

आज महाशिवरात्रि पर्व, पशुपतिमा घुइँचो



काठमाडौं
महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी बिहीबार देशभर मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ ।
शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
यही विश्वासका साथ वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।
भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
चार बजे नै खुले पशुपतिका चार ढोका
यसैबीच भक्तजनको सुविधाका लागि बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको छ ।
अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको छ ।
मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।
आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया