२५ जनाभन्दा बढीको भेलामा रोक लगाउन सिफारिस

काठमाडौँ । कोरोना संक्रमण तीव्र बन्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढीको भेलामा रोक लगाउन सरकारलाई सिफारिस गरेको छ ।

सीसीएमसीसीको आइतबार बसेको बैठकले संक्रमण फैलिने जोखिमका कारण सार्वजनिक भेला, मेलारमहोत्सव बन्द गर्नुपर्ने निष्कर्ष निकालेको हो । नगरी नहुने नियमित कार्यक्रमका हकमा प्रशासनको अनुमति लिने व्यवस्था मिलाउन भनिएको छ ।

सीसीएमसीसीले माघ ७ देखि लागू हुने गरी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्कलगायत सार्वजनिक स्थानमा प्रवेशका लागि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) देखाउनुपर्ने व्यवस्था गर्न भनेको छ । सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका कोभिड व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको छ । बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारिस गरिएको छ ।

संक्रमण रोकथाम, नियन्त्रण र उपचार प्रभावकारी बनाउन, औषधि तथा औषधिजन्य सामान छिटो–छरितो खरिद गर्न स्वास्थ्य मन्त्रालयसमक्ष सिफारिस गरेको छ । अहिले राजधानीकै वीर, राष्ट्रिय ट्रमा, प्रसूतिगृह, सहिद शुक्रराज ट्रपिकल, कान्ति बाल, त्रिवि शिक्षण अस्पताललगायत ठूला अस्पतालमा औषधिदेखि अप्रेसन गर्न चाहिने सर्जिकल सामानसम्मको अभाव छ ।

अस्पतालहरूले औषधि खरिदका लागि नयाँ टेन्डर आह्वान गर्न सकेका छैनन् । नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन परीक्षण प्रभावकारी बनाउने र कोरोना पोजिटिभ देखिएकालाई तत्काल आइसोलेसन होल्डिङ सेन्टर, होटल मा राख्ने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला कोभिड व्यवस्थापन समितिलाई समन्वय गर्न सुझाइएको छ ।

सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन टेस्ट बुथ स्थापना गर्न र नियमित खोप केन्द्रमा खोप अभियानकै रूपमा अगाडि बढाउन पनि सीसीएमसीसीले सरकारलाई भनेको छ । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरिएको छ ।

सीसीएमसीसीले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाउन र माघ ७ पछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउन, पूर्ण मात्रा खोप लगाएका र बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएका यात्रुलाई विदेशबाट नेपाल प्रवेशका लागि सम्बन्धित वायुसेवाले बोडिङ पास जारी हुने व्यवस्था गर्नसमेत भनेको छ ।

सुरुवाती चरणमा ओमिक्रोन भेरिएन्टको संक्रमण पहिचान भएका दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बावे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी, हङकङबाट आउने वा ती मुलुकमा ट्रान्जिट बनाई यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल राहदानीवाहक वा आवासीय प्रवेशाज्ञा प्राप्त यात्रुका हकमा क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्था लागू गर्न सीसीएमसीसीले सिफारिस गरेको छ ।

कोभिड–१९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८ र एकीकृत कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन गृह मन्त्रालयलाई सीसीएमसीसीले सिफारिस गरेको छ । इ कान्तिपुरमा समाचार छ ।

प्रतिक्रिया

खबर सबै