३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन


कपिलवस्तु | बाराको जितपुर सिमराकी ३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुसहित ठाउँठाउँमा प्रदर्शन भएको छ । तीन वर्षीय बालिकाको विभत्स हत्याको विरोधमा शनिवार कपिलवस्त्ॉको चारनम्बर जितपुरमा नागरिकहरु स्वतःस्फूर्त रूपमा विरोध प्रदर्शनमा उत्रिएका हुन ।

यस्तै सोही तरिकाले शनिबार नै बुटवलमा पनि नागरिकहरुले बालिकाको पक्षमा आवाज उठाउँदै घटनाको सत्यतथ्य छानविनको माग गरे । सयौँको सङ्ख्यामा रहेका महिलाहरूले शनिवार बुटवलमा बिहान ११ बजे ट्राफिक चोकबाट प्रदर्शन सुरु गरेका थिए भने यता कपिलवस्तुमा चारनम्बर जितपुर बजारक्षेत्रबाट नागरिकहरुले अबोध बालिकाको बलात्कार र हत्यामा संलग्नहरूलाई हदैसम्मको सजाय गरी गरिमालाई न्याय दिन र छोरीहरूको सुरक्षाको माग गरेका थिए ।

सामाजिक सञ्जाल टिकटकमार्फत अनिता पौडेलले आह्वान गरेको एक अपिलका आधारमा गरिमाको न्यायको लागि समर्थकहरु शनिबार सडकमा उत्रिएका थिए ।

उक्त प्रर्दशन इलाका प्रहरी कार्यालय पिपरा पुगेर कोणसभामा परिणत भएको थियो । उता बुटवलमा बुटवल उपमहानगरपालिका कार्यालय, इलाका प्रहरी कार्यालय र तुलसीपुर उच्च अदालत बुटवल इजलासमा पुगेर केहिबेर धर्ना सहित प्रदर्शन भएको थियो ।

हात हातमा प्ले कार्ड र कालो ब्यानर सहित निस्किएका प्रदर्शनकारीले बालिका गरिमाको राक्षसी, क्रूर तथा अमानवीय तरिकाले बलात्कार र हत्या गरेको भन्दै उनीहरूलाई हदैसम्मको कारबाही गर्न माग गरेका थिए। बालिका बलात्कार र हत्या गर्नेहरूलाई कडा कारबाही हुन नसक्दा नेपाल यस्ता घटना दोहोरिँदै गएको भन्दै यस्ता घटनामा संलग्नहरूलाई हदैसम्मको कारबाहीको व्यवस्था गर्नुपर्ने माग गरे।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नंं १ दशधुरे स्थित सुकुम्वासी बस्तीकी गरिमा आइतबार बिहान करिब साढे ८ बजेबाट बेपता भएकी थिइन्।

स्थानीय सरस्वती आधारभूत विद्यालयमा प्ले ग्रुपमा भर्ना भएकी गरिमा बेपत्ता भएपछि खोजी गर्दै जाँदा प्रहरीले मङ्गलवार साँझ मात्र घरदेखि दुई सय मिटर नजिकैको एउटा खाली घरमा उनको शव फेला पारेको थियो। गाउँको बिचमा रहेको खाली घरबाट दुर्गन्ध आउन थालेपछि प्रहरीले खोजी गर्दा कपडामा पोको पारेर फालिएको अवस्थामा उनको शव फेला पारेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गरिमा घरबाट बेपत्ता भएपछि उनलाई जितपुरसिमरा– २ बस्ने १६ वर्षीय सुमन थापाले चकलेट दिएर ललाइफकाई गरेको र घटनास्थलमा लगेको खुलेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ वर्षीय सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुर–सिमरा– १ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ ।


घटनाको वास्तविक कारण, घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको तथा घटनाको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै