कपिलवस्तु क्षेत्र नम्बर-१ : बन्दैछ ‘हाई–भोल्टेज’ निर्वाचन क्षेत्र, दलगत रणनीति र नयाँको परीक्षा कस्तो होला ?


साझाकुरा, कपिलवस्तु | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नम्बर १ राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ। अब चुनाव हुन केवल २३ दिन बाँकी रहँदा उम्मेदवारहरू घरदैलो र सामाजिक सञ्जालमार्फत मतदातालाई आकर्षित गर्न व्यस्त छन्। तर सतहमा देखिएको प्रचारभन्दा गहिरो रूपमा हेर्दा यो क्षेत्र जातीय समीकरण, दलगत संगठन र परिवर्तनको चाहनाबीचको प्रतिस्पर्धा बनेको देखिन्छ ।

अनुभवी अनुहार बाहिरिँदा नयाँ खेलाडीको इन्ट्री
विगतमा यो क्षेत्र पूर्व मन्त्रीहरू दीपकुमार उपाध्याय, बलराम अधिकारी, चक्रपाणी खनाल (बलदेव) र दानबहादुर चौधरी जस्ता प्रभावशाली नेताहरूको पकडमा रहँदै आएको थियो। तर यसपटक ती सबै अनुहार चुनावी प्रतिस्पर्धा बाहिर हुँदा चुनावी मैदान केही खुला र अनिश्चित बनेको छ। यसैको फलस्वरुप नयाँ खेलाडीले राजनीतिक बजारमा इन्ट्री पाएका छन् । कपिलवस्तु १ यसपटक नयाँ तथा राजनीतिमा मध्यम तहका नेताहरूलाई अवसर बनेको छ ।

चुनावी मैदानमा यो क्षेत्रबाट कुल ३४ जना उम्मेदवार भए पनि वास्तविक प्रतिस्पर्धा भने सीमित व्यक्तिहरूबीच केन्द्रित हुने देखिन्छ। नेपाली कांग्रेसका अतहर कमाल मुसलमान, नेकपा (एमाले) का विश्राम प्रसाद थारु, नेपाली कम्युनिस्ट पार्टीका कृष्ण कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्य र स्वतन्त्र उम्मेदवार आशिष शर्मा नै मुख्य प्रतिस्पर्धीका रूपमा मतदाताले लिने अहिलेसम्मका चुनावी चर्चाले देखाइरहेका छन् । यद्यपी यस क्षेत्रबाट राप्रपा, राजमो, जनतम पार्टी, जसपा लगाएतका अन्य दलका उम्मेद्धारहरुको पनि पुराना चुनावी गणितले राम्रो प्रभाव पारिरहेका छन ।

जम्मा ३० वडा रहेको यस क्षेत्रमा १ लाख ४७ हजारभन्दा बढी मतदाता छन्। दक्षिणी भेगमा मुस्लिम, यादव र कुर्मी समुदायको मतदाता बढी प्रभावशाली छन् भने उत्तरी भेगमा थारु समुदायको बाहुल्य छ। यही जातीय संरचनालाई लक्षित गर्दै उम्मेदवारहरूले फरक–फरक सन्देश र रणनीति अपनाइरहेका छन्। विशेषगरी थारु मत विभाजित हुने वा एकताबद्ध हुने भन्ने प्रश्नले चुनावी नतिजा निर्धारण गर्ने अनुमान गरिएको छ।

दलको संगठन र व्यक्तिको छवि

परम्परागत रूपमा कांग्रेस र एमालेको संगठनात्मक संरचना बलियो मानिन्छ। त्यसैले उनीहरूलाई आधारभूत मत सुरक्षित रहेको आँकलन छ। तर पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक असन्तुष्टि र वैकल्पिक शक्तिप्रतिको आकर्षणले राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारलाई समेत प्रतिस्पर्धामा उभ्याएको छ।

युवा मतदाता, वैदेशिक रोजगारीबाट फर्किएका परिवार र परिवर्तन चाहने मतदाताहरूको झुकाव कुनतर्फ जान्छ भन्ने विषय यस पटकको निर्वाचन परिणाममा निर्णायक बन्न सक्छ।

सबै उम्मेदवारहरूले जितको दाबी गरे पनि मत विभाजन, समुदायगत झुकाव र अन्तिम समयको माहोलले परिणाम उल्ट्याउन सक्ने देखिन्छ। सानो अन्तरले पनि नतिजा बदलिन सक्ने भएकाले कपिलवस्तु क्षेत्र नम्बर १ लाई यसपटक ‘हाई–भोल्टेज’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ।

अन्ततः यहाँ बाजी कसले मार्ने हो भन्ने प्रश्नको उत्तर २३ दिनपछि (फागुन २१) मतपेटिकाले नै दिनेछ। तर यति भने निश्चित छ— यो निर्वाचन केवल उम्मेदवारको होइन, मतदाताको राजनीतिक चेतनाको पनि परीक्षा हो।

प्रतिक्रिया

खबर सबै