

एनपीएलको तेस्रो सिजनको फाइनलमा लुम्बिनी



सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा फाइनल प्रवेश गरेको छ ।
साविक विजेता समेत रहेको लुम्बिनी एनपीएलको इतिहासमा दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि टोली दोस्रो सिजनमा पहिलोपटक फाइल प्रवेश गर्दा सुदूरपश्चिमलाई नै हराएर च्याम्पियन बनेको थियो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा ब्याटर निरोसन डिक्वेलाले अविजित ५२ रनको अर्धशतकीय पारी खेले । जुन टोलीको जितको निम्ति निर्णायक रह्यो ।
एनपीएलमा उनको यो पहिलो अर्धशतक हो । यसअघि लुम्बिनीबाटै दोस्रो सिजन खेले पनि श्रीलंकाका डिक्वेलाले अर्धशतक प्रहार गरेका थिएनन् । उनले ३७ बलमा सात चौका र दुई छक्का प्रहार गरे ।
कप्तान रोहितकुमार पौडेलले २१ रन बनाए । रोहित र निरोसनले तेस्रो विकेटको निम्ति ३८ रनको साझेदारी पनि गरेका थिए । तर, रोहित ९.३ ओभरमा क्याच हुन पुगेपछि साझेदारी तोडिएको थियो ।
यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सन्दीप जोराले आठ रन बनाए । ओपनर आसिफ शेखले चार रन जोडे भने डार्सी सर्ट शून्यमा आउट भए ।
खेलमासुदूरपश्चिमले निरोसनलाई सस्तैमा पभेलियन फर्काउने मौका पनि पाएको थियो । तर, सुदूरपश्चिमले उक्त अवसर सदुपयोग गर्न सकेन । उनी १.१ ओभरमा क्याच आउट हुनबाट जोगिएका थिए ।
उक्त बलिङमा निरोसनले हेमन्त धामीविरुद्ध सटको प्रयास गरेका थिए । अभिनेश बोहराले उनलाई क्याच गर्ने प्रयास पनि गरेका थिए । तर, अन्तिम क्षणमा अभिनासको हातबाट बल ‘ड्रप’ हुनपुगेको थियो ।
सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए । स्कट कुगेलेइन र हेमन्तले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले लुम्बिनीविरुद्ध निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रनको योगफल खडा गरेको थियो ।
सुदूरपश्चिमका निम्ति कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । जारी सिजनमा उनको यो तेस्रो अर्धशतक हो । यसअघि उनले पोखरा एभेन्जर्स र काठमाण्डू गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
सुदूरपश्चिमले पावर प्लेबाटै खराब सुरुआत गरेको थियो । दीपेन्द्रले उक्त स्थितिलाई मध्यक्रममा उकास्ने प्रयास गरे । पावर प्लेमा टोलीले तीन विकेट गुमाएर २० रन बनाएको थियो । दीपेन्द्रले चौथो विकेटको निम्ति इशान पाण्डेसँग ६४ रनको अर्धशतकीय साझेदारी गरे । उनले ५१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।
तर, दीपेन्द्र १९.२ ओभरमा लुम्बिनीका किशोर महतोविरुद्ध लामो सटको प्रयास गर्दा क्याच हुनपुगेका थिए ।
इशानले २७ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटले सात रन बनाए । आरिफले चार जोडे । ओपनर विनोद भण्डारी र थनुका दबारेले समान तीन रन बनाए । थरिनदुले एक रन बनाए भने ओपनर जर्ज मुन्से ‘गोल्डेक डक’ आउट भए ।
लुम्बिनीको निम्ति रुबेन ट्रम्पेलमनले दुई विकेट लिए । उनले पहिलो बलमा मुन्सेलाई गोल्डने डकआउट गर्दै पभेलियन फर्काए । यसपछि दोस्रो विकेटमा दबारे ‘एड्ज’ लागेर विकेटकिपर निरोसनबाट क्याच भए । दोस्रो विकेटपछि सुदूरपश्चिमको रनरेट ३.५० बाट २.६६ मा घटेको थियो । रुबेनको इनिङ सुदूरपश्चिमको पावर प्लेमा कमजोर बनाउन निर्णायक रह्यो ।
शेर मल्लले पनि दुई विकेट लिए । शेरको इनिङ सुदूरपश्चिममाथि दबाब बढाउन महत्त्वपूर्ण रह्यो । उनले १५.१ ओभरमा थरिन्दुलाई बोल्ड गरे । त्यसैगरी दोस्रो विकेटको रुपमा उनले १७.५ ओभरमा आरिफलाई क्याचको शिकार बनाए । आरिफले शेरविरुद्ध लामो सटको प्रयास गर्दा डार्सीले सहजै क्याच गरेका थिए । यी दुई विकेटपछि टोलीको ब्याटिङ विकल्प समाप्त भएको थियो ।
किशोर महतो र अभिषेक गौतमले समान एक विकेट लिए ।
हारसँगै सुदूरपश्चिमले सोझै फाइनल प्रवेश गर्ने सुनौलो अवसर गुमाएको छ । टोलीले यस सिजन भएको दुवै भेटमा टोलीसँग पराजय भोगेको छ । दुवै सिजन उपाविजेतामा सीमति भएको यो टोलीले अब फाइनल पुग्न काठमाण्डू गोर्खाज र चितवन राइनोजबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


खबर सबै
-
जय शाह दोस्रो कार्यकालका लागि आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित
-
१४९ रुपैयाँमा झर्यो अमेरिकी डलरको मूल्य
-
एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
कपिलवस्तुमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी पुरस्कृत
-
स्थानीय तह निर्वाचनको मिति घोषणा हुँदै, निर्वाचन आयोगले दियो चैत ५ को डेडलाइन
-
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न
-
कपिलवस्तुमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी पुरस्कृत
-
स्थानीय तह निर्वाचनको मिति घोषणा हुँदै, निर्वाचन आयोगले दियो चैत ५ को डेडलाइन
-
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न
-
दाङमा दुई दिनमा ३२ जना समातिए जुवा खालबाट, १० लाख रूपैयाँ बरामद
-
आइसीसीले परिवर्तन गर्यो विश्वकप छनोटको संरचना
-
अर्घाखाँची : गोल नपाउँदा पुर्ख्यौली पेसा सङ्कटमा







प्रतिक्रिया