कपिलवस्तुमा २४ प्रतिशतले मात्रै कोरोना विरुद्ध पूर्ण खोप पाए

कपिलवस्तु ।
लुम्बिनी प्रदेशमा ३३ लाख ८७ हजार १२८ अपेक्षित जनसङ्ख्यामध्ये २६ प्रतिशतले मात्रै अहिले सम्म कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा जम्मा ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्।

यता कपिलवस्तु जिल्लामा हालसम्म चार लाख ४५ हजार नौ सय अपेक्षित जनसङ्ख्यामध्ये जम्मा २४ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप लगाएका छन् भने ३१ प्रतिशतले कोभिड विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । कोरोना विरुद्ध कोभिशिल्ड , भेरोशिल र जोन्सन एण्ड जोन्सनको खोप नेपालमा लगाइएको छ । कोभिशिल्ड र भेरोशिल लगाउनेहरुले दुईवटा खोप लगाउनुपर्ने छ भने जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाए पुग्छ ।

रुपन्देहीको कुल जनसंख्यामा २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको पाइएको छ। अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मन्त्रालयका अनुसार जिल्लामा सात लाख १३ हजार १६८ अपेक्षित जनसङ्ख्या रहेका छन्।

पूर्वी रुकुममा २० प्रतिशतले पूर्ण मात्रा र ५९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै रोल्पामा २४ प्रतिशतले पूर्ण मात्रा र ३४ प्रतिशतले पहिलो मात्रा, प्यूठानमा २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । उता पहाडी जिल्ला गुल्मीमा ३४ प्रतिशतले पूर्ण मात्रा र ३७ प्रतिशतले पहिलो मात्रा अर्घाखाँचीमा २९ प्रतिशतले पूर्ण मात्रा र ३६ प्रतिशतले पहिलो मात्रा खोप लगाएको तथ्याङ्कमा उल्लेख छ ।

पाल्पामा ३२ प्रतिशतले पूर्ण मात्रा र ४२ प्रतिशतले पहिलो मात्रा खोप लगाए भने पूर्वी नवलपरासीमा अपेक्षित जनसङ्ख्यामध्ये २७ प्रतिशतले पूर्ण मात्रा र ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै दाङमा अहिले सम्म जम्मा २४ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा बाँकेमा २६ प्रतिशतले पूर्ण मात्रा र २९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने बर्दियामा २५ प्रतिशतले पूर्ण मात्रा र ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाउन पाएका छन् ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको तथ्याङक अनुसार अझै ठूलो संख्यामा नागरिकहरु कोरोना विरुद्धको खोपबाट बञ्चित छन् । खोपको पहिलो मात्रा लगाएर बसेका अझ धेरै छन् । उनीहरुले दोस्रो मात्रा खोपको आस गरेको महिनौ भइसक्दा समेत दोस्रो डोज खोप पाएका छैनन् । उता सरकारले भने दशै पछि सबै नागरिकहरुलाई खोप लगाइसक्ने दावी गरेको छ। चैत्र मसान्त सम्म देशका सबै नागरिकहरुलाई पूर्ण मात्रा खोप लगाउने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया

खबर सबै