


एमाले घोषणापत्रः शिक्षादेखि जलवायु परिवर्तनसम्मका विषय समावेश



काठमाडौं । नेकपा एमालेले शुक्रवार स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा कार्यक्रम गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एमालेको घोषणापत्रमा शिक्षादेखि जलवायु परिवर्तनसम्मका विषय समेटिएका छन् ।
घोषणपत्रअनुसार एमालेले प्रत्येक पालिकामा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने, माध्यमिक शिक्षालाई निःशुल्क र अनिवार्य गराउने, स्थानीय विद्यालयमै पढ्ने वातावरण निर्माण गर्ने, पालिकालाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम समेटेको छ ।
त्यस्तै पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गर्ने, हरेक वडामा स्वास्थ्यचौकी, आरोग्यता, स्वास्थ्य परीक्षण, निःशुल्क आधारभूत स्वास्थ्य सेवा, जटिल रोगको निःशुल्क उपचारलगायत पनि घोषणापत्रमा समेटिएको छ ।
घोषणापत्रमा गम्भीर रोगको पूर्वपरीक्षण ९स्क्रिनिङ० र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गर्ने, स्पाइनल इन्ज्युरीका कारण अपांगता भएकालगायत गम्भीर प्रकृतिका अपांगता भएकाहरूलाई आवश्यक पर्ने औषधि र अन्य सहायता सामग्री स्थानीय तहमै उपलब्ध गराउने व्यवस्था गर्ने, आयुर्वेद, योग र प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्ने, औषधिजन्य गुण भएका जडीबुटीको उत्पादन, प्रशोधन र सदुपयोग गर्ने पनि समेटिएको छ ।
प्रत्येक नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्थामार्फत् सफा, सुन्दर र सभ्य पालिका निर्माण गर्ने, विद्युत् उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय वृद्धि र पर्यावरण संरक्षण गर्ने, प्रत्येक नागरिकका घरमा विद्युत सुविधा उपलब्ध गराउने, विपन्न परिवारलाई घरायसी प्रयोगको विद्युत् निःशुल्क उपलब्ध गराउने पनि एमालेले घोषणा गरेको छ ।
साथै सिँचाइको विस्तार, कृषि(भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने, सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवं आपूर्ति व्यवस्था सुनिश्चित गर्न दिगो यातायात पूर्वाधारको विकास गर्ने, प्रत्येक नागरिकलाई सुरक्षित आवासको हक सुनिश्चित गर्दै एकीकृत वस्ती, योजनाबद्ध सहरी विकास र विकसित पालिका निर्माण गर्ने, सार्वजनिक, निजी र सहकारी माध्यमद्वारा औद्योगीकरण गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, सामाजिक सुरक्षा कार्यक्रम मार्फत् श्रमिकहरूको हक संरक्षण गर्ने एमालेले जनाएको छ ।
यस्तै प्रत्येक पालिकामा एउटा औद्योगिक ग्राम र हरेक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र स्थापना गरेर सञ्चालन गर्ने, स्थानीय पुँजीको संकलन, उद्यमशीलताको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणका माध्यमका रुपमा सहकारीलाई विकास गर्ने, मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण गर्दै स्थानीय पहिचानको अभिवृद्धि गर्ने र पर्यटनको विकासमार्फत् रोजगारी र समृद्धि हासिल गर्ने लगायत घोषणापत्रमा समेटिएका छन् ।
यस्तै जलवायुका क्षेत्रमा एमालेले जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट समुदायलाई सुरक्षा र पर्यावरणको संरक्षण गर्न विकास र वातावरणबीच सन्तुलन कायम गर्ने, हरित विकासलाई प्रवर्द्धन गर्ने जनाएको छ ।
साथै एमालेले ६ बुँदे संकल्प पनि गरेको छ ।
यी हुन् एमालेले गरेका संकल्प
१। हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेछन् ।
२। हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्।
३। हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमूना बन्नेछन् ।
४। हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।
५। हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् । कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन् ।
६। हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानूनी कारबाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछन् ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया