

लुम्बिनीमा तत्काल नयाँ सरकार नबन्ने, केन्द्रको रणनीतिमा मुख्यमन्त्री



बुटवल । नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितको नयाँ गठबन्धनले लुम्बिनी प्रदेशमा सरकार गठनका लागि हतार नगर्ने भएको छ ।
सत्ता साझेदार रहँदै आएको नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । बुधबार माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री चौधरी नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको छ ।
संविधान अनुसार सत्ता साझेदार दलले सरकारप्रतिको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । सोही अनुसार मुख्यमन्त्री चौधरीले चैत २२ सम्ममा विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ ।
त्यतिन्जेलसम्म नयाँ गठबन्धनले वर्तमान सरकारलाई नै निरन्तरता दिने मुड बनाएको देखिन्छ । खासगरी प्रदेशहरुमा भागबण्डाका बारेमा प्याकेजमै सहमति हुने भएकाले एमाले र माओवादी केन्द्र तत्काल लुम्बिनी सरकार गठनका लागि अग्रसर नहुने देखिएको हो ।
केन्द्र तहबाटै सत्ताको भागबण्डा हुने भएकाले केन्द्रबाट निर्देशन नआउँदासम्म प्रदेश सरकार गठनको गृहकार्य सुरु नगर्ने नयाँ गठबन्धनका नेताहरुको भनाइ छ । त्यतिन्जेल आफूहरु आन्तरिक तयारीमा जुट्ने उनीहरुको भनाइ छ ।
समीकरण फेरिएपछि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री लीला गिरी र माओवादी संसदीय दलका नेता जोख बहादुर महाराबिच काठमाडौँमा भेटघाट भएको छ । उक्त भेटमा दुवैले परिमाण दिने गरी काम गर्ने विषयमा छलफल भएको बताइएको छ ।
अन्य प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि आलोपालो सरकारको नेतृत्व गर्ने गरी सहमति हुने माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । उनले भने, ‘केन्द्रबाट विस्तृत निर्देशन आउनसाथ नयाँ ढङ्गले अगाडि बढ्छौँ ।’
एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले माओवादी र एमालेबिच २०७९ मै सरकार गठनअघि भएको सहमति अनुसार नै ‘पावर सेयरिङ’ हुने बताए । सोही अनुसार सरकारको नेतृत्व आलोपालो गर्ने र पहिलो चरणमा एमालेले सरकारको नेतृत्व गर्ने उनको भनाइ छ । अन्य विषयमा प्रदेशका दलका नेताहरू बिच बसेर छलफल हुने उनले प्रस्ट पारे ।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादीका ११ र जसपाका ३ र नेकपा एकीकृत समाजवादीका एक सांसद छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ ।
मुख्यमन्त्री चौधरी केन्द्रको रणनीति कुर्दै
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पछिल्लो राजनीतिक अवस्थामा केन्द्रले बनाउने रणनीतिलाई कुरिरहेका छन् ।
संविधान अनुसार विश्वासको मत लिने समयावधिसम्म कुनै न कुनै निष्कर्ष आइसक्ने भन्दै उनले तत्काल आफू ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया