कपिलवस्तु सहित देशभर १२ औँ राष्ट्रिय जनगणना सुरु

काठमाण्डौ । राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।

आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।

यसअघि गएको भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गरिएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सकेसम्म भौतिक रुपमा र नभए स्याटेलाइटका माध्यमबाट अनुमानित जनसङ्ख्या निकाल्ने महानिर्देशक श्रेष्ठले बताउनुभएको छ ।

जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । जनगणनाको प्रारम्भिक नतिजा आउन झण्डै तीन महिना लाग्ने अनुमान छ । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो।

कपिलवस्तुमा राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण तयारी पुरा भएको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको सम्पूर्ण तयारी पुरा भएको हो ।

कपिलवस्तुसहित देशैभर विहिबारदेखि मंसिर ९ गतेसम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरु संकलन गर्नेछन् । जिल्लामा जनगणनाको लागि सम्पूर्ण तयारी पुरा भएको जिल्ला जनगणना कार्यालय कपिलवस्तुका प्रमुख नन्दलाल कुर्मीले जानकारी दिनुभयो । जसका लागि कपिलवस्तुका १० पालिकामा ५ सय ८२ जना गणक खटिएको प्रमुख कुर्मीले बताउनुभएको छ । गणकहरुलाई कहाँ–कसरी तथ्यांक संकलन गर्ने लगायतको विषयमा कार्तिक १३ देखि १६ गते नै तालिम दिई सकिएको छ । दुई चरणमा गरिने जनगणनामा यसअघि कलिलवस्तुमा १३९ सुपरीवेक्षकहरुले पहिलो चरणको काम सम्पन्न गरिसकेको उहाँले बताउनुभयो ।

अब पनि ती सुपरीवेक्षकहरुले निरन्तर गणकहरुको निरक्षण गर्ने कार्य गर्ने उहाँले बताउनुभयो । अब विहिबार देखि दोस्रो चरणमा गणकहरुले पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्ने उहाँको भनाई छ । गणकहरुले आफुलाई पायक पर्ने समयमा जनगणनाको काम गर्न सक्ने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै