देशमा दिनभर : ‘माधवलाई फकाउन पुगे ओली–प्रचण्ड देखि उपाधि चुम्नबाट चुक्यो नेपाल सम्म’

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपासँग मिलेर नयाँ गठबन्धन बनाएपछि त्यसको तरंग प्रदेशसम्म पुगिसकेको छ । आठबुँदे सहमति गरेका यी दलहरूलाई प्रदेश सरकार जोगाउन भने साना दलहरूको भर पर्नुपर्ने अवस्था आएको छ ।  सत्ता गठबन्धनमा राप्रपालाई बाहिर राख्न खोजिएको छ भने एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्तिलगायतका दललाई सत्ता उलटफेरमा सहभागी गराइएन् । तर, प्रदेश सरकारमा बहुमत जुटाउन तिनै दलहरू निर्णायक बनेका छन् । 

एमालेको ‘प्रधानमन्त्री अफर’ लाई बेवास्ता गर्दा सत्ताबाट सडकमा पुगेको कांग्रेस

नेपाली कांग्रेसले सरकारबाट बाहिरिनुको कारणबारे केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट समीक्षा गर्दै धारणा सार्वजनिक गर्दै छ । सत्ताबाहिर जानुको मुख्य कारण कांग्रेस आफैँ पनि हो । उसले माओवादीको रणनीति त बुझ्न सकेनन् नै, प्रतिपक्षी एमालेको सम्पर्क सूत्रलाई समेत बेवास्ता गर्‍यो । एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा, इतर समूहका नेता डा. शेखर कोइरालालगायत नेताहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरिरहेको थियो । २०७९ पुस १० को गठबन्धन राष्ट्रपतिको निर्वाचनअगाडि भत्किएपछि एमालेले कांग्रेसलाई समर्थन गर्छौं, प्रधानमन्त्री कांग्रेसबाट हुनुपर्छ भनेको थियो । 

नेपालको घर पुगे ओली, साथमा प्रचण्ड पनि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालको निवासमा पुगेका छन् । नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन भएसँगै एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन् । नेकपा विभाजन भए देखि ओली नेपाल निवास पुगेका थिएनन् । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाई आग्रह गरेका छन् । साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि नेपाल निवास पुगेका छन् ।

घरेलु मैदानमा क्रिकेट : परिणाम कम, सिकाइ बढी

माघ अन्तिम साता नेपाली क्रिकेट टिमले क्यानडासँग तीन अन्तर्राष्ट्रिय एक दिवसीय श्रृङ्खला क्लिनस्वीप गर्यो । सन् २०२७ को एक दिवसीय विश्वकप क्रिकेट छनोटको रोडम्याप रहेको आईसीसी लिग–२ को तयारी स्वरुप भएको श्रृङ्खला नस्वीपले नेपाली टोलीको मनोबल उच्च थियो ।यो मात्र होइन् सन् २०२२ नोभेम्बर यता नेपाल त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय एक दिवसीयमा पराजित भएको थिएन । त्यसमा आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतका अन्तिम १० खेल पनि समावेश थिए । घरेलु मैदानमा लिग–२ को औपचारिक शुभारम्भ गर्दै गर्दा नेपाली क्रिकेट टिमको लक्ष्य बलिया प्रतिद्वन्द्वीहरु नेदरल्याण्ड्स र नामिबियासँग अघिल्ला खेलकोजस्तै नतिजा दोहोर्‍याउने थियो । प्रशिक्षक मोन्टी देसाईले पनि लिग–२ मा नेपालले उत्कृष्ट सुरुवात गर्न चाहेको बताउँदै आएका थिए । नतिजा भने नेपालले सोचेको भन्दा फरक आयो । लिग-२ को त्रिदेशीय सिरिजमा ४ खेल खेलेको नेपालले नतिजा भने एक खेल मात्र आफ्नो पक्षमा पार्न सफल भयो । नेपालले नेदरल्याण्ड्ससँग एक खेलमा शानदार जित निकाले पनि नामिबियासँगका दुई र नेदरल्याण्ड्ससँगको अर्को एक खेलको नतिजा विपक्षी टिमलाई सुम्पियो । नेपालका तीनै हारमा ब्याटिङ चलेन । लिग-२ का तीन खेल गुमाएपछि नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले योजना अनुसार नतिजा पक्षमा पार्न नसकेको बताए । प्रशिक्षक मोन्टी देसाई उत्कृष्ट खेलका बाबजुद पनि नतिजा पक्षमा पार्न नसकेको भन्दै आउँदा खेलमा अनुकूल नतिजा निकाल्ने गरी तयारी गर्ने प्रतिक्रिया दिए ।

प्रचण्ड सरकारलाई दिएकाे समर्थन फिर्ता लिने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे छ । मंगलबार बसेकाे कांग्रेस कार्यसम्पादन समितिकाे बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे हाे । याेसँगै अब प्रधानमन्त्री दाहालले संसदमा विश्वासकाे मत लिनुपर्ने भएकाे छ । साेमबार गठबन्धन फेर्दै प्रचण्डले कांग्रेसका मन्त्रीहरू हटाएका थिए । प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए । 

सरकारमा सहभागी हुने दलको टुंगो नलागेसम्म मन्त्रालयको भागवण्डा नहुने

सरकारमा सहभागी हुने राजनीतिक दलको टुंगो लागेपछि मात्रै मन्त्रालयको भागवण्डा टुंग्याइने भएको छ । नयाँ सत्ता गठबन्धन बनाउँदा एमाले, माओवादी माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८बुँदे सहमति भएको थियो । तर, ८बुँदे सहमतिमा हस्ताक्षर गरेकै दल जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा मन्त्रीको नाम दिएन । जसपाले मन्त्रीको नाम नदिएपछि प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डीपी अर्याललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । मन्त्रालयको भागवण्डा नटुंगिएकाले प्रधानमन्त्री प्रचण्डले तीनै जना मन्त्रीलाई विनाविभागीय राखेका छन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि कसले कति, कुन-कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन नसकेको बालुवाटारस्रोतले जनाएको छ । ‘कुन-कुन मन्त्रालय, कसले लिनेभन्दा पनि कुन-कुन दल सरकारमा आउने भन्ने विषयमा छलफल चलिरहेको छ । सरकारमा सहभागी हुने दल नटुंगिएसम्म मन्त्रालयको भागवण्डा टुंगिँदैन,’ बैठकमा सहभागी एक नेताले भने ।

 

प्रतिक्रिया