श्रीलंका विरुद्धको एकदिवसीय सिरिज इङ्ल्यान्डलाई

एजेन्सी

श्रीलंका विरुद्धको ३ खेलको एकदिवसीय सिरिज घरेलु टोली इङ्ग्ल्यान्डले हात पारेको छ । उसले बिहीबार भएको दोस्रो खेलमा ८ विकेटको सहज जित निकाल्दै एक खेल अगावै सिरिजमाथि कब्जा जमाएको हो ।

श्रीलंकाले दिएको २४२ रनको लक्ष्य इङ्ग्ल्यान्डले ४३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

इङ्ग्ल्यान्डका जो रुट र कप्तान इयान मोर्गानले तेस्रो विकेटका लागि अविजित १४० रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । मोर्गानले ८३ बलमा ८ चौका र १ छक्काको मद्दतमा ७५ रन प्रहार गर्दा रुटले ८७ बलमा ५ चौकाको मद्दतले ६८ रनको योगदान दिए ।

६० रनको अर्धशतकीय पारी खेलेका जेसन रोयले ५२ बलमा १० चौका प्रहार गर्दा जोनी बेरिस्टोले २९ रन जोडे ।

श्रीलंकाका वानिन्दु हसरंगा र चमिका करुणारत्नेले समान १-१ विकेट हात पारे ।

यसअघि केनिङ्गटन ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४१ रनको योगफल तयार पारेको थियो ।

उसका लागि धनञ्जय डि सिल्भाले उत्कृष्ट पारी खेले ९१ रनको योगदान दिएका उनले ९१ बलमा १३ चौका प्रहार गरे । दासुन शनाकाले ४७, वानिन्दु हसरंगाले २६ र दुस्मान्था चमिराले अविजित १४ रन बनाए ।इङ्ग्ल्यान्डका साम करनले ५ र डेविड विलीले ४ विकेट हात पारे ।

जितसँगै इङ्ग्ल्यान्डले सिरिजमा २-० अग्रता लिएको छ । उसले पहिलो खेलमा ५ विकेटको जित हात पारेको थियो । तेस्रो तथा अन्तिम खेल जुलाई ४ मा हुनेछ ।

प्रतिक्रिया

खबर सबै