कपिलवस्तुका दुई पालिकामा थालियो सिकलसेल रोगको परीक्षण

कपिलवस्तु । पश्चिम तराईका थारु समुदायलाई वंशाणुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएको छ।

सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगत जाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको हो। अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको सिकलसेल रोग रोकथामका लागि थारु समुदायलाई रगत जाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरहरूले सुझाव दिएका छन्।

यतिबेला कपिलवस्तुमा यो रोग पत्ता लगाउन र बिरामीलाई उपचारको दायरामा ल्याउन परिक्षण गर्न थालिएको छ । कपिलवस्तुका दुई पालिका विजयनगर गाउँपालिका र शिवराज नगरपालिका भित्र रहेका थारु समुदायका मानिसहरुको स्याम्पल परिक्षणको काम सुरु गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमूख हेमराज पाण्डेले बताउनुभयो । दुई पालिकाबाट १ हजार मानिसमा सिकलसेल रोगको परिक्षण गरीने लक्ष्य लिइएको पनि उहाँले जानकारी दिनुभयो । पालिकाबाट मानिसहरुको स्याम्पल लिएर स्वास्थ्य कार्यालयमा जाँच गरिने छ । कपिलवस्तु सहित लुम्बिनी प्रदेशका अधिकाशं जिल्लामा थारु समुदायमा यो रोग पछिल्लो समय बढ्दो छ ।

हाल कपिलवस्तुमा तथ्याङ्किय विवरण तयार नभए पनि रोगीहरु धेरै रहेको चिकित्सकहरुको अनुमान छ । जिल्लाका दुई वटा पालिकाबाट कक्षा ९ देखि १२ सम्म अध्ययनरत थारु समुदायका विद्यार्थीहरुमा परिक्षण गर्नेगरी काम थालिएको पनि स्वास्थ्य कार्यालय प्रमूख पाण्डेले जानकारी दिनुभयो । उनीहरुको रगत परिक्षण पछि अन्य पालिकामा यस्को असर खोजि गरिने उहाँको भनाई छ ।

यसैबिच सिकलसेल यनिमियाकै कारण बाँकेका थारु गाउँहरूमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छ्यापछ्याप्ती बाँडिएको छ। सिकलसेल विशेषज्ञ डा. राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ ।

पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ। २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने भनिएको छ। सामान्यतया विवाह गर्दा चिना हेर्ने गरिन्छ तर थारु समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ ।

सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाहपूर्व नै रगत जाँच गरी बाहकहरू पत्ता लगाएर बाहक–बाहकबीच र बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर समुदायले स्वीकार्न जरुरी रहेको भेरी अस्पताल बाँकेका फिजिसियन मेडिकल विभागका विभागीय प्रमुख तथा सिकलसेल, थालेसिमिया रोगका श्रोत व्यक्ति डा. राजन पाण्डेले बताए। उनले पचास प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरे ।

अहिले रोग नदेखिए पनि उनीहरूबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भन्ने गरिएको भन्दै उहाँले यसका बारेमा थारु समुदायलाई सचेत गराउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

खबर सबै