२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा कपिलवस्तुको गोरुसिङ्गेमा व्यक्तित्व–कृतित्व परिचर्चा तथा रचना वाचनसहित विविध साहित्यिक कार्यक्रम सम्पन्न गरिएको छ।

दधी–स्मृति साहित्य समाज, कपिलवस्तुको आयोजना तथा पशुपति मन्दिर व्यवस्थापन समिति, गोरुसिङ्गेको समन्वयमा सम्पन्न कार्यक्रममा साहित्यकार, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, समाजसेवी तथा स्थानीय साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मोहन ज्ञवालीले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र साहित्यका अमूल्य धरोहर भएको उल्लेख गर्दै उहाँका कृतिले नेपाली समाजमा भाषा, संस्कृति तथा राष्ट्रिय एकताको भावना सुदृढ बनाउन ऐतिहासिक भूमिका खेलेको बताउनुभयो। उहाँले भानुभक्तका सिर्जनालाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता साहित्यिक कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो।

वरिष्ठ साहित्यकार हरिराज शर्माले भानुभक्तको साहित्यिक योगदान आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै नयाँ पुस्ताले उहाँका आदर्श र सिर्जनाबाट प्रेरणा लिएर नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो।

दधी–स्मृति साहित्य समाजका अध्यक्ष दुर्गाप्रसाद अधिकारीले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उहाँको जीवन, साहित्यिक यात्रा तथा नेपाली भाषाको विकासमा पुर्‍याएको अतुलनीय योगदानबारे चर्चा गर्नुभयो। उहाँले भानुभक्तका कृतिहरू आज पनि नेपाली समाजका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै साहित्यिक विरासतको संरक्षण र प्रवर्द्धनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।

बाणगंगा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद घिमिरेले आदिकवि भानुभक्तलाई नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनाका अनुपम व्यक्तित्वका रूपमा स्मरण गर्दै उहाँका कृतिले नेपाली भाषालाई जनजनसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्योतिप्रसाद भुसाल, उपाध्यक्ष लुमाकान्त बेलबासे तथा सचिव गणेश अवस्थीले पशुपति मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी गराउँदै आ–आफ्ना शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। भजन मण्डलीले रामायणमा आधारित भजन प्रस्तुत गरी कार्यक्रमलाई थप आध्यात्मिक एवं सांगीतिक बनाएको थियो।

साहित्यिक सत्रअन्तर्गत लिलामणि आचार्य, सन्ध्या खनाल, निशा कडेल, बुद्धिसागर बेल्बासे, डिल्लीराम भट्टराई, टुपप्रसाद अधिकारीलगायतका स्रष्टाहरूले आदिकवि भानुभक्तका रचनासहित आफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो। रचना वाचनमार्फत भानुभक्तप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाली भाषा र साहित्यप्रतिको सम्मान अभिव्यक्त गरिएको थियो।

दधी–स्मृति साहित्य समाजका अध्यक्ष दुर्गाप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष कविराज भण्डारीले गर्नुभएको थियो भने सञ्चालन सचिव राधा पाण्डेले गर्नुभएको थियो।

सहभागीहरूले यस्ता साहित्यिक कार्यक्रमले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया

खबर सबै