

विद्युतीय सवारी प्रयोग गर्न कुलमान घिसिङको आग्रह


बुटवल ।।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा इन्धनको मूल्य बढेको सन्दर्भमा देशमा विद्युतीय सवारी प्रयोग गर्न सुझाएका छन् । बुटवलस्थित क्षेत्रीय विद्युत् प्राधिकरणको कार्यालयमा शनिबार पुगेका घिसिङले पत्रकारहरूसँग कुरा गर्दै प्राधिकरणले देशैभरि ५० भन्दा धेरै विद्युत् चार्जिङ स्टेसन निर्माण गर्न लागेको जानकारी दिए । घिसिङले निजी कम्पनीहरूले समेत चार्जिङ स्टेसन खोल्न चाहेमा प्राधिकरणले सहजै अनुमति दिनेसमेत उद्घोष गरेका हुन् ।
यस्तै घिसिङले देशभरि उद्योगहरूलाई चाहिने जति विद्युत् आपूर्ति गर्न प्राधिकरण सक्षम रहेको समेत बताए । कुलमानले भने,‘औद्योगिक करिडोरहरूलाई चाहिने विद्युत् हामीले उपलब्ध गराउने छौँ।’ सब स्टेशन निर्माण र ट्रान्समिसन लाइनहरूको विस्तार भइरहेको र भारतलाई समेत उपलब्ध विद्युत् बेचिरहेको घिसिङको भनाई थियो । घिसिङले विद्युत्लाई सकेसम्म नेपालमै आपूर्ति गर्ने र बाकी रहे मात्रै भारतलाई बेच्ने बताए । उनले उद्योगीहरूलाई परेको ट्रङ्क लाइनको विषय पनि प्राधिकरणले समाधान गर्नेतर्फ छलफल केन्द्रित गरेको बताए ।
यस्तै उहाँले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत सम्झौता गरिएको ४०० किलो भोल्टको प्रसारण लाइन आवश्यक रहेको बताएका छन् । एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला शनिबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले भने, ‘रकम कहाँबाट जुटाउने सरकारको कुरा हो, तर उक्त प्रसारण लाइन आवश्यक छ ।’
नेपाल सरकार र अमेरिकी सरकारबीच भएको एमसीसी सम्झौतामा नेपालभित्र डबल सर्किट ४०० किलो भोल्टको ३०० किलोमिटर प्रसारण लाइन निर्माण गरिने उल्लेख छ । जसअन्तर्गत काठमाडौंको उत्तर पूर्वमा पर्ने लम्सीफेंदीदेखि रातामाटेसम्म, रातामाटेदेखि हेटौंडासम्म, रातामाटेदेखि नै पश्चिम दमौलीसम्म, दमौलीदेखि पश्चिम बुटवलसम्म र बुटवलदेखि भारतीय सीमासम्म प्रसारण लाइन निर्माण गर्नुपर्छ ।
घिसिङले यो प्रसारण लाइन मुलुकको लागि अति आवश्यक रहेको बताए । एमसीसीअन्तर्गत बन्ने भनिएको प्रसारण लाइनप्रति प्राधिकरणको धारणा के हो ? भनी सोधिएको जिज्ञासामा प्रबन्ध निर्देशक घिसिङले भने, ‘रकम कहाँबाट ल्याउने भन्ने सरकारको कुरा हो, तर प्रसारण लाइन आवश्यक छ ।’ प्राधिकरणले अहिले देशभित्रै विद्युतको खपथ कसरी बढाउन सकिन्छ भनेर गृहकार्य गरिरहेको उनले बताए ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया