

लोकप्रिय लेखक सुबिन भट्टराईको उपन्यास ‘इजोरिया’ काे लोकार्पण



काठमाण्डाै – लोकप्रिय लेखक सुबिन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ काे लोकार्पण गरिएको छ । किताब जात्राका अवसरमा काठमाण्डाैका प्रज्ञा प्रतिष्ठान डबलीमा शुक्रवार आयोजित विशेष कार्यक्रममा पाठकका हातबाट ‘इजोरिया’ लोकार्पण गरियो । कार्यक्रममा सहभागी दर्शकलाई आ–आफूले लिएका पुस्तक प्रदर्शन गर्न लगाएर पुस्तक सार्वजनिक गरिएको हो ।
फरक किसिमले पुस्तक लोकार्पण गर्न यस्तो शैली अपनाइएको प्रकाशक फाइन प्रिन्टले जनाएको छ । कार्यक्रममा लेखक भट्टराईसँग कवयित्री अस्मिता गौतमले अन्तर–संवादसमेत गरेकी थिइन् । साथै गायिका समृद्धि राईले साङ्गीतिक प्रस्तुतिसमेत दिएकी थिइन् ।
उपन्यास ‘समर लभ’ र ‘साया’ बाट चर्चित लेखक भट्टराईले पछिल्लो समय आफ्नो लेखनमा थप विविधता ल्याइरहेका प्रकाशक फाइन प्रिन्टका अजित बरालले बताए । ‘सुबिनजीका प्रत्येक नयाँ पुस्तक मलाई अघिल्ला पुस्तकभन्दा पृथक लाग्छन् । ‘इजोरिया’ सम्म आइपुग्दा त उनी पूर्ण अर्कै लेखक भएर देखापरेका छन्’, बरालले भने, ‘यौन हिंसाका घटना बढिरहेको समयमा उहाँकाे नयाँ उपन्यास एकदम सामयिक लाग्छ । यसले यौन हिंसाबारे बोल्न मानिसलाई उत्प्रेरित पनि गर्छ ।’
सुबिन भट्टराई नेपालका सर्वाधिक बिक्री हुने लेखक हुन् । प्रायः ‘बेस्ट शेलिङ’ पुस्तकका लेखकलाई झैँ उनका पुस्तकलाई पनि सस्तो मनोरञ्जन भनेर आलोचना गरिन्छ । तर आफूलाई उनको लेखाइ ‘साहित्यिक लेख्ने’ भनेर चिनिएका लेखकहरूको लेखनभन्दा पनि राम्रो लाग्ने बरालको दाबी छ ।
कार्यक्रममा लेखक भट्टराईले आफ्नो उपन्यास ‘इजोरिया’ बहुआयामिक कथा रहेको बताए । परिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई आफूले विषयका रूपमा लिएको उनको भनाइ छ । ‘मैले उपन्यासमा मित्रताको सुगन्धलाई समेटेको छु । यहाँ महिलाका पीडा छन् । तिनका सङ्घर्ष पनि छन् । प्रेम र वियोगका झिना रेखा पनि छन्’, उनले भने ।
भट्टराईले यसअघिका सबै पुस्तक लगभग काठमाण्डाै केन्द्रित भएर लेखे । उनका पात्र पनि सहरकेन्द्रित नै भए । यस पटक भने उनी कथा टिप्न मधेस पुगेका हुन् । ‘यस पटक केही फरक गरौँ, केही फरक भूगोलको कथा रचौँ भन्ने लाग्यो । केही चुनौती आफैँलाई दिएँ । र झरेँ मधेसतिर, केही फरक विषयको फुर्को समातेर’, लेखक भट्टराईले भने, ‘फरक गर्ने प्रयत्न गर्दागर्दै पनि मैले मान्छे–मान्छेबीचका सम्बन्धका विभिन्न पक्ष केलाउने कामलाई यहाँ आएर छाडेको छैन । झन् गहिराइमा पसेर गरेँ भन्ने लागेको छ ।’
कथा जुन भूगोलको भए पनि, जहाँको लेखिए पनि ‘इजोरिया’ को कथामा उल्लिखित समस्या एउटै भूगोलको मात्र होइन, यो विश्वभरकै समस्या हो । हामीलाई उपन्यास पढ्दा यहाँका पात्र केवल प्रतिनिधि मात्र हुन् झैँ लाग्छ । कथामा भएका पात्रका भावको त कुनै भूगोल र सिमाना नहुँदो रहेछ भन्ने पनि अनुभूति हुन्छ ।
‘त्यसैले आफूले कहिल्यै प्रवेश नगरेको, नबुझेको मिथिलाको परिवेशमाथि लेख्नु चुनौती त थियो नै’, लेखक भट्टराईले आफ्नो लेखन अनुभव सुनाए, ‘तर त्यहाँ बस्दै जाँदा, विभिन्न साथीभाइ, अग्रज सबैसित सङ्गत हुँदै जाँदा त्यो चुनौती प्रिय र रूचिकर बन्दै गयो । जनकपुर मेरो दोस्रो घर झैँ लाग्न थाल्यो । जनकपुरले पनि मलाई बिछट्टै स्नेह दियो । बारम्बार गइरहन मन लाग्ने बनायो । पुस्तक लेखिइसकियो तर अब पनि वर्षमा एक/दुई पटक जान्छु भन्ने प्रतिबद्धता आफैँमा गरेको छु ।’
सुबिन भट्टराईका पाठकलाई थाहै छ— उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । ‘कथाकी पात्र’, ‘समर लभ’, ‘प्रिय सुफी’ हुँदै ‘इजोरिया’ सम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध–साहित्य सदाबहार छँदै छ । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै ‘कम्फर्ट जोन’ मा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ ‘जोन’ चुमेर चमत्कृत हुनेछन् ।
इजोरिया मित्रताको कथा हो । इजोरिया महिलाको कथा हो । इजोरिया मधेसको कथा हो । इजोरिया मुक्तिको कथा हो । इजोरिया माया र ममताको कथा हो । इजोरिया मुटुको मसीले लेखिएको ‘म्युजिकल’ महाकथा हो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया