कपिलवस्तुको चुनावी चर्चा : दल अदलबदलले असन्तुष्टि, पुराना नेतामाथि नयाँको चुनौती !


राजेन्द्र खनाल, जितपुर | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कपिलवस्तु जिल्लामा राजनीतिक दल देखि स्वतन्त्र रुपमा उम्मेद्धारी दर्ता गराएका उम्मेदवारहरुले निर्वाचन लक्षित आफ्ना चुनावी गतिविधिहरु सक्रिय बनाइरहेका छन् । मतदाता फकाउने आ–आफ्नै शैली र रणनीतिका साथ उम्मेद्धारहरु मतदाता फकाउन व्यस्त छन् । विशेषगरी दलका उम्मेदवारहरु पार्टीको आन्तरिक भेटघाट, छलफलसँगै नेता कार्यकर्ताहरुको सल्लाह सुझावमा रणनीतिक योजनाहरु बनाउनमा व्यस्त देखिन्छन् ।

दलका उम्मेदवारले जिल्लास्तरको छलफलसँगै क्षेत्र, पालिका, विभिन्न सम्पर्क समिति र वडास्तरका नेता कार्यकर्ताहरुबिचको भेटघाटलाई तीव्र रुपमा अगाडि बढाएका छन् । दलहरुले पनि निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउने उदेश्यले रणनीतिक योजनासँगै हरेक तहमा निर्वाचन परिचालन र प्रचारप्रसार समिति समेत गठन गरेका छन् । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा दलका उम्मेदवारहरुको सम्पर्क कार्यालय समेत नगरस्तरीय र वडा स्तरीय पनि स्थापना गरिएको छ ।

निश्चित योजना बनाएर चुनावी प्रचारप्रसारमा हिँड्नका लागि दलहरुले तयारी गरिरहेकाबेला नागरिक स्तरमा भने अघिल्ला निर्वाचनमा जस्तो सोच छैन । बरु यसपटक उम्मेद्धारका योजना र भिजन हेरेर मात्रै मत दिने रणनितिमा मतदाता देखिन्छन् । जसका करण पनि यसपटकको निर्वाचनमा उमेद्धारहरुमध्ये कतिपयलाई आफ्नै पुरानो विरासत जोगाइराख्न सकस देखिन्छ भने कतिपयलाई पुरानाको बिरासत ढलाउने र नयाँ किल्ला स्थापित गर्नै हम्मेहम्मे छ । मुख्य राजनीतिक दलहरु कांग्रेस, एमाले, नेकपा, रास्वपालगायतका दलहरुले संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिविधिहरुमा सक्रिय देखिएका छन् । कपिलवस्तुमा तीनवटै क्षेत्रमा विशेष गरी मुख्य प्रतिस्पर्धामा चार दलमा नै रहने आँकलन छ ।

कपिलवस्तु– १ : दलका उम्मेदवारलाई टक्कर दिँदै आशिष शर्मा
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय संसदमा कसले बाजी मार्छ भन्ने चर्चा यसपटक अनुमानभन्दा बाहिरको जस्तै भएको छ । किनभने यहाँ यसपटक मुख्य दलहरुबाट चुनावी मैदानमा सबै नयाँ उम्मेद्धार छन् ।

विशेष गरी कपिलवस्तुको राजनीतिमा पुरानो र लोकप्रिय नाम हो दिपकुमार उपाध्याय । तर तीनै उपाध्याय यसपटक आफु राजनीतिक रुपमा निश्किृय जस्तै देखिए । यद्यपी यसपटकको निर्वाचनमा उपाध्याय सुपुत्र आशिष शर्मा चुनावी मैदानमा छन, त्यो पनि कांग्रेसबाट बिद्रोह गर्दै स्वातन्त्र रुपमा । कांग्रेसमा पाँच दशक सक्रिय राजनीति गरेका पूर्वमन्त्री उपाध्यायसँगै छोरा आशिष शर्मा पार्टी राजनीतिमा सक्रिय थिए । निर्वाचनको बेला टिकट वितरणमा कांग्रेसले दुवै जनालाई ‘कर्नर’ मा पारेपछि कपिलवस्तु–१ बाट आशिष अहिले स्वतन्त्र उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका हुन । जिल्लामा दीपकुमारको ‘लिगेसी’ले सुशासन, विकास, पारदर्शिता र कपिलवस्तुलाई चिनाउने मुद्दा उठाएर अहिले आशिषले चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् ।
जिल्लामा राम्रो राजनीतिक पहिचान समेत बनाएका युवा नेता शर्माको उम्मेदवारीले यो क्षेत्रको चुनावी सरगर्मी झनै पेचिलो बनेको छ । यो क्षेत्रमा अहिले राजनीतिक दलका उम्मेदवार भन्दा स्वतन्त्र आशिषको चर्चा बढी सुनिन्छ, सामाजिक संजालमा उनकै लोकप्रियता बढ्दो पनि देखिन्छ । यहाँ कांग्रेसबाट अतहर कमाल मुसलमान, एमालेका विश्रामप्रसाद चौधरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कृष्णबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मोहनलाल आचार्य उम्मेदवार छन् । शर्माले ऐतिहासिक जिल्ला कपिलवस्तु भएपनि छायाँमा परेको भन्दै यसको पहिचान र परिचय बदल्ने लक्ष्यसहित चुनावी अभियानमा होमिएको बताउँदै आएका छन् ।

शर्मा राजनीति बुझेका युवामध्येमा शालीन र अनुशासित मानिन्छन् । जिल्लामा अनुभवी, समाजसेवामा निरन्तर समर्पित र इमानदारिता उनको अर्को परिचयको रुपमा हेर्ने गरीन्छ । निष्ठावान्, जिम्मेवारीमा प्रतिबद्ध, समन्वयकारी स्वभाव, सत्यका पक्षपाती र सुशासनका माध्यमबाट उनले विशिष्ट पहिचान बनाएका छन् ।

युवाको उद्यमशीलतामा आफ्नो जोड समेत रहेको बताउँने शर्माले आफू कपिलवस्तु–१ का जनताको आशीर्वादले जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । उनी अहिले घरदैलोमा केन्द्रित छन् । उनलाई धेरैले सद्भाव समेत दिएका छन् । शर्मा नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीतिमा लागेका थिए । कांग्रेसभित्र संगठनात्मक बल र जनाधार दुवै रहेको दाबी गर्ने शर्माको स्वतन्त्र उम्मेदवारीलाई कपिलवस्तुको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

कपिलवस्तु जिल्लालाई आफ्नो कर्मभूमि बनाएका शर्माले यहाँको कृषि र आर्थिक सम्भावनामा दीर्घकालीन लगानी पनि गरेका छन् । बुद्धभूमिमा २५ करोड रुपैयाँको लगानीमा स्थापना गरिएको नेपालकै पहिलो परिमार्जित वातावरणयुक्त ‘एग्रीवस्तु कोल्ड स्टोर प्रालि’ का प्रबन्ध निर्देशकका रूपमा उनी कार्यरत छन् । शर्माको राजनीतिक उदयसँगै कपिलवस्तुमा पुस्तान्तरणको बहस पनि सुरु भएको छ । युवाशक्ति र अनुभवको संयोजनमार्फत कपिलवस्तुको समृद्धि सम्भव छ भन्ने उनको दाबी छ । यही कारण कपिलवस्तुका धेरै युवाले उनलाई जेनजी पुस्ताको प्रतिनिधि पात्रका रूपमा हेर्ने गरेको पनि बुझिन्छ ।

कपिलवस्तु–१ मा यो निर्वाचन केवल जितहारको प्रतिस्पर्धा मात्र नभइ पार्टीभित्रको निर्णय प्रक्रिया, पुस्तान्तरण र नयाँ नेतृत्वप्रतिको जनअपेक्षाको परीक्षणसमेत बन्न पुगेको छ । शर्माको स्वतन्त्र उम्मेदवारीले यो निर्वाचनलाई साधारण राजनीतिक प्रतिस्पर्धाबाट बाहिर निकालेर अर्थपूर्ण राजनीतिक सन्देश बोकेको चुनावमा रूपान्तरण गरिदिएको छ ।

कपिलवस्तु १ मा फर्केर हेर्दा २०७९ को अंकगणित
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा २०७९ को मत परिणामलाई एकपटक फर्केर हेर्दा यहाँबाट एमालेका बलराम अधिकारी निर्वाचित भएका थिए । उनले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले हराएका थिए । तर यहाँ नेपाली कांग्रेसले प्रत्यक्ष तर्फ उम्मेद्धार नै उठाएन । कांग्रेसले माओवादी केन्द्रका चक्रपाणी खनाललाई समर्थन गरेको थियो । तर पनि यहाँ एमालेका अधिकारी निर्वाचित भए । अचम्मको कुरा त के छ भने दुई ठुला दलहरु मिल्दा पनि अधिकारीले दोब्बर मतले विजयी भए ।

बलरामले ३४ हजार ६७५ मत पाउँदा उनका प्रतिस्प्रधी खनालले १८ हजार ९८३ मत मात्र ल्याएका देखिन्छन् मतपरिणामको तथ्याङ्क हेर्दा । यस्तै यो निर्वाचन क्षेत्रबाट जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार ३९३ मत पाएका थिए भने, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले ५ हजार ६३६ मत ल्याएका थिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर रायमाझीले ४ हजार २२३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जू सिंह विष्टले ३ हजार १६३ मत मात्र पाएकी थिइन । यसबाहेक अन्य स्वतन्त्र उमेद्धारले पनि घट्दो क्रममा मत ल्याएका देखिन्छन् ।

तर यसै क्षेत्रको समानुपातिक मतपरिणाम हेर्ने हो भने यहाँ कांग्रेको उपस्थिति पनि राम्रो देखिन्छ । अर्काेतर्फ वैकल्पिक भनिएको राष्टिय स्वतन्त्र पार्टीले पनि समानुपातिकमा प्रत्यक्षमा भन्दा बढी मत ल्याएको छ । यहाँ नेकपा एमालेले २६ हजार २५७ मत ल्याउँदा नेपाली कांग्रेसले २० हजार ४९७ मत ल्याएको छ । यस्तै रास्वपाको मत ८ हजार २६० रहेको छ । तत्कालिन नेकपा (एस) को ६ हजार ६३०, नागरिक उन्मुक्ति पार्टीको ५ हजार ९६४, जनमत पार्टीको ४ हजार ५९८ र तत्कालिन माओवादी केन्द्रले पाएको मत ३ हजार ९२३ मत रहेको छ ।

यसरी हेर्दा प्रत्यक्ष तर्फ उम्मेद्धारले पाएको मत र समानुपातिक तर्फबाट दलले पाएको मतमा ठूलो भिन्नता देखिएको छ । जसका करण पनि यस क्षेत्रमा अहिले रास्वपाको उपस्थित अझ बलियो हुने निश्चित छ भने, पुराना दलहरु पनि छुट्टाछुट्टै चुनावी मैदानमा होमिएका कारण उनीहरुमा कडा भिडन्त हुने देखिन्छ । अर्काे तर्फ कांग्रेसबाटै बिद्रोह गरेका स्वतन्त्र उम्मेद्धार आशिस शर्माका कारण कांग्रेस भित्रको मत काटिने पक्का छ भने यसको असर एमाले, रास्वपा र जेनजी मतदाताहरुमा पनि पक्कै पर्ने छ । यसबाहेक अन्य दलहरुले पनि निर्वाचन क्षेत्रको दक्षिणी भेगको मत विभाजन हुने सम्भावना बलियो देखिन्छ भने उत्तरमा पनि अन्य साना दलहरुको उपस्थितिले पुरानै लयमा ठुला भनिएका दलहरुका नयाँ उम्मेद्धारलाई दलविहिन मतदाताले पत्याउने अवस्थाको सिर्जना हुनु निकै कठिन हुने छ ।

कपिलवस्तु–२ : पुर्व मन्त्रीहरुलाई आफ्नै विरासत जोगाउन सकस
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा दलबाट १७ जना र स्वतन्त्र ११ गरी कुल २८ जनाले उम्मेदवारी दिएका छन् । यो निर्वाचन क्षेत्र आफैमा एउटा यस्तो क्षेत्र हो, जहाँबाट संघीय र प्रदेश सरकारमा राम्रो पकड बनाउन सक्ने स्थान हो । यस क्षेत्रमा नेपाली कांग्रेसबाट पुर्व मन्त्री समेत रहेका नेता सुरेन्द्रराज आचार्य चुनावी मैदानमा छन् । आचार्य नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री पनि हुन । यसै क्षेत्रबाट यसअघि पनि उनै आचार्य निर्वाचित भएका थिए । उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु २ बाट एमालेका बृजेश कुमार गुप्तालाई पराजित गर्दा ३९ हजार १४ मतसहित निर्वाचित भएका थिए । उनै आचार्य यसपटक एमालेका दृर्घनारायण पाण्डेयसँग चुनावी प्रतिश्प्रधामा छन् । एमालेबाट चुनावी मैदानमा होमिएका पाण्ड््ेयको राजनीति एमालेमा कम, कांग्रेसमा बढी रहेको इतिहास छ । उनी राष्ट्रिय सभा सदस्यको उप निर्वाचन २०७८ मा नेपाली कांग्रेसबाट बिजयी भएका थिए भने राष्ट्रिय सभाको कार्यकाल सकिएसँगै एमाले प्रवेश गरेका हुन । हाल उनी एमालेबाट कपिलवस्तु २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेद्धार छन् । कांग्रेसको समेत भित्री कथा कांग्रेस भएरै भ्यु पाएका दिर्घनारायणले यसपटक सुरेन्द्रराज आचार्यका मत काटेर आफ्नो पक्षमा पार्ने रणनीतिमा देखिन्छन् ।


अर्काे तर्फ आचार्य र पाण्डेय दुबैलाई चुनौति दिन रास्वपाबाट यही क्षेत्रमा पुर्व एसएसपी बिक्रमसिँह थापा चुनावी मैदानमा रहेका छन् । कपिलवस्तुको राजनीति र नेताहरुलाई आफूले सुरक्षासम्यन्त्रको कमाण्ड सम्हाल्दै बुझेका थापा पनि नेपाली कांग्रेस पृष्ठभुमिका नेता हुन । रास्वपाबाट टिकट लिएर जिल्ला फर्किनुभन्दा एक साता अघि मात्रै नेपाली कांग्रेसको महाधिवेशनमा पनि उनी पुगेका थिए । कांग्रेसबाट टिकट नपाएपछि तत्काल रास्वपा प्रवेश गरेका थापाको पक्षमा यसपटक रास्वपाको फरक दबदबा दखिएको छ । रास्वपाले यो क्षेत्रबाट गत निर्वाचनमा समानुपातिक तर्फ ४ हजार २९९ मत ल्याएको थियो । जबकी प्रत्यक्ष तर्फ रास्वपा उम्मेद्धारविहिन थियो । तर पनि मतदाताले रास्वपा खोजिरहेको यो मतपरिणामले देखाउँछ ।

२०७९ मा एमालेबाट ३८ हजार ६९७ मत ल्याएर उप विजेता बनेका वृजेश कुमार गुप्त यसपटक एमालेमा छैनन् । उनी तारा चुनाव चिन्ह लिएर नेपाली कम्युनिष्ट पार्टीबाट चुनावी मैदानमा छन् । उनी यसै क्षेत्रबाट निर्वाचित भएका पुर्व संघीय मन्त्री समेत हुन । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्त अहिले नेकपाबाट चुनाव लड्दै छन् । यसकारण उनले एमालेभित्रको दिर्घनारायण पाण्डेयले पाउने मत आफ्नो पक्षमा पार्ने दाउमा छन् । एमालेबाट टिकट नपाएपछि नेकपामा प्रवेश गरेका गुप्तको पनि चुनावी इतिहास उतारचढावपूर्ण छ । गुप्ता ईन्जिनियरको स्थायी जागिर छाडेर २०५६ सालदेखि राजनीतिमा लागेका थिए । सुरुमा राप्रपा, त्यसपछि तमलोपा र दुईपटक एमालेबाट सांसद जितेका थिए । पाँचौ पटक २०७९ को चुनावमा भने कांग्रेस नेता सुरेन्द्रराज आचार्यसँग झिनो मतले पराजित भएका थिए । गुप्ताले २०५६ र २०७४ मा प्रतिनिधि सभा सदस्य तथा २०६४ र २०७० मा दुईपटक संविधान सभा सदस्यमा जितेका नेता हुन ।
यसरी हेर्दा कपिलवस्तु निर्वाचन क्षेत्र नंम्बर २ निर्वाचनको रणनैतिक भुमि बन्ने पक्का छ । यहाँबाट निर्वाचन जितेर गएका र पटक पटक संघीय मन्त्री समेत बनिसकेका नेताहरु चुनावी मैदानमा यसपटक आफ्नै पुरानो विरासत जोगाउने सकसमा छन भने वैकल्पिक शक्ति भनिएको रास्वपाबाट बिक्रमसिँह थापाले पुरानाको विरासत भत्काउने र यहाँ आफ्नो नयाँ किल्ला स्थापित गर्ने सूरुमा देखिन्छन । अर्को तर्फ गत निर्वाचनमा कांग्रेसका सुरेन्द्रराज आचार्यसँगको झिनो मतको हारको बदला लिने ध्याउन्नमा नेकपा रोजेका वृजेश कुमार गुप्त पनि उही लयका साथ चुनावी मैदानमा छन् । त्यसैले कपिलवस्तु २ को चुनवी भिडन्त यसपटक तीन पुराना नेताहरुबीच बढी हुने निश्चित छ भने तीनै जनालाई चुनौती दिने रास्वपाको तयारी छ ।


कपिलवस्तु–३ : पुरानालाई रास्वपाको चुनौती

एक लाख १८ हजार ४ सय ४ मतदाता रहेको कपिलवस्तु क्षेत्र नम्बर ३ मा ३६ जना चुनावी मैदानमा छन् । जहाँ एमालेका बिरेन्द्रकुमार कनौडिया चुनावी मैदानमा उत्रिएका छन भने नेपाली कांग्रसबाट अभिषेक प्रताप शाह छन् । यहाँ दुबै नेताहरु पटक पटक चुनवी मैदानमा होमीदै आएका छन् । यस्तै यहाँ रास्वपाले प्रकाश रजौरीयालाई उम्मेद्धार बनाएको छ । कपिलवस्तुमा सबैभन्दा बढी उम्मेद्धारी दर्ता भएको क्षेत्र पनि निर्वाचन क्षेत्र नं. ३ हो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका मंगलप्रसाद गुप्ताले चुनाव जितेका थिए । उनले कांग्रेसका अभिषेक प्रताप शाहलाई पराजित गर्दै विजयी भएका हुन । गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरेर बिजयी बन्दा शाहले १८ हजार ९८३ मत ल्याएका थिए । एमाले र कांग्रेस बाहेक यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हाल रास्वपाले उम्मेद्धार बनाएका प्रकाश रजौरीयाले १४ हजार ३० मत प्राप्त गरेका थिए । अहिले उनी राप्रपा छोडेर रास्वपाबाट चुनावी मैदानमा छन् । यस क्षेत्रबाट गत निर्वाचनमा जनता प्रगतिशिल पार्टीबाट ईश्वरदयाल मिश्रा १२ हजार ५५७ ल्याउँदा, जनमत पार्टीका नरसिंह चौधरीले २ हजार २४५ त्यस्तै रास्वपाका दिपक बेल्बासे १ हजार ५६ मत प्राप्त गरेका थिए ।

अर्काे तर्फ समानुपातिकमा यस क्षेत्रबाट कांग्रेसलाई राप्रपाको मतले जितेको छ । प्रत्यक्ष तर्फ एमाले पहिलो, कांग्रेस दोस्रो र राप्रपा तेस्रो हुँदै गर्दा जनमत पार्टी, जनता प्रगतिशिल पार्टी लगाएतका अन्य दलहरुको पनि मत बलियो छ । यस क्षेत्रको सामानुपातिक उक्त मत परिणामलाई हेर्दा कांग्रेसको भन्दा राप्रपाको मत बलियो देखिएका कारण पनि रास्वपाबाट उम्मेद्धार बनेका रजौरिया यहाँ बिरेन्द्रकुमार कनौडिया र अभिषेक प्रताप साहमाथि भारि पर्ने सम्भावना उत्तिकै बलियो छ । अर्काे तर्फ यस क्षेत्रमा एमालेबाट टिकट पाएका बिरेन्द्र कनौडिया यस अघि नेपाली कांग्रेसबाट राजनीति गर्दै लुम्बिनी प्रदेशसभामा निर्वाचित भएका थिए । पछि पनि सोही पाटीबाट विभिन्न जिम्मेवारीमा रहँदा रहँदै यसपटक निर्वाचनको सम्मुखमा एमाले प्रवेश गरेका हुन ।

लुम्बिनी प्रदेशसभाका पूर्व सांसद कनौडियालाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ ले एकल सिफारिस गरेको थियो तर कनौडिया कांग्रेसबाटै हातमा राखेको टिकट छोडेर एमाले प्रवेश किन गरे ? यो नै सोचनीय विषय हो । चिनी मिल सञ्चालक समेत रहेका कनौडियामाथि उखु किसानको पैसा नतिरेको आरोप लाग्दै आएको विषय पनि हो । कनौडिया २०७९ को प्रदेश सभा सदस्य निर्वाचनमा पराजित भएका थिए ।

यसै क्षेत्रबाट तत्कालिन माओवादी केन्द्र र नेकपा (एस)सहितका दलहरुबाट निर्मित नेकपाबाट एहसान अहमद खाँ चुनावी मैदानमा छन भने गत निर्वाचनमा लोकप्रिय मत हात पारेको राप्रपाबाट प्रेम शंकर शुक्ल निर्वाचन लड्दै छन् ।

यसरी हेर्दा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा नेताहरुको दल अदलबदलको गतिविधिले चुनावी माहोल पनि फरक पर्ने देखिएको छ । साना दल र स्वतन्त्र उम्मेद्धारको संख्या पनि सबैभन्दा बढी यही क्षेत्रमा रहेका कारण पनि कपिलवस्तु ३ को चुनावी अंकगणितमा पुरानालाई नयाँको चुनौती हुने पक्का जस्तै छ ।

प्रतिक्रिया

खबर सबै