गुल्मीमा आचारसंहिता उल्लङ्घनका १ सय २० भन्दा बढी उजुरी

गुल्मी । प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव नजिकिँदै जाँदा गुल्मीमा भने आचारसंहिता उल्लङ्घनका घटनाहरु बढ्न थालेका छन् । जिल्लामा चुनाव प्रचारप्रसारका क्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबाट आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी पर्ने क्रम बढ्दै गएको हो ।

निर्वाचन आयोगले जिल्लामा आचारसंहिता उल्लङ्घन गरे वा नगरेको विषयमा अनुगमन गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक छविन्द्र बेल्वासेलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । बेल्वासेका अनुसार गुल्मीमा लिखित र मौखिक गरी १ सय २० भन्दा बढी उजुरी परेको छ। उहाँले मौखिक १ सय ४ र लिखित रुपमा १६ वटा उजुरी परेका जानकारी दिनुभयो ।

उजुरीहरुमा जनप्रतिनिधिहरु आफ्नै पालिकामा प्रचारप्रसारमा संलग्न भएको, गाउँमा जस्तापाता तथा पाइप वितरणका लागि लगिएको, मोटरबाटो खन्ने काम गरेको, शिक्षक तथा कर्मचारीहरुले उम्मेदवारहरुसँग तस्बिर खिचाएको, सामाजिक सञ्जालहरुमा अनावश्यक पोष्ट गर्ने गरेको, घर तथा सार्वजनिक ठाउँरुमा दलका झण्डाहरु राख्ने गरेको, ध्वनि प्रदूषण गरी गाडीहरुमा डेक बजाएको लगायत रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी उजुरी पर्ने पालिकाहरुमा मुसिकोट नगरपालिका, इस्मा, मालिका र धुर्कोट गाउँपालिका रहेका उहाँले बताउनु भयो। यसरी परेको उजुरीका आधारमा मौखिक र लिखित रुपमा स्पष्टीकरण सोधिने बेल्वासेले बताउनुभयो ।

उहाँका अनुसार उजुरीका आधारमा अनुगमन समितिले मुसिकोटबाट ट्र्याक्टरमा लैजाँदै गरेको जस्तापाता र मदानेबाट एक ट्र्याक्टर पोलोथिन पाइप बरामद गरी प्रहरीको नियन्त्रणमा राखेको जनाएको छ ।

प्रतिक्रिया

खबर सबै