

अदालत–प्रहरीसँग पहुँच भएको दाबी गर्दै ठगी, ५ लाख ६२ हजार असुल्ने कपिलवस्तु प्रहरी फन्दामा


अदालत र प्रहरीमा आफ्नो बलियो पहुँच रहेको दाबी गर्दै जेलमा रहेका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाएर पाँच लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ बालानगर निवासी ३६ वर्षीय जग्गु तेली रहेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार तेलीले बाणगंगा नगरपालिका–४ गजेहडा निवासी ६५ वर्षीय अब्दुल मोविन मुसलमानलाई उनका छोरा अकबर अलीको मुद्दा मिलाइदिने र कारागारबाट छिट्टै छुटाइदिने आश्वासन दिँदै विभिन्न मितिमा पटक–पटक गरी ५ लाख ६२ हजार रुपैयाँ असुलेका थिए।
प्रहरीका अनुसार अकबर अली २०८१ असोज ३० गते दर्ता भएको सवारी ज्यानसम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय तौलिहवा चलान भएका थिए। उनी करिब डेढ महिनाअघि कारागारबाट छुटिसकेका छन्। सोही मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका जग्गु तेली भने २०८२ जेठ १ गते रिहा भएका थिए।
रिहाइपछि तेलीले अकबर अलीका बुवालाई भेट्दै आफू प्रहरी, अदालत तथा विभिन्न सरकारी निकायमा प्रभावशाली व्यक्तिसँग पहुँच भएको दाबी गरेका थिए। उनले छोरालाई चाँडै कारागारबाट छुटाइदिने भन्दै विश्वास दिलाएर पटक–पटक रकम लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार तेलीले कारागारभित्रैबाट पीडित परिवारसँग सम्बन्ध स्थापित गरी विश्वास जितेका थिए। बाहिरिएपछि त्यही विश्वासलाई आधार बनाएर रकम असुलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो। त्यसक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय बहादुरगञ्जबाट खटिएको संयुक्त टोलीले तेलीलाई शिवराज नगरपालिका–७ रुपपुर क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीले तेलीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।


खबर सबै
-
डुबानमा पर्दै एसियाकै ठुलो शिला शालिग्राम
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
लुम्बिनीसहित कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान
-
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
-
बाँकेमा इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
-
बिल नलिने–नदिने प्रवृत्तिमाथि विभाग कडा, सबैलाई कर प्रणालीमा आउन आह्वान
-
दाङमा एन्टी स्नेक भेनम अभाव, सर्पदंशका बिरामीको उपचार संकटमा
-
रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो
-
आयात बढे पनि भान्छामा ग्यास अभाव: समस्या आपूर्तिमा कि वितरणमा?






प्रतिक्रिया