लुम्बिनीमा भोलि राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदै

दाङ । लुम्बिनी प्रदेशमा भोली (बुधबार) राष्ट्रिय सभा सदस्य पदको लागि उप निर्वाचन हुदै छ । त्यसका लागि सबै तयारी पुरा भएको जनाइएको छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बुधबार बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुने जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले मतगणना सकिएको एक घन्टाभित्रै परिणाम सार्वजनिक भइसक्ने अनुमान गर्नुभयो । माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि तीन दलबाट तीन जनाको उम्मेदवारी दर्ता भएको थियो। सत्तारूढ दलमध्येका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्। सत्तारूढ एमालेका उम्मेदवार कुमार दसौदी र प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्य दुवै रोल्पाका हुन्। नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिष्पर्धामा उत्रिएका हुन्।

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन थालेको हो। राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन्। प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने गर्छ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ जना रहेका छन्। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो ।

लुम्बिनी प्रदेशमा कुल १०९ पालिकाहरु रहेका छन्। तीमध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २र२ तथा राप्रपा र जनता प्रगतिशीलले १र१ स्थानमा जितेका छन्।

८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४र४, जसपा, लोसपा र जनमतले ३र३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १र१ सिट जितेका छन्। यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन्। तीन जनाले जिते पनि फेरि एक जना माओवादी केन्द्रमै फर्किएका छन्।

प्रतिक्रिया

खबर सबै