सैनामैनामा ट्रमा सेन्टर स्थापना हुने

रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना हुने भएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा ट्रमा सेन्टर स्थापना गर्ने उल्लेख गरिएको हो ।

यससहित सरकारले बुटवल र भैरहवामा ट्राम यातायातको सम्भावना अध्ययन गरिने नयाँ योजना ल्याएको छ । सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत रुपन्देहीको तिनाऊ दानब नदी कोरीडोरमा तटबन्ध निर्माण र बस्ती संरक्षण कार्यक्रम ल्याउने उल्लेख छ । चितवन–रामपुर–बुटवल द्रूत मार्गको योजना ल्याएको छ ।

रुपन्देही र आसपासका क्षेत्रमा अन्य पुराना योजनालाई निरन्तरता दिनेगरी सरकारले बजेट विनियोजन गरेको छ । त्यसमा रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेज र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा संचालन गर्ने गरी बजेट छुट्याएको छ । बजेटमा यात्रु चापलाई विश्लेषण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

कर्साघाटको कृषि उपज केन्द्र निर्माण, मोतिपुर औद्योगिक क्षेत्र निर्माण, भैरहवाको विशेष औद्योगिक क्षेत्र (सेज) को सञ्चालन र भैरहवा एकीकृत जाँच चौकी निर्माणलाई बजेटले समेटेको छ । यस्तै बुटवल इन्टरनेट एक्सचेञ्ज केन्द्र खोल्न सम्भाव्यता अध्ययन गर्ने, बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पतालसँग समन्वयमा आयोजना अगाडि बढाउने भनिएको छ ।

यस्तै बुटवल–नारायणगढ सडक आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने, बुटवल –गोरुसिंगे सडक निर्माणका लागि डीपीआर निर्माण र तिनाऊ नदीमा बहुउद्देशीय सिग्नेचर ब्रिज निर्माणको डीपीआर गर्ने बजेटमा उल्लेख छ । कालीगण्डकी–तिनाऊ डाइभर्सन आयोजना अध्ययन गर्ने, बुटवल–बेलहिया आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने, सिद्धबाबा सुरुङ मार्ग निर्माण सुरु गर्ने, दुम्किबास–बर्दघाटको दाउन्नेमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने र बुटवल धागो कारखाना उपयुक्त ढाँचामा सञ्चालन गर्ने पनि बताइएको छ ।

प्रतिक्रिया

खबर सबै