

मविरूद्ध बदला भाव राखियो, पार्टीमा म एक्लो छैन: घनश्याम भुसाल





काठमाडौं
नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाले आफूविरूद्ध ‘बदला भाव’ राखेर अहिले अनुशासनको कारबाही गर्न खोजिएको बताएका छन्।
नेकपा एमालेको अनुशासन आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकोमा भुसाललाई कारबाही गर्न पार्टी सचिवालयलाई सिफारिस गरेको थियो।
आइतबार सेतोपाटीसँग कुराकानीमा उनले आफूविरूद्ध पार्टीको आठौं महाधिवेशनदेखि नै बदला भाव राखिँदै आएको बताए।
‘यसलाई मैले व्यक्तिगत रूपमा लिएको छैन’, भुसालले भने, ‘पार्टी आन्दोलनमा जसले सैद्धान्तिक र वैचारिक विचारहरू राख्छ त्यहीमध्येबाट नेतृत्वमा जाने परम्परा हुन्छ। पार्टीको नवौं महाधिवेशनदेखि नै मैले उठाएको विचारमा उहाँहरू सहमत हुनु हुन्थेन। उहाँहरू यथास्थितिको पक्षमा हुनुहुन्छ। त्यो बेलादेखि नै उहाँहरूमा मेराविरूद्ध व्यक्तिगत बदला भाव देख्छु। त्यो नराखे हुन्थ्यो। पार्टी आन्दोलनको यो चढाइमा, यो जिम्मेवारीमा पुगेका कमरेड ओलीले त्यो नगरे हुन्थ्यो भन्ने हो।’
उनले अनुशासनको कारबाही गर्न खोजिए पनि पार्टीभित्र आफू एक्लो नरहेको दाबी गरे।
‘म एक्लो छैन। एक दुई जना जसलाई पार्टी आन्दोलनसँग लिनुदिनु केही छैन। तिनीहरूबाहेक अरू सबै आन्दोलनबाटै आएका साथीहरू छन्। ओली कमरेडसँग भएका साथीहरू पनि आन्दोलनबाट हुर्किएर आएका साथीहरू हुन्’, भुसालले भने, ‘ती साथीहरू संवेदनशील र ‘सिरियस’ छन्। म ढुक्क हुने कुरा किन हो भने नेतृत्वमा सचिवालय र स्थायी कमिटीमा मुद्दाका हिसाबले भन्ने हो भने मेरो पक्षमै साथीहरू हुनुहुन्छ भन्ने लाग्छ।’
यद्यपी पार्टीमा आफ्नो पक्षमा रहेका नेताहरू बोल्न नसकेको उनले बताए।
‘बोल्न नसक्ने कुरा टेक्निकल हो’, भुसालले भने, ‘क्रमश: बोल्नुहोला।’
उनले आफूलाई पार्टीले अनुशासनको कारबाही गर्न लागेको विषयमा औपचारिक जानकारी नभएको बताए।
‘मलाई औपचारिक जानकारी छैन’, भुसालले भने, ‘अनुशासन आयोगका अध्यक्षले नै बोलेपछि होला भन्ने लागेको छ।’
उनले पार्टीको पछिल्लो महाधिवेशन पछि बनेको कमिटी र प्रणालीका कारण पनि आफूलाई कारबाहीको विषय नौलो नलागेको बताए।
‘पछिल्ला दिनमा पार्टी जसरी बन्यो र हामी जुन बाटो हिँडदै छौं। त्यसै प्रकारको नेतृत्व, कमिटी र नीति बन्दै गएका छन्’, भुसालले भने, ‘अहिले जसरी महाधिवेशन भयो। व्यक्तिको आदेशमा जसरी जिल्ला अधिवेशन भए। जसरी जिल्ला कमिटीहरू बनाइए। त्यसरी कमिटीहरू बनेपछि व्यक्तिका प्रति नै उत्तरदायी हुने भए। सायद त्यो कारणले समस्या आएको हो। यसरी हाम्रो आन्दोलनको रक्षा हुँदैन। व्यक्तिको रक्षा होला। कुनै खास कमिटीको रक्षा गरौंला। त्यहाँ भएका मान्छेहरूको रक्षा गरौंला तर आन्दोलनको रक्षा हुँदैन।’
भुसालले आफूले पार्टीले हिँडेको बाटोबारे समीक्षा खोजेको बताए।
‘हामी यो बाटो हिँडेर एकपछि अर्को हन्डर-ठक्कर खाँदै आयौं। त्यत्रो पार्टी बन्यो, विघटित भयो। बहुमतको संसद गुम्यो। सरकार गयो। प्रदेशका सरकार गए। हाम्रो नेकपा एमाले विभाजित भयो। चुनावमा समेत हामीले ठक्कर खायौं भने हामीले यसको उपचार हामीभित्रै खोज्नुपर्छ’, भुसालले भने, ‘नेतृत्वमा खोज्नुपर्छ। कमिटीको आजको विधि, सञ्चालन हुने तरिका र कमिटीको बाटो यसैभित्र खोज्नुपर्छ।’
उनले पार्टीले पछिल्लो पटक हिँडेको बाटो असफल भएको दाबी गरे।
‘डेढ-दुई वर्ष हिँडेको बाटो असफल भयो। यो असफल भएपछि कोर्स करेक्सन गरौं। बाटो फेरौं हो भन्ने मैले उठाएको कुरा हुन्’, भुसालले भने, ‘यथास्थितिवादीहरू जसलाई पार्टी हारेर पनि फाइदा हुन्छ। पार्टीले जित्यो भने पनि हामीले गर्दा जित्यो भन्यो र हार्यो भने पनि अरूले हराए भन्यो। पार्टीभित्र आफ्नो निजी स्वार्थको रक्षा गर्ने, खेलोमेलो गर्ने र त्यसको व्यवस्थापनमा लागेका मान्छेहरूको त कुरा अर्कै हो। नत्र भने मैले उठाएको विषय आन्दोलनको पराजयको कुरा हो। पार्टीको पराजयको कुरा हो। त्यसमा छलफल गरौं भन्ने कुरा हो।’
उनले पार्टीमा आफूले सधैँ दलाल पुँजीवादको विषय उठाउँदै आएको र पार्टीका यथास्थितिवादीहरूलाई मन नपरेको उल्लेख गरे।
‘समाज कसरी परिवर्तन भयो भनेर यसको राजनीतिक अर्थशास्त्रीय, समाजशास्त्रीय र राजनीतिक सिद्धान्तको हिसाबमा आठौं महाधिवेशनमा नै प्रस्ताव ल्याएको थिएँ’, भुसालले भने, ‘नदीमा धेरै पानी बग्यो। जमिनदारी प्रथा गयो। राजतन्त्र गयो। सामान्तवाद हिँड्यो। तर यो पुँजीवाद उत्पादक होइन। राष्ट्रिय पुँजीवाद होइन। दलाल पुँजीवाद हो। राष्ट्रिय पुँजीवाद विकास गर्दै समाजवादतिर जाने हो भने बाटो तय गर्न मैले अगुवाइ गरेको हो’, भुसालले भने, ‘यथास्थितिवादी साथीहरूसँग विवाद थियो। उहाँहरूले यो तहको आर्थिक सामाजिक रूपान्तरणको विषयलाई व्यक्तिगत बनाइदिनुभयो।’
उनले आफूले सार्वजनिक सञ्चारमाध्यममा बोलेको कुराको बचाउ गरे।
‘पार्टीमा मैले हरेकजसो बैठकमा यी कुरा राख्दै आएको छु’, भुसालले भने, ‘पार्टीका अन्य नेताहरुले बरू नेताहरूले जुन तहको निन्दा प्रचार गरेका छन्। मैले व्यक्तिगत रूपमा कसैको निन्दा प्रचार गरेको छैन। मैले एजेन्डा नै उठाएको छु। मेरो विरोध गर्ने पार्टीका साथीहरूको रेकर्ड हेर्नुहोस्, तिनीहरूले क-कसको विषयमा कति निन्दा वचन लगाएका छन्, त्यो हेर्यो भने थाहा भइहाल्छ नि।’


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया