कपिलवस्तुमा छाडा चौपाय, असोजसम्म गौशालामा राख्ने बाणगंगााको तयारी

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकालाई अहिले छाडा चौपाय व्यवस्थापन ठूलो चुनौतीको रुपमा देखा परिरहेका बेला त्यसको व्यवस्थापनका लागि तयारी गरिएको जनाइएको छ । घरमा पालिने गाई र गोरु अहिले मुख्य राजमार्गका विभिन्न स्थानमा ठुलो संख्यामा रहने गरेका छन् । जसका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ भने यसको व्यवस्थापनमा ठोस कदम चल्न नसक्दा र उपयुक्त स्थान निर्धारण गर्न नसक्दा नगरपालिकालाई नै हम्मेहम्मे परिरहेको छ । तर अहिले छाडा पशुको व्यवस्थापनका लागि मधुनधाममा गौशाला निर्माण भईरहेको नगरपालिकाले दावी गरेको छ ।

झण्डै दुई वर्षअघि केही कम मात्रामा देखिने चौपाय अहिले भने ठुलो संख्यामा देखिने गरेका छन् । नगरपालिकाको पूर्वमा रहेको पिपरा देखि पश्चिममा रहेको कोइली बनगाई सम्म राजमार्गमा अधिकशं स्थानमा छाडा चौपाय भेटिन्छन् । २४ घण्टा पशुचौपाय सडकमै बस्ने गर्दा सवारी आवागमनमा समस्या हुने गरेका छ भने मुख्य बजार क्षेत्रमा मानिसको चहलपहल र पशुचौपायको अवरोधका कारण दुर्घटना जोखिम पनि उत्तिकै बढेको छ ।

त्यस्ता पशु चौपायको उचित व्यवस्थान गर्नुको साटो ट्राफिक प्रहरीले रातिको समयमा टल्किने रिफ्लेक्ट गाई गोरुको घाटीँमा झुण्ड्याइदिएको छ । रातको समयमा पशुचौपायलाई सवारी साधनले ठक्कर दिने र गाईवस्तु मर्ने घटना बढेपछि प्रहरीले सो जुक्ती लगाएको हो । यद्यपी यो स्थायी समाधान नभएको स्थानीय बताउँछन् । छाडा चौपायाकै कारण बाणगंगामा धेरै सवारी दुर्घटना पनि बढिरहेको छ । छाडा चौपायका कारण हुने सडक दुर्घटना न्युनिकरणका उपाय प्रहरीले खोजिरहेको छ तर न्युनिकरण हुन सकेको छैन ।

यता बाणगंगा नगरपालिकाले भने छाडा चौपाय व्यवस्थापनका लागि वडा नम्बर ८ को मधुवनधाममा गौशाला निर्माणको काम भईरहेको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटबाट रु. ३० लाख रुपैँया गौशाला निर्माणका लागि छुट्टाइएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले बताउनुभयो । सो गौशाला निर्माणको काम अहिले पनि भईरहेको र आउँदो अशोज महिनाबाट त्यहा छाडा चौपाय राख्नेगरी तयारी भईरहेको उहाँको भनाई छ । गौशालाको अन्य व्यवस्थापन र चौपायको हेरचाह मधुवन धामले नै गर्ने प्रवक्ता पौडेलले बताउनुभयो ।

यस्तै उहाँले छाडा चौपाय आफै छाडा नभएको भन्दै यसको मुख्य जिम्मेवार नगरबासीहरु हुनेपर्ने बताउनुभयो । आम्दानी लिने समय सम्म लिने र त्यस पछि चौपाय छोड्ने प्रवृत्तिले सडकमा चौपायको संख्या बढेको हुँदा यसमा सबै नगरबासी सचेत हुनुपर्ने पनि उहाँको आग्रह छ ।

यस्तै मानवीय क्षति नभए पनि बाणगंगमा बर्षेनी पशु चौपायाको ज्यान सडक दुर्घटनामा जाने गरेको छ । ट्राफिक प्रहरीले छाडा पशुचौपायामा रिफ्लेक्टिभ स्टिकर टाँस्ने काम पनि गरेको छ ।

प्रतिक्रिया

खबर सबै