बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण

 लगातारको भारी वर्षासँगै नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता बस्ती डुबानमा परेपछि करिब ४०० जनालाई स्थानीय होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ । नदीको बहाव बढ्दै जाँदा बस्तीका अधिकांश घरमा पानी पसेपछि बाँकी नागरिकलाई समेत सुरक्षित स्थानमा ल्याउने तयारी गरिएको छ ।

नारायणी नदीको बहाव तीव्र गतिमा बढ्दै जाँदा सुस्ताको थारु टोल, पहाडिया टोल, सैनिक टोल तथा बड्का टोल जलमग्न भएका छन् । बाढीबाट बस्तीका करिब १७० घर प्रत्यक्ष प्रभावित भएका छन् । नदीले बस्ती नजिकैबाट करिब ५० देखि ६० मिटर क्षेत्रमा तीव्र कटान गरिरहेकाले सिङ्गो बस्ती नै थप जोखिममा परेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र नेपालका अनुसार नारायणी नदी ओभरफ्लो भएर बस्तीमा पानी पसेपछि सुरक्षा निकाय र स्थानीयवासीको संयुक्त प्रयासमा हालसम्म करिब ४०० जनालाई उद्धार गरी सुस्ताकै होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।

“नदीको बहाव अझै बढिरहेकाले पारि रहेको होल्डिङ सेन्टरमा मात्रै सबै नागरिक अट्ने र सुरक्षित हुने अवस्था छैन,” उहाँले भन्नुभयो, “सोही कारण उहाँहरूलाई झोलुङ्गे पुल वारी ल्याएर दिव्यज्योति तथा बीपी मेमोरियल स्कुललगायत सुरक्षित आश्रयस्थलमा स्थानान्तरण गर्ने काम अघि बढाइएको छ ।”

बाढीको जोखिम बढेसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय विपद् व्यवस्थापन समितिको टोली उद्धारमा खटिएको छ । प्रभावित नागरिकलाई उद्धार गरी तत्कालका लागि सुस्तास्थित होल्डिङ सेन्टर, सामुदायिक भवन तथा अग्ला सुरक्षित स्थानमा राखिएको छ ।

स्थानीयवासी मुन्सी हरिजनका अनुसार सुस्तामा पाँचदेखि छ फिटसम्म पानी जमेको छ । घरभित्र पानी पसेपछि जनजीवन प्रभावित भएको छ । डुबानसँगै नारायणी नदीले तीव्र रूपमा कटान गरिरहेकाले खेतीयोग्य जमिनसँगै सिङ्गो बस्ती नै नदीमा खस्ने जोखिम बढेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार सुस्ताका अधिकांश घरमा पानी पसेकाले बाढी प्रभावित नागरिकलाई हाल सुस्तामै रहेको होल्डिङ सेन्टर, सामुदायिक भवन तथा अग्ला सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

उहाँका अनुसार सुस्ताको अवस्था संवेदनशील रहेकाले आज बेलुकासम्म अधिकांश सुस्तावासीलाई नारायणी नदी तारेर सुस्ता वारीका विद्यालय तथा अन्य सुरक्षित आश्रयस्थलमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले नारायणीको बाढी र तीव्र कटानका कारण सुस्तावासीको अवस्था जोखिमपूर्ण बनेको बताउनुभयो । “सुस्ताका अधिकांश घर डुबानमा परिसकेका छन्, मानिसहरू अत्यन्तै डर र त्रासमा छन्,” उहाँले भन्नुभयो, “डुबानमा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा लैजान र उद्धार कार्यलाई तीव्र बनाउन आवश्यक छ ।” हाल डुबान प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी उद्धार कार्य जारी राखिएको छ ।

प्रतिक्रिया

खबर सबै