ई– पासपोर्टका कारण जिल्लाबाट राहदानीका काम ठप्प

राजेन्द्र खनाल, कपिलवस्तु ।
राहदानी विभागले ई–पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरणको अवधारणा ल्याए सँगै जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिने राहदानीका काम ठप्प भएका छन् ।

विभागले मंसिर १५ भित्र देशभरका जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट जारी गरिने जनाएको भए पनि पुष लाग्दा समेत विभागले जिल्ला प्रशासनबाट काम गराउन नसकेको हो । अन्तर्राष्ट्रियस्तरमै निकै भरपर्दो, विश्वासिलो र सुरक्षित मानिएको विद्युतीय राहदानी नेपालले प्रचलनमा ल्याएको भए पनि जिल्लाबाट राहदानीको काम नहुँदा भने सेवाग्राही समस्यामा पर्ने गरेका छन् । अहिले सम्म विश्वका एक सय २० भन्दा बढी मुलुकले ई–पासपोर्ट प्रचलनमा ल्याइसकेका छन्।

राहदानी नबन्दा सेवाग्राही निराश

कपिलबस्तु स्थित जिल्ला प्रशासन कार्यालयमा राहदानीको काम गत एक महिना देखि बन्द अवस्थामा छ । नेपाल सरकार परराष्ट मन्त्रालयले मंसिर १ गते देखि बिधुतीय राहदानी अर्थात ९ ई –पासपोर्ट० लागू भएको भन्दै नयाँ पासपोर्टकोे फारम नलिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय स्थित राहदानी शाखाले जनाएको छ । राहदानी बनाउने काम रोकिए पछि जिल्ला प्रशासनमा राहदानी बनाउन नागरिकहरु पुग्छन् तर काम नहुने बताएपछि निराश भएर फर्कने गरेका छन् । पासपोर्ट बनाउने आएको पासपोर्टको फारम पनि नलिएको कपिलबस्तु शिवराज नगरपालिका सन्तोष जीसीले बताए ।

लामो समयसम्म प्रयोगामा रहेका हस्तलिखित पासपोर्टलाई बिस्थापित गरेर एमआरपी लागू गरेको राहदानी बिभागले त्यसको भन्डै ११ बर्ष पछि ई–पासपोर्ट प्रयोगमा ल्याएको हो । हाल यो सेवा काठमाण्डौमा मात्रै लागु भएपछि जिल्ला प्रशासनमा पुग्नेहरु निराश हुने गरेका छन् । जिल्ला प्रशासनबाट राहदानीको काम हुन अझै १५ दिन लाग्ने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत मनोजकुमार सैनीले बताए । ई–पासपोर्ट बनाउनका लागि सेवाग्राही काठमाडौं धाउन पर्दैन। देशभरका जिल्ला प्रशासन कार्यालयबाट यो पासपोर्ट प्राप्त गर्न सकिने उल्लेख छ। तर कहिले देखि काम हुन्छ भन्ने मै अन्यौल हुँदा बैदेशिक रोजागारीका लागि तयारी गरेकाहरु भने निराश छन्।

काठमाडौँ उपत्यका बाहिरका जनताले सामान्यतयाः आवेदन दिएको १५ दिनभित्र विद्युतीय राहदानी पाउनेछन्। जसका लागि उनीहरुले साविककै ५ हजार रुपैयाँ तिरे पुग्छ। तर, तत्कालै राहदानी आवश्यक परे काठमाडौंस्थित केन्द्रीय राहदानी कार्यालयमा १५ हजार रुपैयाँ तिर्नुपर्नेछ। विद्युतीय पासपोर्ट ६ वटा रंगमा जारी हुनेछ। सर्वसाधारणलाई चकलेटी रंगको पासपोर्ट वितरण गरिनेछ। मङ्सिर २ गतेदेखि सिमित सेवाग्राहीलाई ई–पासपोर्ट वितरण गरिएको थियो । तर मङ्सिर १५ गतेदेखि सबै सेवाग्राहीले इलेक्ट्रोनिक पासपोर्ट बनाउन सक्ने विभागले जनाएको भए पनि अहिले सम्म कार्यान्वयनमा आउन सकेको छैन ।

ई–पासपोर्ट के हो ?

विद्युतीय राहदानी अर्थात बायोमेट्रिक पासपोर्ट भनिने ई–पासपोर्टलाई अहिलेसम्म १२० मुलुकले प्रयोगमा ल्याएका छन् । राहदानी विभागले नेपालमा जारी गरिएको ई–पासपोर्टलाई सुरक्षा, डिजाइन र अन्य विशेषताको कारण एसियामै उत्कृष्टमध्ये रहेको जनाएको छ । आइकाओले ई–पासपोर्टलाई संसारमै सुरक्षित पासपोर्टको रुपमा परिभाषित गरेको छ । यसलाई एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो मानिन्छ । ई–पासपोर्टमा मोबाइलमा जस्तै विद्युतीय ‘चिप’ र ‘एन्टेना’को प्रयोग हुन्छ । यसमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक डेटा पनि राखिन्छ । यो पासपोर्टलाई मेसिन र कम्प्युटरले सजिलै रिड गर्न सक्छ । यसको सेक्युरिटी फिचर पनि बलियो हुन्छ । ई–पासपोर्ट प्रयोगमा आएपछि राहदानीको दुरुपयोग रोकिने अपेक्षा सरकारले लिएको छ । एक देशमा अपराध गरेर अर्को देशमा जान खोज्ने अपराधीलाई अध्यागमनमै रोक्न सकिने र इन्टरपोललाई पनि सजिलो हुने आशा लिइएको छ ।

इलेक्ट्रोनिक डेटामा बायोमेट्रिक राखिँदा एउटाको विवरण अर्कोसँग मिल्दैन । नेपालको ई–पासपोर्टमा ६४ वटा पृष्ठ छन् । पहिलेको पासपोर्टमा ३२ पृष्ठ थिए । सरकारले यी पृष्ठहरुमा सम्पदा, संस्कृति, वन्यजन्तु र विभिन्न पर्यटकीय स्थानको तस्बिर अंकित गरेको छ । पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । ६ वटा पासपोर्टको समेत रङ भिन्दाभिन्दै छ । सामान्य र अस्थायी राहदानीको रङ चकलेट रङको छ । ‘अवश्य पनि नयाँ पासपोर्टले विश्वसामु नेपालको प्रतिष्ठा माथि जान्छ’ कार्यक्रममा विभागका महानिर्देशक अर्यालले भने, ‘हामीले एसियामै उत्कृष्टमध्येको पासपोर्ट जारी गरेका छौं ।’ हेन्ली पासपोर्ट इन्डेक्सको पछिल्लो सूचीमा नेपाली पासपोर्ट अफगानिस्तान, उत्तर कोरियाजस्ता द्वन्द्व ग्रस्त मुलुकहरुसँगै ११० औं स्थानमा थियो ।

प्रतिक्रिया

खबर सबै