाको भने चरम अभाव हुन थालेको छ। बजारमा स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने ‘एक्जामिनेसन ग्लव्स’ पाइनै छाडेको छ। ‘सर्जिकल ग्लव्स’ को मूल्य आकासिएको छ। आवश्यक पञ्जाको अभाव हुँदा स्वास्थ्यकर्मीहरू जोखिम मोलेर काम गर्न बाध्य भएका छन्। कतिपय अस्पतालमा स्वास्थ्यकर्मीका लागि पनि बिरामी आफैले पञ्जाको जोहो गरेर उपचारका लागि जान बाध्य भएका छन्।
भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अहिले स्वास्थ्यकर्मीले लगाउने पञ्जा नै छैन। गत जेठ ३० गते आह्वान गरिएको बोलपत्रका आधारमा नारायणी डाग्नोस्टिक सेन्टर भरतपुरले एक वर्षका लागि उक्त अस्पताललाई सर्जिकल र एक्जामिनेसन ग्लव्स उपलब्ध गराउनेगरी असार २८ गते सम्झौता भएको थियो। तर बजार भाउ महँगिएको भन्दै उक्त कम्पनीले केही दिन यता क्यान्सर अस्पताललाई पञ्जा उपलब्ध गराउन सकेको छैन।
अस्पतालको स्टोर शाखामा कार्यरत एक कर्मचारीले भने, ‘सप्लायर्सले आवश्यक ग्लव्स उपलब्ध नगराउँदा केही दिनयता आवश्यक पर्ने स्वास्थ्यकर्मीहरूलाई पनि दिन सकिएको छैन। नारायणी डाग्नोस्टिक सेन्टरका सञ्चालक अर्जुन रानाभाटले सस्तो मूल्य भएको बेलामा टेण्डर पारेको तर अहिले मूल्य आकासिएका कारण भनेजति परिमाणमा उपलब्ध गराउन नसकेको बताए। उनका अनुसार टेण्डर खुल्दा अस्पताललाई प्रति प्याकेट भ्याट बाहेक ३३५ रुपैयाँमा एक्जामिनेसन ग्लव्स उपलब्ध गराउन सकिन्थ्यो।
‘तर अहिले मूल्य बढेर एक हजार रुपैयाँसम्म पुगेको छ’, रानाभाटले सेतोपाटीसँग भने, ‘त्यति नै मूल्य तिर्छु भन्दा पनि पाउन सकिएको छैन।’ रानाभाटकाअनुसार आयातकर्ताले उक्त पञ्जा आयात गर्नै नसकेका कारण समस्या भएको छ।अस्पतालका स्वास्थ्यकर्मीहरूले कोरोना संक्रमणको जोखिम रहेका कारण पञ्जा बिना काम गर्न नसकिने बताएका छन्। तर अस्पताल प्रशासनले उपलब्ध गराउन सकेको छैन क्यान्सर अस्पतालकाअनुसार दैनिक दुई हजार जोर पञ्जाको आवश्यकता रहेकोमा त्यसको आधा पनि सप्लायर्सले दिन सकेको छैन।
अस्पतालको अगाडि रहेको विमल फार्मेसीका सञ्चालक विमल लामिछानेले केही दिन यता धेरै बिरामी ग्लव्स किन्न आएपनि आफूसँग नभएका कारण दिन नसकेको बताए। सर्जिकल ग्लव्स बजारमा उपलब्ध भएपनि महँगिएका कारण उनीहरूले किन्न नसकेको लामिछानेले बताए।
उनका अनुसार केही दिन अघिसम्म एक जोर सर्जिकल ग्लव्सको ३५ रुपैयाँमा बिक्री गर्ने गरेकोमा अहिले ४५ रुपैयाँ पर्न थालेको छ।‘एक्जामिनेसन ग्लव्स त बजारमा पाइनै छाड्यो’, उनले भने, ‘कतै पाइहाले पनि पहिले भन्दा धेरै महँगो पर्ने भएकाले खरिद गरेको छैन।’भरतपुरका केही निजी अस्पतालले उनीसँग पनि एक्जामिनेसन ग्लव्स उपलब्ध गराइदिन आग्रह गरेका थिए। ‘मैले चिनेजति सप्लायर्सलाई सोधेँ तर उनीहरूले छैन भनेपछि कसैलाई दिन सकेको छैन’, लामिछानेले भने।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कोरोना संक्रमितको उपचार गर्ने मूख्य अस्पताल भएकाले ७ सय जना कर्मचारीलाई नै उक्त पञ्जा आवश्यक भएपनि दिन नसकिएको बताए।‘हामीले अतिआवश्यक पर्ने स्वास्थ्यकर्मीलाई अहिलेसम्म उपलब्ध गराउन सकेका छौं’, उनले भने, ‘सप्लायर्सले परिमाण घटाउँदै लगेका कारण केही दिनमा संकटको अवस्था आउने देखिएको छ। ’उक्त अस्पतालको स्टोर शाखाका प्रमुख केशव सापकोटाले यस्तो पञ्जा विगतमा दैनिक ५० हजार थान सम्म स्टक रहने गरेकोमा अहिले घटेर दैनिक ५ हजार थान स्टक रहेको छ।
‘सप्लायर्सले ग्लव्स पाउनै छाडेको सुनाउन थालेका छन्’, उनले भने, ‘अहिलेसम्म त जसोतसो खोजेर ल्याइदिएका छन्। कहिलेसम्म आउने हो थाहा छैन।’ भरतपुर अस्पताललाई उक्त पञ्जा उपलब्ध गराउने टेण्डर हस्पिटल सर्भिस नेपालले पारेको थियो। चितवन मेडिकल कलेज शिक्षण अस्पतालको अवस्था पनि उस्तै छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले केही दिनयता स्वास्थ्यकर्मीहरूलाई ग्लव्स उपलब्ध गराउन हम्मे भइरहेको बताए।
उनले केही समय अघिसम्म प्रति प्याकेटको २८० रुपैयाँमा पाइने गरेको ग्लव्सको मूल्य बढेर अहिले एक हजार रुपैयाँसम्म पुगेको बताए। ‘अहिले त बढी पैसा तिर्छु भन्दा पनि पाइएको छैन’, उनले भने, ‘सप्लायर्सले कतै पनि भेटिएन आयात नै बन्द छ भन्न थालेको छ।’ सर्जिकल ग्लव्समा संक्रमणबाट बच्नका लागि डिसइन्फेक्सन मिसाइएको हुन्छ। यो महँगो पनि हुन्छ। त्यसैले यो शल्यक्रिया तथा महत्वपूर्ण उपचारमा सहभागि हुने स्वास्थ्यकर्मीहरूले मात्र पूयोग गर्छन्। एक्जामिनेसन ग्लव्स भने अस्पतालले अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई उपलब्ध गराउने गरेको थियो।
कोरोना भाइरसको महामारी सुरु भएसँगै सर्वसाधारणले समेत यसको प्रयोग गर्न थालेका थिए। सप्लायर्सहरू माग अत्याधिक भएका कारण सो अनुसार पुर्याउन नसकिएको बताउँछन्। केही महिना अघि मास्कको माग अत्याधिक हुँदा बजारमा चरम अभाव देखिएको थियो। उक्त समयमा मास्कको मूल्य आकासिएको थियो। मास्क लुकाएर अभाव श्रृजनागरी महँगोमा बिक्री गर्ने कतिपय व्यापारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
अहिले बजारमा कोभिडसँग सम्बन्धित सबै सामग्रीहरूको मूल्यमा गिरावट आइरहँदा ग्लव्सको मूल्य भने अस्वभाविकरुपमा आकासिएको छ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया