काबुलको एअर ट्राफिक कन्ट्रोल अमेरिकाले आफ्नो नियन्त्रणमा लिने

एजेन्सी

अफगानिस्तानको राजधानी काबुलमा एअर ट्राफिक कन्ट्रोल अमेरिकाले आफ्नो नियन्त्रणमा लिने भएको छ । आफ्नो दूतावासका कर्मचारी तथा सहयोगीहरुको उद्धारको हतारोमा रहेको अमेरिकाले एअर ट्राफिक कन्ट्रोल आफ्नो नियन्त्रणमा लिने भएको हो ।

अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा अमेरिकी तथा सहयोगीहरुको जति सक्दो चाँडो उद्धारका लागि गरिएका निर्णयहरु मध्ये एक काबुलमा एअर ट्राफिक कन्ट्रोलको नियन्त्रण लिने रहेको उल्लेख छ ।

अमेरिकाले विमानस्थल सुरक्षाका लागि नेटोको साथमा आफ्ना थप सैनिक पठाएको छ । अहिले झण्डै ६ हजार अमेरिकी सैनिकले विमानस्थलको सुरक्षा गरिरहेका छन् र उनीहरुले नै एअर ट्राफिक कन्ट्रोल नियन्त्रणमा लिने विदेश मन्त्रालयको वक्तव्यमा उल्लेख छ ।

अफगानिस्तानको राजधानी काबुलमा तालिबानले कब्जा गरेका छन् । तालिबान काबुल प्रवेश गरेसँगै त्यहाँबाट बाहिरिन चाहने सर्वसाधारण, अफगान अधिकारीसहितको भिड काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा विशेष भिसाका लागि योग्य भएका अफगान (अमेरिकी सैन्य अभियानको क्रममा सहयोग गरेकाहरु) नागरिकको उद्धारलाई प्राथमिकता दिइने उल्लेख छ । विशेष भिसामा गएको दुई हप्तामा झण्डै दुई हजार मानिस अमेरिका पुगेको पनि उल्लेख छ ।

अफगानिस्तानको राष्ट्रपति कार्यालयमा तालिबान लडाकु । तस्बिर : एपी

अफगानिस्तानका राष्ट्रपति राष्ट्रपति अशरफ ग़नी भागेर शरण खोज्दै छिमेकी देश उज्वेकिस्तान गएको छन् । तालिबान लडाकुले राष्ट्रपति कार्यालयमा नियन्त्रण कायम गरेका छन् । उनीहरुले युद्ध सकिएको दाबी पनि गरेका छन् ।

अमेरिकासहित नेटोमा आवद्ध देशहरुले विगत २० वर्षदेखि जारी सैन्य अभियान अन्त्यको घोषणा गरि आफ्ना सैनिक फिर्ता लैजान थालेसँगै तालिबानले आफ्नो नियन्त्रण बनाउन थालेको थियो ।

तालिबानको कब्जामा अफगानिस्तान आए पनि सैनिक फिर्ताको प्रक्रिया पूर्व निर्धारित कार्यतालिका अनुसार नै हुने एक उच्च अमेरिकी अधिकारीले बताएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

प्रतिक्रिया

खबर सबै