धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुन्छ : मुख्यमन्त्री चौधरी

नेपालगञ्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताउनु एको छ । इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९८ औं शुभ जन्मोत्सवको अवसरमा नेपालगञ्जमा बिहीबार आयोजना गरिएको जुलुसमा सहभागी हुनुभएका मुख्यमन्त्री चौधरीले सबै धर्म र समुदायबिचको एकता नै नेपालको विशेषता भएको बताउनुभयो ।

सो अवसरमा मुस्लिम समुदायद्वारा मोहम्मद डे मा सार्वजनिक बिदा माग गरिएकोप्रति लुम्बिनी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री चौधरीले आगामी वर्षदेखि प्रदेश सरकारको सार्वजनिक बिदाको क्यालेण्डरमा यो बिदालाई समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय बिपी चोकमा आयोजना गरिएको सो कार्यक्रममा बोल्नुहुँदै पूर्वमन्त्री तथा जसपाका केन्द्रीय नेता मोहम्मद इश्तियाक राईले सबै धर्म मान्ने समुदायबीचको सदभाव र एकतालाई अझै सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशको विकास र उन्नतिका लागि शान्ति र स्थायित्व पहिलो शर्त भएकाले सो तर्फ हामी सबै नेपालीले गम्भीर भएर मनन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेशसभाका सदस्य अम्बिका काफ्ले, संविधानसभाका सदस्यहरु अब्दुल हमिद सिद्दिकी, सर्वतआरा खानम, नेपालगञ्जका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पूर्णप्रसाद आचार्य, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर लगायत विभिन्न राजनीतिक दलका अगुवाहरुको बाक्लो उपस्थिति थियो ।

यसैबीच यस वर्ष नेपालग्रञ्जमा धुमधामका साथ विभिन्न कार्यक्रम गरेर मोहम्मद डे मनाइएको छ । सो अवसरमा बिहीबार बिहान ठूलो सङ्ख्यामा मुस्लिमलगायत अन्य धर्मावलम्बीको सहभागिता रहेको र शुभजन्मोत्सव जुलुसले नगर परिक्रमा गरेको छ ।

गोरखापत्र अनलाइन .

प्रतिक्रिया

खबर सबै