राजिनामा दिएका अहिरले अन्ततः लुम्बिनीमा सम्हाले मन्त्रालय
लुम्बिनी प्रदशेमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उनले सोमबार मन्त्रालयमा गएर काम थालेका हुन् ।
२५ चैतमा मन्त्री नियुक्त भएका अहिरलाई मुख्यमन्त्रीले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए । सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो । तर एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि अहिरले ९ वैशाखमा राजीनामा दिए ।
मुख्यमन्त्रीले असन्तुष्टि सम्बोधन गर्दै जाने वचन दिएपछि पदभार सम्हाल्न तयार भएको उनले बताए । ‘मुख्यमन्त्रीसँग शनिबार कुराकानी भएको थियो’, अहिरले अनलाइनखबरसँग भने, ‘उहाँले अहिले पदभार ग्रहण गर्नुस्, असन्तुष्टि सम्बोधन गर्दै जाउँला भनेपछि सहमत भएको हुँ ।’
जसपा आइतबार साँझ फुटेको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । मन्त्री अहिरले भने कुन पक्षमा बस्ने भनेर अहिले कुनै निर्णयमा नपुगेको बताए । उनले भने, ‘साथीहरुसँग छलफल गर्छौं, त्यसपछि कता बस्ने निर्णयमा पुग्न सकिएला ।’
प्रतिक्रिया