कपिलवस्तुमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी पुरस्कृत

साझाकुरा, कपिलवस्तु । शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रणमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रहरी कर्मचारी र इलाका प्रहरी कार्यालय पिपरालाई पुरस्कृत गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले प्रहरी युनिट प्रमुखहरूको उपस्थितिमा समसामयिक विषयमा निर्देशन तथा सम्बोधन गर्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी र प्रहरी कार्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो।

यस क्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरमा कार्यरत प्रहरी सहायक हवल्दार भक्तबहादुर रानालाई ‘Best Police of the Month’ घोषणा गर्दै सम्मान गरिएको छ। त्यस्तै, अन्य उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीलाई प्रशंसापत्रसहित पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी, प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा रहेको इलाका प्रहरी कार्यालय पिपरालाई पनि उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कृत गरिएको छ। कार्यालयले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा कायम, अपराध अनुसन्धान तथा नियन्त्रण, भन्सार छली, लागूऔषध ओसारपसार र चोरी निकासी नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

प्रहरी र नागरिकबीचको सम्बन्ध सुदृढ बनाउँदै नागरिकको जीउधनको सुरक्षा तथा गैरकानुनी गतिविधि नियन्त्रणमा देखाएको सक्रियता र जिम्मेवारीबोधको उच्च मूल्याङ्कन गर्दै पिपरा प्रहरी कार्यालयलाई पुरस्कृत गरिएको हो।

प्रहरी कर्मचारी तथा कार्यालयको उत्कृष्ट कार्यसम्पादनको कदरले मनोबल र जिम्मेवारीबोध बढाउनुका साथै आगामी दिनमा प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रेरणा मिल्ने विश्वास जिल्ला प्रहरी कार्यालयले लिएको छ।

जिल्ला प्रहरी कार्यालयमा कात्तिक ३० गते आयोजित कार्यक्रममा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।

प्रतिक्रिया

खबर सबै