अर्घाखाँचीको रङसिङ खोलामा बनेको पक्की पुलको उद्घाटन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र वडा नम्बर ९ जोड्ने रङसिङ खोलामा निर्माण भएको पक्की पुलको उद्घाटन गरेका छन् ।

आइतबार आयोजित कार्यक्रममा पुल उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पुल निर्माणपछि वर्षायाममा स्थानीयवासीले भोग्दै आएको आवतजावतको समस्या समाधान भएको बताए । उनले निर्माण भएका पूर्वाधारको संरक्षणमा स्थानीय समुदाय र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताए ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सडक, पुल, खानेपानी, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै विकाससँगै निर्माण भएका संरचनाको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले पुल निर्माण जनप्रतिनिधिको साझा प्रयासको उपलब्धि भएको बताए । उनले पुलले शितगंगाका दुर्गम बस्तीलाई विकासको मूलधारसँग जोड्न सहयोग पुग्ने बताए ।

पुल निर्माणसँगै शितगंगा–११ र ९ का स्थानीयवासीको दैनिक आवागमन सहज हुनुका साथै स्थानीय उत्पादनको बजारीकरण, विद्यार्थीको विद्यालय आवतजावत र स्वास्थ्य उपचारका लागि अस्पताल पुग्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

खबर सबै