आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह

पश्चिमी भूभागमा वर्षाको प्रभाव कायमै रहने भएसँगै मौसम विज्ञान विभागले आइतबारसम्म पश्चिम नेपालका अधिकांश भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहने जनाएको छ।

विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल न्यून चापीय प्रणाली भारतको उत्तर प्रदेश तथा आसपासको क्षेत्रमा अवस्थित छ। उक्त प्रणाली कमजोर अवस्थामा बिस्तारै नेपालतर्फ सर्ने भएकाले पश्चिमी भूभागमा यसको प्रभाव बढी पर्ने देखिएको हो।

उनका अनुसार आइतबार दिउँसोसम्म बागमती प्रदेशका पश्चिमी भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा मौसम प्रभावित हुनेछ। तीमध्ये केही स्थानमा भारीदेखि धेरै भारी वर्षासमेत हुन सक्ने विभागले जनाएको छ।

पछिल्ला केही दिनदेखि लगातार वर्षा भइरहेकाले पहाडी तथा कमजोर भौगोलिक क्षेत्रहरूमा पहिरोको जोखिम उच्च रहेको लामिछानेले बताए। वर्षाका कारण सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न उनले आग्रह गरेका छन्।

‘भोलिसम्मका लागि यात्राको योजना नबनाउनु होला। अति आवश्यक अवस्था भए प्रहरीसँग सम्पर्क गरी बाटोको अवस्था बुझेर मात्र यात्रा गर्नुहोला,’ लामिछानेले भने।

वर्षाको सम्भावनाका कारण किसानलाई समेत धान नकाट्न मौसमविद्ले आग्रह गरेका छन्। मौसम खुलेपछि मात्र अवस्थाको मूल्यांकन गरेर धान काट्ने योजना बनाउन सुझाव दिइएको छ।

पूर्वी नेपालमा भने वर्षाको प्रभाव क्रमशः घट्दै गएको छ। पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि पश्चिम नेपालमा आइतबार दिउँसोसम्म वर्षाको प्रभाव रहने विभागको अनुमान छ।

लामिछानेका अनुसार सोमबारदेखि भने देशभरकै मौसममा सुधार आउने सम्भावना छ। त्यसपछि मात्र नियमित काम तथा यात्रा योजना बनाउन उनले सुझाव दिएका छन्।

प्रतिक्रिया

खबर सबै