बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु

साझाकुरा, भलवाड | कपिलवस्तुको बाणगंगा नगरपालिका–९ जिनुवामा शनिबार एक ११ वर्षीय बालकको कुलोमा डुबेर मृत्यु भएको छ। स्थानीयवासीलाई स्तब्ध बनाउने यो घटनामा जिनुवा निवासी सुजित रानाले ज्यान गुमाएका हुन्।
स्थानीयका अनुसार सगरमाथा विद्या मन्दिर विद्यालय नजिक रहेको पानीले भरिएको कुलोमा माछा मार्ने क्रममा उनी डुबेका थिए। केही समयसम्म बालक सम्पर्कविहीन भएपछि खोजी गर्दा कुलोभित्र डुबेको अवस्थामा फेला परेका थिए।

मृतक सुजित राना सगरमाथा विद्या मन्दिर विद्यालयको कक्षा ५ मा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ। उनको असामयिक निधनले विद्यालय, परिवार तथा समग्र गाउँ शोकमग्न बनेको छ।

बाणगंगा नगरपालिका–९ का वडा अध्यक्ष कमल पौडेलले घटनाको पुष्टि गर्दै बालकको मृत्यु भएको जानकारी दिएका छन्। घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलबाट स्थानीयले दिएको जानकारी अनुसार मृतक बालक साथीहरुसँग माछा मार्नै उद्देश्यले उक्त कुलो -घोला)मा दिउसो गएका थिए । बल्छिले माछा मार्ने क्रममा बल्छि पानी भित्र अल्झिएपछि कुलामा प्रवेश गरेका बालक सोही कुलोमा डुबेका थिए । उनीको समयमै उद्धार नहुँदा मृत्यु भएको जनाइएको छ ।

मृतक बालक आफ्नो फुपु दिदीको घरमा बस्दै आएका थिए । उनका बाबु आमा हाल रोजागरीको शीलशिलामा भारतमा रहेका जानकारी प्राप्त भएको छ ।

प्रहरीले घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मृतक बालकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको बताइएको छ।

यस घटनाले खुला तथा असुरक्षित जलाशय, कुलो र पानी जम्ने स्थानहरू बालबालिकाका लागि कति जोखिमपूर्ण हुन सक्छन् भन्ने विषयलाई फेरि एकपटक उजागर गरेको छ।

प्रतिक्रिया

खबर सबै