लुम्बिनीमा बिना विभागीय मन्त्री के.सीद्धारा राजीनामा, भोलि नवनियुक्त मन्त्रीको शपथको तयारी

दाङ । लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन्। शपथ ग्रहण गरेको एक महिनासम्म जिम्मेवारी नतोकिएकी केसीले मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

मुख्यमन्त्री लुम्बिनीमा छन्। त्यही पुगेर राजीनामा बुझाएको बताइएको छ। मन्त्रालय बाँडफाँड र अब तोकिने जिम्मेवारीमा केसी असन्तुष्ट रहेको बुझिन्छ। उनलाई भौतिक पूर्वाधार मन्त्रालय चाहिएको, उनको जिम्मेवारीमा आन्तरिक मामिला मन्त्रालय पर्ने भएपछि उनी असन्तुष्ट रहेको स्रोतले बताएको छ।

भोलि लुम्बिनीमा नवनियुक्त मन्त्रीको शपथको तयारी छ। प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभा परिसरमा आइतबार दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम आयोजना गर्ने भएको हो। लुम्बिनीमा मुख्यमन्त्रीले शपथ लिएको एक महिनापछि बल्ल सरकारले पूर्णता पाउने देखिएको हो।

सत्ता साझेदार दलहरुको बीचमा सहमति गरेर मन्त्रालयको भागबण्डा टुंगो लगाइएको छ। तर, मन्त्रालय र मन्त्रीको नाम भने अझै औपचारिक रुपमा सार्वजनिक गरिएको छैन। दलभित्र आन्तरिक छलफल भइरहेको र मन्त्री बन्न आकांक्षीहरु धेरै भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ। यसअघि एमालेका चेतनारायण आचार्य मन्त्री भइसकेका छन्।

उनीहरुलाई जिम्मेवारी दिने र बाँकी मन्त्रीहरुको शपथको तयारी सुरु भएको छ। सरकारमा एमालेका चार, माओवादी केन्द्रका तीन, राप्रपा, जनमतलगायत साना दललाई एकरएक मन्त्रालय दिने गरी तयारी भइरहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

प्रदेशमा मुख्यमन्त्रीसहित दश मन्त्रालय बनाउने निर्णय भएको थियो। तर, सत्ता साझेदार दलहरुको बीचमा सहमति जुटाउन मन्त्रालयको संख्या बढाएर पनि अघि बढ्न दबाब परेको छ।

स्रोतका अनुसार माओवादी केन्द्रको भागमा महत्वपूर्ण मानिएका पूर्वाधार विकास, आन्तरिक मामिला, अर्थ मन्त्रालय परेका छन् भने बाँकी सामाजिक विकास, कृषि, स्वास्थ्यलगायतका मन्त्रालय एमालेसहित अन्य साना दलको भागमा पुग्ने देखिएको छ। मुख्यमन्त्री लिला गिरी सत्ता साझेदार दलहरुको बीचमा सहमति खोज्न निरन्तर छलफलमा व्यस्त छन्।

प्रतिक्रिया

खबर सबै