

बँदेल मार्न अनुमति कुर्दै किसान



अर्घाखाँचीमा बँदेलले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूलमा क्षति पुर्याउन थालेपछि बँदेल मार्ने सिकार अनुज्ञापत्र (लाइसेन्स) का लागि २९ जनाले आवेदन दिएका छन् । आवेदन परेको लामो समय बितिसक्दा पनि अनुज्ञापत्र स्वीकृत नहुँदा किसान भने बाली जोगिने दिनको प्रतीक्षामा छन् ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले वन्यजन्तुबाट हुने बालीनालीको क्षति न्यूनीकरणका लागि हातहतियार राख्ने अनुमति भएका इच्छुक नेपाली नागरिकबाट सिकार अनुज्ञापत्रका लागि आवेदन माग गरेको थियो । कार्यालयले गत भदौ ५ गते सूचना प्रकाशित गरी जिल्ला सिकार अनुज्ञापत्रका लागि निवेदन आह्वान गरेको थियो ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार आवेदन दिने २९ जनामध्ये जिल्लाभित्रका तीन जना मात्रै छन् । सङ्कलित निवेदन जिल्ला सुरक्षा समितिमा छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । समितिले सिकारका लागि कुन क्षेत्र तोक्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा माथिल्लो निकायमा लेखी पठाएको छ ।
जिल्ला सुरक्षा समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश जिसीले प्रक्रिया पूरा भएका कागजात माथिल्लो निकायमा पठाइएको बताउनुभयो ।बँदेलको उपद्रोका कारण किसानले भने तत्काल समस्या समाधान हुने अपेक्षा गरेका छन् । मालारानी गाउँपालिका–५ आरुखोरका शोभाकर खत्रीका अनुसार रातको समयमा बँदेल बारीमा पसेर पाक्दै गरेको अन्नबाली नष्ट गर्ने गरेको छ । उहाँले भन्नुभयो, “बँदेल राति कतिबेला बारीमा पस्छ थाहै हुँदैन । ड्युटी बसेर हेर्दा पनि आँखा छलेर छिनभरमै बाली खाइदिन्छ ।”
किसानका अनुसार दिउँसो बाँदरको समूहले अन्नबालीमा क्षति पुर्याउने र राति बँदेलले नोक्सान गर्ने गरेका कारण खेती जोगाउन मुस्किल परेको छ । मालारानी गाउँपालिका–३, खनदहका फर्सुराम खनालले बँदेल नियन्त्रणका लागि सिकार अनुमति पाएपछि गाउँका किसानलाई राहत पुग्ने अपेक्षा गर्नुभएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्काले कृषकको समस्यालाई ध्यानमा राखेर कानुनले दिएको अधिकारभित्र रहेर प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँका अनुसार बँदेलको सिकारका लागि क्षेत्र, समय र दिन तोकेर मात्रै अनुमति दिइने छ ।
वन कार्यालयका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ९ (१) को अनुसूची १ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ११ बमोजिम सिकार अनुज्ञापत्र वितरणको तयारी गरिएको हो । कार्यालयले जारी गरेको सूचना अनुसार अनुज्ञापत्रका लागि सात हजार रुपियाँ राजस्व र एउटा बँदेल मारेबापत थप पाँच हजार रुपियाँ राजस्व तिर्नुपर्ने छ । अनुज्ञापत्र प्राप्त गरेपछि तोकिएको क्षेत्र, दिन र समयमा मात्रै सर्तसहित सिकार गर्न पाउने व्यवस्था गरिएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया