लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्र बैठक : सरकारको कार्यक्षमता थप सुधार्न सुझाव प्रस्तुत

१५ मंसिर २०८१, बुटवल | लुम्बिनी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूको प्रदेशस्तरीय संयन्त्रको बैठक बुटवलमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता एमाले लुम्बिनी प्रदेशका इन्चार्ज पद्मा अर्यालले गरे। बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कार्यसञ्चालन र आगामी योजनाबारे जानकारी दिए।

मुख्यमन्त्री आचार्यले भने, “एमाले–कांग्रेस संयुक्त सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्ने उद्देश्यका साथ पाँच वर्षे रणनीतिक योजना बनाई कार्यान्वयन गर्दै कामलाई सही दिशा दिएका छन्।” यस क्रममा, प्रदेश सरकारले हालसम्मका गरेका कामहरूलाई अघि बढाउँदै, अझै थप प्रभावकारी बनाउन योजना बनाएको बताए।

साथै, बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारको कार्यहरूको प्रगति र संसदीय क्षेत्रमा भएका गतिविधिबारे प्रकाश पारेका थिए। बैठकमा एमाले र कांग्रेसका नेताहरूले सरकारको कार्यक्षमता थप सुधार्न र गतिशील बनाउन विभिन्न सुझाव प्रस्तुत गरे।

कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले संयुक्त सरकारको कार्यलाई थप गतिशील बनाउनेमा जोड दिएका थिए। यसै क्रममा, बैठकले मङ्सिर मसान्तसम्म प्रदेशका १२ जिल्लामा संयन्त्रका बैठकहरू सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

साथै, बैठकमा आगामी मङ्सिर २० गते लुम्बिनी प्रदेशमा एमाले–कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरिएको छ। उक्त भेलामा कांग्रस र एमालेका विभिन्न जिल्लाका प्रमुख प्रतिनिधिहरू सहभागी हुनेछन्।

यस बैठकमा, एमाले र कांग्रेसका वरिष्ठ नेताहरू समेत उपस्थित थिए। एमालेबाट पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र राधाकृष्ण कँडेल, जबकि कांग्रेसबाट डिल्लीबहादुर चौधरी, अमरसिंह पुन र विष्णु खनाल मुस्कानले आफ्ना विचार प्रस्तुत गरे।

प्रतिक्रिया

खबर सबै