

‘ह्वाइट टेम्पल’ झल्किने महोत्सव प्रवेशद्वार, स्तूपाको परिक्रमा गर्दै दर्शकले पाउनेछन् प्रवेश



साझाकुरा, कपिलवस्तु । महोत्सवमा प्रवेश गर्नेबित्तिकै बुद्धभूमि लुम्बिनीको झल्को ! आकर्षक सेतो स्तूपा, वरिपरि कलात्मक रेलिङ र परिक्रमा गर्ने व्यवस्था । यो कुनै धार्मिक स्थलको दृश्य होइन, आगामी मंसिर १७ गतेदेखि बाणगंगास्थित बुद्धरंगशालामा सुरु हुने १७औँ कपिलवस्तु महोत्सवको विशेष प्रवेशद्वार हो ।
हरेक वर्ष फरक आकर्षण र नयाँपन प्रस्तुत गर्दै आएको कपिलवस्तु महोत्सवले यसपटक प्रवेशद्वारलाई नै विशेष आकर्षणका रूपमा विकास गर्न लागेको छ । महोत्सवमा आउने दर्शकलाई केवल प्रवेश गराउने मात्र होइन, बुद्धभूमिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको फरक अनुभूति दिलाउने उद्देश्यले लुम्बिनीको विश्व शान्ति स्तूपा अर्थात् ह्वाइट टेम्पलको झल्को दिने प्रवेशद्वार निर्माण गर्न थालिएको हो ।
महोत्सवको तयारीलाई तीव्रता दिइरहेका विभिन्न उपसमितिमध्ये प्रवेशद्वार तथा स्टेज निर्माण उपसमितिले अहिले प्रवेशद्वार निर्माणको काम अघि बढाएको छ । बंगलादेशी कालिगढहरू परिचालन गरी निर्माण थालिएको उक्त प्रवेशद्वार करिब ३५ फिट अग्लो हुनेछ ।
उपसमितिका संयोजक यमलाल पोख्रेल (इन्द्र)का अनुसार यसपटक महोत्सवमा आउने दर्शकले विगतभन्दा फरक र विशेष अनुभूति गर्न सकून् भन्ने उद्देश्यले स्तूपाको स्वरूपमा प्रवेशद्वार निर्माण गर्न लागिएको हो ।
प्रवेशद्वारको जमिनको सतहबाट करिब ६ फिट उचाइमा सिँढी निर्माण गरिनेछ । सिँढी हुँदै माथि पुगेपछि स्तूपाको वरिपरि निर्माण गरिने रेलिङयुक्त संरचनाबाट दर्शकले परिक्रमा गर्न सक्नेछन् । यसरी स्तूपाको परिक्रमा गर्दै महोत्सवस्थल प्रवेश गर्न पाउने व्यवस्था मिलाउन लागिएको आयोजकले जनाएको छ ।
लुम्बिनीमा अवस्थित सेतो मन्दिर अर्थात् ह्वाइट टेम्पल विश्व शान्तिको सन्देश दिने आकर्षक बौद्ध स्तूपाका रूपमा परिचित छ । जापानी बौद्ध भिक्षुहरूको पहलमा निर्माण गरिएको उक्त शान्ति स्तूपा लुम्बिनी पुग्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि विशेष आकर्षण मानिन्छ । त्यही वास्तुकला र स्वरूपको झल्को दिने गरी महोत्सवको प्रवेशद्वार तयार पार्न लागिएको हो ।
बुद्धको जन्मस्थल लुम्बिनी र ऐतिहासिक कपिलवस्तुको सम्बन्धलाई समेत कलात्मक रूपमा जोड्ने यो प्रवेशद्वार महोत्सवको एउटा महत्वपूर्ण पहिचान बन्ने आयोजकको अपेक्षा छ । करिब ३५ फिट अग्लो स्तूपा, आकर्षक संरचना र परिक्रमा गर्ने व्यवस्थाले महोत्सवमा आउने दर्शकलाई मनोरञ्जनसँगै धार्मिक तथा सांस्कृतिक अनुभूति पनि दिलाउने विश्वास गरिएको छ ।
महोत्सवस्थलमा पुग्ने दर्शकका लागि यसपटक प्रवेशद्वार नै पहिलो आकर्षण बन्ने देखिन्छ । व्यापार, कृषि, पर्यटन र मनोरञ्जनका गतिविधिसँगै बुद्धभूमिको पहिचान झल्काउने स्तूपा प्रवेशद्वारले १७औँ कपिलवस्तु महोत्सवलाई थप विशिष्ट बनाउने अपेक्षा गरिएको छ ।
यसपटक महोत्सवको आकर्षण स्टेज र स्टलमा मात्रै सीमित हुने छैन, बुद्धभूमिको पहिचान बोकेको स्तूपाको परिक्रमा गर्दै महोत्सव प्रवेश गर्ने अनुभव पनि दर्शकका लागि नयाँ बन्नेछ ।


खबर सबै
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर
-
१७औँ कपिलवस्तु महोत्सवलाई शैक्षिक र सांस्कृतिक उत्सवका रूपमा विकास गर्ने तयारी







प्रतिक्रिया