उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

 भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार रहेको हेलिकप्टर दुर्घटना भएको छ । राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार चमोली जिल्लाको जोशीमठ नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्गम पहाडी क्षेत्रमा रहेको घटनास्थलमा उद्धार टोली परिचालन गरिएको भए पनि विमानमा सवार व्यक्तिहरूको अवस्था भने अझै खुल्न सकेको छैन ।

उक्त हेलिकप्टर शुक्रबार अपराह्न बद्रीनाथबाट उडेलगत्तै सम्पर्कविहीन भएको थियो । दुर्घटनाको कारण पनि हालसम्म खुलेको छैन। प्राप्त जानकारी अनुसार सो क्षेत्रमा भारी वर्षा र खराब भिजिबिलिटी रहेको थियो । हाल सो क्षेत्रमा भारी वर्षा भइरहेको जनाइएको छ । भारतको मौसम विभागले यसअघि नै उक्त क्षेत्रमा मेघ गर्जन, असिना र तीव्र हावाहुरीको चेतावनी दिएको थियो । मुख्यमन्त्री धामीले जिल्ला प्रशासन, जिल्ला आपत्कालीन व्यवस्थापन विभाग र राज्य आपत्कालीन प्रतिक्रिया बलको संयुक्त सहभागितामा उद्धार कार्य भइरहेको बताएका छन् ।

सम्पूर्ण घटनाको निरन्तर अनुगमन गरिरहेको बताउँदै मुख्यमन्त्री धामीले गम्भीर घाइते भएका जो कोहीलाई पनि तत्काल हेलिकप्टरबाट एयरलिफ्ट गरेर उपचारका लागि लैजान आदेश दिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

खबर सबै