अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह

कपिलवस्तु | आगामी असोज ९ गतेदेखि ११ गतेसम्म लुम्बिनी प्रदेशमा अत्यधिक भारी वर्षाको सम्भावना रहेको भन्दै बाणगंगा नगरपालिकाले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जलवायु तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाको सूचनाअनुसार आगामी तीन दिन लुम्बिनी प्रदेशमा अत्यधिक भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। भारी वर्षाका कारण बाणगंगा नगरपालिका क्षेत्रभित्रका बाणगंगा खोला, घिरई खोला र कोइली खोलामा जलस्तर खतराको तहभन्दा माथि जान सक्ने तथा तटीय क्षेत्रसहित होचा भू–भागहरू डुबानबाट गम्भीर रूपमा प्रभावित हुन सक्ने जोखिम रहेको नगरपालिकाले जनाएको छ।

नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बाणगंगा, घिरई र कोइली खोला आसपासका तटीय क्षेत्र तथा डुबानको जोखिममा रहेका वडाका बासिन्दालाई आगामी तीन दिन विशेष चनाखो भई उच्च सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको हो।

नगरपालिकाले बाढी वा डुबानको संकेत पाउनासाथ तुरुन्त सुरक्षित स्थान, अग्लो भू–भाग वा तोकिएका आश्रयस्थलमा सर्न आग्रह गरेको छ। सम्भावित विपद्लाई ध्यानमा राख्दै आवश्यक कागजात, सुक्खा खानेकुरा, पिउने पानी, टर्चलाइटलगायतका सामग्री तयारी अवस्थामा राख्नसमेत भनिएको छ।

त्यस्तै, आपत्कालीन अवस्थामा उद्धार, राहत तथा पूर्वतयारीका काममा स्थानीय युवा क्लब, टोल विकास संस्था, नागरिक समाज तथा राजनीतिक दलहरूले सुरक्षा निकाय र नगरपालिकासँग आवश्यक समन्वय गरी एकजुट हुन नगरपालिकाले आग्रह गरेको छ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै नागरिकले पूर्वतयारी र सतर्कतालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

उहाँले “मौसम पूर्वानुमानअनुसार आगामी केही दिन भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोला आसपास र डुबानको जोखिममा रहेका क्षेत्रका नागरिकलाई विशेष सतर्क रहन आग्रह गरेका छौँ । बाढी वा डुबानको संकेत देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जानुहोस्। विपद्को समयमा नगरपालिका, सुरक्षा निकाय र समुदायबीच समन्वय गरेर उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउने तयारी गरिएको छ,” भन्नुभयो ।

नगरपालिकाले बाढी तथा डुबानको जोखिम वा कुनै पनि आपत्कालीन अवस्था आएमा सम्बन्धित वडाका जनप्रतिनिधि, टोल विकास समिति वा नगरपालिकाले उपलब्ध गराएका आपत्कालीन सम्पर्क नम्बरमा तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

नगरपालिकाले जारी गरेको सूचनाको अन्त्यमा ‘विपद्को घडीमा सचेत बनौँ, सुरक्षित रहौँ र विपद् पूर्वतयारीमा एकजुट होऔँ’ भन्ने सन्देशसमेत दिएको छ ।

प्रतिक्रिया

खबर सबै