

ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडी सडकमा गुडाएर नतर्साए हुन्छ: वर्षमान पुन




काठमाडौं
नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन् । संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सने बताए ।
बिहीबार बुटवलमा र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो । ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने दाबी गरे ।
केही समयअघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाएन आदेश दिएको खबर सुनेको भन्दै पुनले आपत्ति जनाए । सेना र प्रहरी जस्ता संस्था जनताले तिरेको करबाट चलेको भन्दै पुनले लोकतन्त्र र जनताको रक्षाका लागि विश्वास गरेर हतियार राख्न दिएको तर्क गरे । ‘सेनाका बख्तरबन्द गाडी र ट्याङकर निकालेर जनता तर्साउन खोजिएको छ । हामी सबै लडेर आएका छौं । जनता लडेर आएको छ’, पुनले भने, ‘खबरदार, केपी ओली र रामबहादुर थापा सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनन् । पदबाट झरेको भोलिपल्ट उठाएर ल्यायो भने के हुन्छ ? कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ ?’
पुनले मुलुकमा राजतन्त्र र सैन्य शासन नभएको र जनता धेरै शिक्षित, प्रशिक्षत र सचेत रहेकाले धम्कीसँग नडराउने बताए । राज्य शक्तिको दुरुपयोग गर्नेको हालत ज्ञानेन्द्रको जस्तै हुने भन्दै पुनले धम्की बन्द गर्न चेतावनी दिए । ‘ज्ञानेन्द्र देशैभरि -याली गर्दै हिंडे । लाखौं जनता महाराज भन्दै जान्थें । बुझें, सुनें भन्दै टाउको हल्लाएर हिंडेका थिए । आज कहाँ टाउको हल्लाउँदै हिंडेका छन् थाहा छ कि छैन ?’, पुनले भने, ‘जसले राज्यशक्तिको दुरुपयोग गर्छ त्यसको हालत ज्ञानेन्द्र शाहको जस्तै हुन्छ ।’
निरंशुक सत्ता चलाउन खोज्दा बाउबाजेको पालादेखि २ सय ४० वर्षसम्म शासन गरेको सेना, पुलिस मेरै हो, राज्य मेरै हो भनेर हिंडेका ज्ञानेन्द्रको हविगत स्मरण गर्न पुनले ओलीलाई सुझाव दिए ।
आफूहरुको आन्दोलन केपी ओलीका एकपछि अर्को असंवैधानिक कदम, निरंशुकता र स्वेच्छाचारिताविरुद्ध तथा संविधानको रक्षा र लोकतन्त्र बहालीका लागि भएको बताए । ‘म ओली सरकारमा मन्त्री थिएँ, तर, लोकतन्त्र बचाउन राजीनामा दिएर सडकमा आएको हुँ । सत्ताको लडाईं होइन, लोकतन्त्रका लागि हो ।’
नेता पुनले आवश्यक परे आफूहरु युवा, मजदुर, किसानको हित तथा लोकतन्त्र र संविधानको रक्षाका लागि जेल जानसमेत तयार रहेको बताए । ‘हामीले आत्मसमर्पण या झुक्न र भाग्न जानेका छैनौं । हिजो ज्ञानेन्द्रसँग पनि भागेको होइन, कुनै निरंकुश सत्तासँग पनि भागेको होइन’, पुनले भने, ‘केपी र रामबहआदुर थापा त अस्ति भर्खरै देखेका, के सोच्छन्, कसरी चल्छन् सबै थाहा छ । ३० वर्ष, ४० वर्षदेखि देखिराखेका मान्छेहरुले आज वरिपरि सेना, प्रहरी राखे, स्कर्टिङमा हिंडेर एक छिन महाराज भएको जस्तो कल्पना नगरे हुन्छ ।’
आन्दोलन र आमहड्ताल रहर नभएको भन्दै देशको नेतृत्वको गरिराखेको प्रधानमन्त्रीबाटै संविधान र लोकतन्त्रमाथि प्रहार भएकाले बाध्य हुनुपरेको उनको भनाइ थियो । पुनले प्रधानमन्त्री ओलीले निर्वाचनका कुरा गरे पनि असंवैधानिक रुपमा नियुक्त सदस्यहरु सहभागी भएर गरिने निर्वाचन कसरी निष्पक्ष हुनसक्छ भन्ने प्रश्न गरे ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया