देशकै दोस्रो लामो जिपलाइन दाङमा बन्दै, सञ्चालनको अन्तिम तयारी


दाङ । दाङमा पहिलोपटक देशकै दोस्रो लामो जिपलाइन सञ्चालनमा आउन थालेको छ। २०७८ साल जेठदेखि निर्माण शुरु गरेको जिपलाइन सञ्चालनको अन्तिम तयारी रहेको छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले जनाएको छ।

कम्पनीका सञ्चालक शिव श्रेष्ठका अनुसार ९५ प्रतिशत काम पूरा भएको र अब ५ प्रतिशत बाँकी रहेको हुँदा चैते दशैँका दिन उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारी रहेको छ।

उनले भने, ‘निर्माण शुरु भएको करिब ३ वर्ष हुन लाग्यो। विभिन्न अवरोध र प्राविधिक समयमा नआउँदा एक वर्ष ढिला भयो। चैते दशैँमा सञ्चालन गर्ने तयारीमा छौँ।’ उनका अनुसार जिपलाइनमा अहिलेसम्म १ करोड ३० लाख लगानी भएको छ।
छिल्लीकोट ऐतिहासिक, पौराणिक तथा धार्मिक ठाउँ भएको हुँदा र यहाँबाट विभिन्न हिमाल तथा दाङको समतल भूमि देखिने भएकाले यसलाई पर्यटकीय रूपमा विकास गर्न आफूहरूले जिपलाइन सञ्चालनमा ल्याएको उनको भनाइ छ। उनका अनुसार छिल्लीकोटमा बाइसे, चौबीसे राजाहरूको राज्य भएको ठाउँ हो।
जिपलाइनसँगै छिल्लीकोटमा १० कट्ठा जग्गा लिएको र रिसोर्ट बनाउने योजना रहेको पनि उनले बताए। उनले पर्यटकहरूको अवस्था हेरी छिल्लीकोटमा तीनतारे होटल बनाउने योजना रहेको र त्यसका लागि स्वीकृति लिइसकेको बताए। जिपलाइनको दूरी करिब १ हजार २ सय मिटरको रहेको छ।
कालिका मन्दिरबाट शुरु हुने र भुल्के सामुदायिक वनको चोरकाटेमा ल्यान्डिङ हुने गरी निर्माण गरिएको उनले बताए।
यो दूरी पार गर्न प्रतिघण्टा ८० को गति रहेको र बढीमा २ मिनेटमा पार गरिन्छ। उनका अनुसार जिपलाइन देशका विभिन्न ठाउँमा रहेको र त्यहाँ प्रयोग गर्न २–३ हजारसम्म शुल्क रहेको उनले बताए। यसको क्षमता १५० किलोग्रामसम्म रहेको छ।
छिल्लीकोटमा आफूले जिपलाइन सञ्चालन ल्याउन थालेपछि स्थानीय निकै खुसी भएको र साथ दिइरहेको उनले बताए। छिल्लीकोटबाट प्यूठानको स्वर्गद्वारीसम्म जानका लागि सडक भएमा यहाँबाट पर्यटकहरू उता जाने र यसबाट यहाँको विकास हुने उनको भनाइ छ।
उनले यसबाट आम्दानी हुने रकम मध्य वनलाई ५ प्रतिशत, छिल्लीकोट विकास समितिलाई ५ प्रतिशत र उपमहानगरलाई १३ प्रतिशत कर तिर्ने बताए।
स्थानीय खुसी, आयआर्जन बढ्ने अपेक्षा
चैते दशैँको दिन उद्घाटन गरी सञ्चालनमा ल्याउन थालिएको जिपलाइनको बुधबार परीक्षण गरिएको थियो। स्थानीय बासिन्दा परीक्षण हुँदै गरेको दृश्य हेर्न आइपुगेका थिए। स्थानीय पुष्पा रानाले जिप लाइनको दृश्य देख्दा रमाइलो र डर लागेको बताइन्।
उनले यसले यहाँका लागि विकासमा केही सहयोग पुग्ने बताइन्। छिल्लीकोटमा पछिल्लो समय विद्युत् र खानेपानी पुगे पनि सडक राम्रो नहुँदा समस्या भइरहेको उनको भनाइ छ।
छिल्लीकोटमा अहिले भ्यूटावर, मन्दिर लगायतका संरचना छन्। गाउँमा १० वटा होमस्टे सञ्चालनमा छन्। जिपलाइन सञ्चालन भएपछि आफूहरूलाई थप फाइदा हुने स्थानीय जीवराज रेउलेले बताए। छिल्लीकोटसम्म आउन सडक राम्रो हुनुपर्ने उनको कथन छ।
उनले भने, ‘छिल्लीकोट धार्मिक र ऐतिहासिक क्षेत्र हो तर यसको सोचे जस्तो प्रचार प्रसार भएको थिएन। जिपलाइन सञ्चालनमा ल्याएपछि यसले यहाँको प्रचारप्रसार र विकास हुनेमा हामी ढुक्क छौँ।’
जिपलाइन सञ्चालनले यहाँको विकासमा टेवा पुग्ने र यहाँका बासिन्दालाई फाइदा पुग्ने भुल्के सामुदायिक वनका अध्यक्ष नन्दराम रोकाले बताए। यो जिल्लामै नयाँ अवधारणा भएको हुँदा पनि स्थानीय निकै खुसी भएको उनले बताए।

प्रतिक्रिया