कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब

कपिलवस्तु | अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका–९ भलवाडमा मानसिक स्वास्थ्य तथा साइबर सचेतना कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ कपिलवस्तुको आयोजनामा बुधबार खोजिपुर सामुदायिक वनको सभाहल, जिनुवामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा वडा नं. ९ भलवाडभित्रका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, स्थानीय युवा क्लबका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, आमा समूहलगायत विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

युवावर्गमा बढ्दै गएको मानसिक तनाव, त्यसको कारण र व्यवस्थापनका उपायबारे प्रशिक्षक उमेश आचार्यले प्रशिक्षण दिएका थिए। उनले सामाजिक प्रभाव, व्यक्तिगत आनीबानी तथा सोच्ने शैलीका कारण आधुनिक समाजमा मानसिक तनाव र मनोसामाजिक समस्या बढ्दै गएको बताए।

विशेषगरी विद्यालय उमेरका बालबालिका तथा युवामा अध्ययनको दबाब, सामाजिक अपेक्षा, पारिवारिक तथा व्यक्तिगत समस्या र बदलिँदो जीवनशैलीका कारण मानसिक तनाव बढ्न सक्ने भन्दै उनले समयमै समस्या पहिचान गरी खुलेर संवाद गर्नुपर्नेमा जोड दिए। मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यजत्तिकै महत्व दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा साइबर सुरक्षाबारे प्रशिक्षणसमेत दिइएको थियो। इलाका प्रहरी कार्यालय पिपराका रोहित विश्वकर्माले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराधबाट बच्ने उपाय तथा अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमार्फत सम्बन्ध स्थापित गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराएका थिए।

उनले सामाजिक सञ्जालको गलत प्रयोग, अपरिचित व्यक्तिसँगको अनावश्यक कनेक्सन, व्यक्तिगत सूचना तथा तस्बिरको असावधानीपूर्ण प्रयोगलगायतका कारण साइबर अपराध तथा त्यससँग सम्बन्धित घटना बढिरहेको बताए। प्रविधिको प्रयोगसँगै डिजिटल सुरक्षा र जिम्मेवार व्यवहारबारे पनि सचेत हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपालका डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन सन्दिप कसौधनको प्रमुख आतिथ्यता रहेको थियो। एमजेएफ अर्जुनमान सैँजु तथा बाणगंगा–९ का वडा अध्यक्ष कमल पौडेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तुका पूर्वअध्यक्षहरू कृष्ण के.सी., धातानन्द भुसाल, सुरेन्द्र घिमिरे, नारायण पौडेललगायतको आतिथ्यता रहेको थियो।

युवामा देखिँदै गएको मानसिक स्वास्थ्य चुनौती र प्रविधिको बढ्दो प्रयोगसँगै निम्तिन सक्ने साइबर जोखिमबारे एकैपटक सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। विद्यालय उमेरदेखि नै मानसिक स्वास्थ्य र साइबर सुरक्षाबारे व्यवहारिक ज्ञान दिन सके भविष्यमा देखिन सक्ने विभिन्न जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने सहभागीहरूको धारणा थियो।

लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष सुमन क्षेत्रीको अध्यक्षता, मिडिया कोअर्डिनेटर राजेन्द्र खनालको संयोजकत्व तथा सचिव प्रेम पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया

खबर सबै