

संघीय सांसद बन्ने दाउ उल्टियो : लुम्बिनीका तीन पूर्वमन्त्री चुनावमा नराम्ररी पराजित




प्रदेशसभा छाडेर प्रतिनिधिसभा दौडमा हाम्फालेका चारमध्ये रास्वपाका कन्हैया बनिया मात्रै सफल, मास्की, केसी र चौधरीलाई मतदाताले अस्वीकार |
लुम्बिनी — संघीय सांसद बन्ने महत्वाकांक्षाका साथ लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा होमिएका तीन पूर्वमन्त्रीलाई मतदाताले कडा झट्का दिएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेशसभा छाडेर मैदानमा उत्रिएका चार नेतामध्ये एक जना मात्रै सफल भएका छन् भने तीन जना नराम्ररी पराजित भएका छन्।
रूपन्देही–४ बाट उम्मेदवारी दिएका कन्हैया बनिया भने सफल भएका एक मात्र नेता बने। २०७९ को प्रदेशसभा निर्वाचनमा रूपन्देही–४ (क) बाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका बनिया चुनावअघि पार्टी र सांसद पद त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए।
त्यतिबेला प्रदेश सरकारमा मन्त्री बन्ने आकांक्षा पूरा नभएपछि असन्तुष्ट बनेका बनियाले संघीय राजनीति रोजेका थिए। अन्ततः उनले २८ हजार ६६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रमोद यादवले २० हजार २६२ मत र कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरे।
तर संघीय सांसद बन्ने सपना बोकेर प्रदेशसभा सदस्य पद छाडेका अन्य तीन नेता भने मतदाताबाट अनुमोदित हुन सकेनन्।
दाङ–३ मा प्रदेशसभा सदस्यबाट राजीनामा दिएका धनबहादुर मास्की चौथो स्थानमा सीमित भए। २०७९ को चुनावमा कांग्रेससँगको गठबन्धनबाट तत्कालीन माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका मास्की पछि प्रदेश सरकारमा अर्थमन्त्री समेत बनेका थिए। तर प्रतिनिधिसभा चुनावमा उनी ९ हजार ३२८ मत मात्रै ल्याएर चौथो स्थानमा खुम्चिए। यहाँ रास्वपाका कमल सुवेदी ४४ हजार २४८ मतसहित विजयी भए।
त्यस्तै बाँके–१ बाट प्रतिनिधिसभा चुनाव लड्न प्रदेशसभा सदस्य पद त्यागेकी कृष्णा केसी (नमुना) पनि चुनावमा कमजोर प्रदर्शन गर्दै छैटौं स्थानमा पुगिन्। २०७९ मा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएकी केसी यस पटक प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी थिइन्। तर उनले १ हजार २४० मत मात्रै प्राप्त गरिन्। यहाँ रास्वपाका सुरेशकुमार चौधरी ३२ हजार ७९२ मतसहित विजयी भए।
त्यसैगरी बर्दिया–२ बाट प्रदेशसभा सदस्य र भौतिक पूर्वाधार मन्त्री समेत बनेका धर्मराज चौधरी पनि संघीय सांसद बन्ने दौडमा असफल भए। नागरिक उन्मुक्ति पार्टी परित्याग गरेर उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिएका चौधरी ४ हजार ४७२ मतसहित पाँचौं स्थानमा सीमित भए। यहाँ रास्वपाका श्रीधर पोखरेल २९ हजार ६७८ मतसहित निर्वाचित भए।
प्रदेश राजनीतिमा प्रभावशाली मानिएका यी नेताहरूले संघीय संसद्को आकांक्षामा प्रदेशसभा सदस्य पद नै त्यागेर चुनावी मैदान रोजेका थिए। तर मतदाताले उनीहरूको निर्णयलाई अनुमोदन नगर्दा तीन पूर्वमन्त्रीको संघीय यात्रा सुरु नहुँदै टुंगिएको छ।
विशेषगरी यस निर्वाचनमा रास्वपाको उदयले पुराना दल र नेताहरूलाई चुनौती दिएको विश्लेषण गरिएको छ। प्रदेशको सत्तामा रहिसकेका नेताहरू समेत पराजित हुनु मतदाताको बदलिँदो मनोविज्ञानको संकेतका रूपमा हेरिएको छ।


खबर सबै
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,
-
उद्योगको बक्यौता उठाउन लाग्यो नयाँ सरकार











प्रतिक्रिया