अविरल वर्षा पछि बाढी र पहिरोले सडक सञ्जाल ठप्प, कहाँ कहाँ के-के भयो ?

कपिलवस्तु । कपिलवस्तुसहित लुम्बिनी प्रदेशभर परेको अविरल वर्षाका कारण शनिबार मुख्यगरी यातायात सेवा प्रभावित बनेका छन् । शुक्रबार रातिदेखिको वर्षाका कारण यहाँका अधिकाशं सडक खण्ड बाढी तथा पहिरोका कारण अबरुद्ध बनेका छन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधाम स्थित कोइली खोलामा आएको बाढीका कारण शनिबार बिहान ७ बजे देखि दिउसो १ बजे सम्म सडक अबरुद्ध बनेको थियो । खोलामा पानीको सहत केही घटेपछि भने दिउसो देखि पुनः यतायता संचालनमा आएका छन् । कोइली खोला (कपिलगंगा) मा आएको बाढीका कारण कजवे पुल नाघेपछि सर्वसाधारण तथा यातायातका साधन अबरुद्ध बनेका हुन ।

बनगाई भलवाड सडक खण्डको कोइली खोला (क) मा भने यस वर्ष मोटरेवल पुल बनेपछि सहजता थपिएको छ । यद्यपी कोइली (ख) नाम दिइएको कपिलगंगामा भने बाढीले नागरिकलाई दुख दिने गरेको छ भने कैयौँको ज्यान समेत गएको छ ।

यस्तै कपिलवस्तुको बाणगंगा नदीमा पनि आज बाढीले सतर्कता तह नै पार गरेको थियो । यद्यपी कपिलवस्तुका कुनै पनि स्थानमा डुबानको घटना नभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । यद्यपी सतर्कता अपनाउन भने आग्रह गरिएको छ ।

तिनाउ नदीमा आएको बाढीले तटीय क्षेत्रको बस्ती जोखिममा
रुपन्देही र पाल्पा आसपासमा शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले तिनाउ नदीमा पनि उच्च तहको बाढी आएको छ । बाढीले आसपासका बस्ती जोखिममा परेका छन् ।

पाल्पाबाट सुरु भइ चुरेबाट भेल लिएर बग्ने तिनाउ र दानव नदीलाई २ सय ३७ मिटर फराकिलो बहाव क्षेत्र आवश्यक पर्ने विज्ञहरु बताउँछन् । तर बुटवलमा नदीको बहाब क्षेत्र मुस्किलले ५० देखि ७० मिटर मात्रै छ । नदी किनारमा बाक्लो बस्ती बसेको छ ।

बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ नदीमा जल सतहले सतर्कता तह पार गर्ने चेतावनी दिँदै सजग रहन आग्रह गरेको छ । तिनाउ नदीको तटीय क्षेत्र र आसपास डुब्न सक्ने बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

पहिरोले अर्घाखाँचीका अधिकांश सडकमा यातायात ठप्प
अर्घाखाँचीको सदरमुकाम जोड्ने सन्धिखर्क–गोरुसिंगे मुख्य सडकका विभिन्न ठाउँमा पहिरो गएर शनिबार बिहानैदेखि अवरुद्ध भएसँगै ग्रामीण भेगमा अधिकांश सडकमा यातायात चलेका छैनन् । रातिदेखि लगातार पानी पर्न नरोकिएपछि कच्ची बाटो चिप्लो छ । भेलले खाल्डाखुल्डी परेको र पहिरो खस्ने डरका कारण बिहानैदेखि छोटो दुरीमा छिटफुट बाहेक सवारी साधान चल्न सकेका छैनन् ।

देउराली यातायात अर्घाखाँची प्रालिका अध्यक्ष गोविन्द बञ्जाडेका अनुसार पिच गरेका सडकमा मात्रै छिटफुट जिप, हाइस चलेका भए पनि लामो दुरीका यातायता संचालन हुन सकेका छैनन् ।

सन्धिखर्क–गोरुसिंगे सडक विहानैदेखि अवरुद्ध छ । यात्रु अलपत्र छन् । अन्तरजिल्ला गुल्मीको तम्घास, पूर्कोटदह, सौतमारे, प्युठानको खलंगा जोड्ने सडकमा वर्षाका कारण खाल्डाखुल्डी र सडक चिप्लो भएको छ । स्थानीय तहका ६१ वडाका टोलैपिच्छे सडक सञ्जालले जोडिएको भएपनि लामो दुरीमा ट्याक्सी समेत जान सकेका छैनन् । गोरुसिँगे सन्धिखर्क सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको बताइएको छ ।

 

पाल्पाका विभिन्न स्थानमा सडक अवरुद्ध 
अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३, का धेरै स्थानमा पहिरो खसेको छ । राजमार्गको दोभान सिद्धबाबा खण्डको ठूलो झरना नजिकै ढुंगासहितको पहिरो खसेको छ ।

राजमार्ग अन्तर्गत माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए ।

आर्यभन्ज्याङ–राम्दी सडकको रम्भा गाउँपालिका–३, पिपलडाँडा सेरा र लहसुने नजिकै पनि पहिरो खसेको स्थानीयले जानकारी दिएका छन् । राजमार्गको राम्दी नजिकै सेरामा माथिल्लो भागबाट बगेर आएको लेदोका कारण ट्रक नै फसेको ट्राफिक प्रहरीले जनाएको छ ।

सतर्कता अपनाउन आग्रह

तानसेनदेखि गुल्मी जाने सडकको ढुंगाखानी र सम्मोबारी नजिक पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पाल्पाकै कालीगण्डकी करिडोर अन्तर्गत सिद्धार्थ राजमार्गको पिपलडाँडादेखि रामपुर जाने सडक अवरुद्ध भएको छ ।

देशका आठ जिल्लामा गए रातिदेखि निरन्तर ठूलो पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार नवलपरासी, रूपन्देही, कपिलबस्तु, पाल्पा, स्याङजा, तनहूँ, अर्घाखाँची र दाङमा रातिदेखि निरन्तर ठूलो पानी परिरहेको छ ।

निरन्तर ठूलो पानी परेका कारण यी जिल्ला आसपास भई बग्ने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । बाढीसँगै यी आसपासका क्षेत्रका होचा स्थान डुब्न सक्ने र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै महाशाखाले साँझसम्मै अति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

खबर सबै