रोकिएन नदीजन्य पदार्थको दोहन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित वडा नम्बर ९ भलवाडमा पछिल्ला केही महिना यता नदीजन्य पदार्थको चोरी निकासी नरोकिदाँ नदीजन्य पदार्थको दोहन मौलाएको छ । महिनौँ देखि नदी जन्य पदार्थ ढुङ्गाको चरम दोहन भईरहदा समेत सो कार्य रोकिन सकेको छैन ।

नदी जन्य पदार्थको ठेक्का समयमै लाग्न नसक्दा ट्याक्टर धनीहरुले राति र दिनमा गरी २४ सै घण्टा नदीबाट खुलेयाम ढुङ्गा निकासी गरिरहेका छन् । वडा नम्बर ९ स्थित भलवाडको कोईली खोला र धिरी खोलाबाट नदीजन्य पदार्थ ढुङ्गाको चरम दोहन भइरहँदा पनि सम्बन्धित पक्ष भने मुकदर्शक बनिरहेका छन् ।

चोरी गर्ने गिरोहको साँठगाँठका कराण स्थानीय टोलविकास संस्थाका पदाधिकारी र सामुदायिक वनका पदाधिकारीपनि ढुङ्गा चोरी भइरहेको टुलुटुलु हेरिरहेका मात्रै छन् । एक स्रोतका अनुसर ट्याक्टर धनीहरु ठाउँठाउँमा मासिक रकम बुझाउँछन अनि मज्जाले नदी दोहन गर्छन् ।

भलवाड स्थित कोईलीचौर साना सिकान सामुदायिक वन क्षेत्रमा पर्ने कोईली खोलाबाट दैनिक दर्जन बढी ट्याक्टरले ढुङ्गा चोरी गर्छन् तर नियामक निकाय भने सो स्थानमा पुग्दैनन् । प्रहरीको पहुँच समेत नपुगेको भलवाड नदीजन्य पदार्थबाटै नगरले ठूलो राजश्व असुली गर्ने वडा हो । नगरको मुख्य राजश्वको स्रोत समेत रहेको नदी ठेक्का लगाउन नसक्नु दुःखद विषय रहेको स्थानीयको भनाई छ ।

नदीजन्य पादार्थको चोरी तस्करी बढेसँगै कोईलीचौर साना किसान सामुदायिक वनले वडा कार्यालय सहित ईलाका प्रहरी कार्यालय पिपरा, सब डिभिजन वन कार्यालय गोरुसिँगे, शसस्त्र प्रहरीबल पिपरा, डिभिजन वन कार्यालय तौलिहवा लगाएतका निकायलाई लिखित जानकारी समेत गराएको छ । वन कार्यसमितिले बाणगंगा नगरपालिकालाई समेत चोरी निकासी रोकथामका लागि पहल गर्न ध्यानाकर्षण गराएको छ । तर सम्बन्धित कार्यालयहरुमा पत्र दर्ता गराएको भए पनि कुनै पनि सुनुवाई र रोकथामका काम नभएको वनका कोषाध्यक्ष कुन्तमणी भुषालले बताए । नदीमा ठेक्का नलाग्दा मनपरी दोहन भईरहेको उनले बताए ।

दिनहुँ नदीबाट अवैध रुपमा ढुङ्गा निकासी हुँदा समेत प्रहरीको पहुँच पुग्न नसक्नु दुखद रहेको स्थानीयको गुनासो छ । ट्याक्टर धनीहरुले खुलेआम खोलाबाट अवैध रुपमा ढुङ्गा चोरी गर्दा पनि वडा कार्यालय समेत मुकदर्शक बन्ने गरेको स्थानीयको आरोप छ ।
यसैबिच यता बाणगंगा नगरपालिकाका राजश्व शाखा प्रमूख मदन घिमिरेका अनुसार यस पटक भलवाडका धिरी र कोईली दुबै खोलामा ठेक्का नलाग्ने भएको छ । नगरपालिकाबाट दुइ दुई पटक ठेक्का आह्वानको सूचना प्रकाशित गरिएको भए पनि कसैले पनि ठेक्का नहालेको घिमिरेले बताए । गत वर्ष नदी जन्य पदार्थको ठेक्काका क्रममा मेसिनको प्रयोग गरी अवैध उत्खनन भएको समाचारले तरंगित भएको नगरपालिका यस पटक मेसिनको प्रयोग कुनैपनि अवस्थामा गर्न छुट नदिने जनाएपछि ठेकेदार कम्पनीहरु ठेक्का लगाउनबाट तर्किएका हुन । समयमै यसवर्ष नदीमा ठेक्का नलाग्दा करोडौँको नगरको आम्दानी गुमेको छ भने खुलेयाम चोरी र तस्करी मौलाएको छ ।

छैन सुरक्षा संयन्त्र

वर्षेनी नदीजन्य पदार्थ ठेक्का लगाएर करोडौँ आम्दानी गर्ने बाणगंगा नगरपालिकासाँग आफ्नै सुरक्षा संयन्त्र नहुँदा यो चुनौती सधैजसो देखा पर्ने गरेको छ । देशमा केही स्थानीय तहहरुले नगर प्रहरी भर्ना गरी नगरको सुरक्षा संयन्त्र परिचालन गरीरहेका छन् । बाणगंगामा भने आफ्नै सुरक्षा संयन्त्र छैन । नगरको आन्तरिक सुरक्षा र स्रोत र साधानको उचित व्यवस्थापनका लागि नगरले नै आफ्नै संयन्त्र तयार गरेको खण्डमा राजश्व असुलीमा समेत बृद्धी हुने बुद्धीजिवीहरुको तर्क छ ।

नदी नजिक बस्तीका ट्याक्टर नै चोरीमा सक्रिय

कपिलवस्तुमा नदीजन्य पदार्थ निकासीको सरकारी कार्यालयबाट ठेक्का नलाग्दा चोसी निकासी सुरु भएको छ । जिल्लामा बाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकाले ठेक्का आह्वान गरेपनि धेरै खोलामा ठेक्का लाग्न सकेको छैन ।

नदी नजिक बस्तीका ट्याक्टरबाट चोरी निकासी हुनेगरेको छ । चालु आर्थिक वर्षमा जिल्लाका मुख्य नाकामा ठेक्का लाग्न सकेको छैन । गत वर्षको स्टक रहेको र यस वर्ष रोयल्टी बढे पछि ठेकेदारको आकर्षण साना नाकातर्फ बढेको स्थानीयको भनाई छ ।

विजयनगर गाउँपालिकाभित्र रहेको २ नाकामा शिवराज नगरपालिकाको सुराई खोला, बुद्धभूमि नगरपालिकाको गुडरुङ खोला ठेक्काविहीन छ । ठेक्का नलागेका खोलामा राती चोरी गरी सामग्री गाउँ नजिक डम्पीङ गर्ने गरिएको स्थानीयको भनाई छ । विभिन्न स्थानबाट पटक पटक बालुवा, गिट्टी, मिस्कट लगायतका नदिजन्य पदार्थ अबैधरुपमा चोरी तस्करी भएपनि सम्बन्धित निकायले चासो नदिँदा चोरी बढेको स्थानीयको गुनासो छ ।

चोरी गर्ने गिरोहले खोला पुग्ने बाटोको चोक चोकमा सुरक्षा कर्मीको सुराकी गर्ने मानिस राख्ने गरेकाले प्रहरीलाई पक्राउ गर्न कठिन भएको उहाँहरुको बुझाई छ । प्रहरीले चोरी निकासी गरेका केही ट्याक्टर समाएर सम्वन्धित पालिकाको जिम्मा लगाउने गरेको छ ।

प्रहरीले बुधवार नदीजन्य पदार्थ चोरी गरेको आरोपमा दुईवटा ट्याक्टर पक्राउ गरेको छ । लु ४ त ४७१३ र लु २ त ८९२८ नम्बर को ट्याक्टर विजयनगर गाउँपालिकाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले बताए । लुम्बिनी दर्पण साप्ताहिकमा प्रकाशित छ । 

प्रतिक्रिया

खबर सबै